काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकमा सो शोक प्रस्ताव पारित गरेको हो । नेकपाका प्रमुख सचेतक देव गुरुङले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । सो बैठकले दिवङ्गतका परिवारको अवस्थाको अध्ययन गरी यथोचित सहयोग प्रदान गरोस् भन्ने प्रस्तावसमेत पारित गरेको छ ।
शोक प्रस्तावमा भनिएको छ, ‘यही फागुन १५ गते ताप्लेजुङ्को फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री पार्टीका केन्द्रीय समिति सदस्य रवीन्द्र अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी आङरिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रु्रव भोछिभोय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्रीका सुरक्षाकर्मी नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको खबरले हाम्रो दल स्पब्ध भएको छ ।
विसं २०६४ र २०७० को संविधानसभा र २०७४ सालको कास्की जिल्लाबाट संसद्मा निर्वाचित भई विकास समितिका सभापति र संस्कृति, पर्यटनमन्त्री रुपमा गरेको योगदान र भूमिकालाई सदैव सम्झनेछौँ । विसं २०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी जमुनाबोट आमा लक्ष्मी र इन्द्रप्रसाद अधिकारीको जेठा पुत्रका रुपमा जन्मिनुभएका अधिकारीले अनेरास्ववियुको स्थानीयदेखि केन्द्रीय तहको नेतृत्व गर्नुभएको साथै पृथ्वीनारायण क्याम्पस पोखरा र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्यापसमा कीर्तिपुरको स्ववियु सभापति निर्वाचित भएर विद्यार्थीका प्रिय नेताका रुपमा आफूलाई स्थापित गर्नुभएको थियो ।
विसं २०४५ मा पार्टी सदस्यता प्राप्त गर्नुभएका अधिकारीले २०६० र २०६३ सालमा कास्की जिल्ला पार्टी कमिटी सचिवमा निर्वाचित हुनुभएको थियो । पार्टीको अञ्चल कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभएको थियो । अधिकारीको निधनबाट दलले निधनले विकासप्रेमी होनहार सक्रिय सदस्य गुमाएको छ । हाम्रो दल दिवङ्गत अधिकारीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । हेलिकप्टर दुर्घटनामा पर्ने पर्यटन व्यवसायी, राष्ट्रसेवक कर्मचारी, हेलिकप्टर चालक सबैलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ ।’
अत्यन्तै दुःखी छौँ : प्रम
बैंठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित हेलिकप्टर दुर्घटनाले अत्यन्तै दुःखी बनाएको बताए । दुर्घटनाका भयावह भएको उल्लेख गर्दै उनले भने, “दुर्घटना भएको थाहा पाउने बित्तिकै केही राम्रो नतिजा आउँछ भनेर विलम्ब नगरी उद्धार गर्ने काम गरियो, विकट स्थानमा दुर्घटना भएकाले राम्रो नजिता आउने देखिएन ।”
घटनालगत्तै मन्त्रिपरिषद्को बैठक बसेर श्रद्धाञ्जलि अर्पण गरी शोकसन्तप्त परिवारमा समवेदना दिँदै मन्त्री अधिकारीको सम्मानमा बिहीबारका लागि राष्ट्रिय शोक मनाउने घोषणा गरिएको जानकारी गराए । प्रधानमन्त्री ओलीले दुर्घटनास्थल भिरमा भएकाले हलिकप्टर अड्याएर डोरीबाट उद्धारकर्ता गएर शवहरु निकै जोखिमपूर्ण तरिकाले उद्धार गरिएको स्मरण गराउँदै भने, “निकै जोखिमपूर्ण तरिकाले उद्धार कार्य गरियो, अति संवेदनशील भएर उद्धार गरियो, हिउँले कठ्याङग्रिएर उद्धार गर्न कठिनाइ थियो ।”
अत्यन्तै कठिन परिस्थितिमा बिहीबार बिहानसम्म शव काठमाडौँ ल्याएर शवपरीक्षण गर्ने काम गरेर आज बिहान टुँडिखेलमा राखेर राष्ट्रपति, उपराष्ट्रपतिदेखि सबैले श्रद्धाञ्जलि दिने काम गरेर आ–आफ्नो संस्कारअनुसार अन्तिम श्रद्धाञ्जलिका लागि लागिएको बताए ।
‘उहाँले देखिने गरी काम गर्नुभयो’
प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नागरिक उड्डयन र संस्कृतिको क्षेत्रमा देखिने गरी काम गरेको बताए । “सरकारको मन्त्रालयको सफल जिम्मेवारी निभाउनुभयो, उहाँले देखिने गरी काम गर्नुभएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नचलेका विमानस्थल चालू गर्ने, दिनमा मात्र चल्ने विमानलाई राति उड्ने बनाउने, छ वटामा विमानस्थल राति उड्ने बनाउनुभएको छ ।”
विमानस्थलको स्तरोन्नति र सुधारका कामहरु भइरहेका अवस्थामा तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्नु उपयुक्त हुने वा नहुने विषयमा आफँैले हेरर आउँछु भनेर जानुभएको उल्लेख गर्दै उनले तीन वर्षभित्र सो विमानस्थलको काम पूरा गर्ने गरी काम योजना बनाएको स्मरण गरे ।
नागरिक उड्डयनको क्षेत्रमा उनले देखिने गरी असाधारण काम गरेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले भैरहवा, पोखरा र निजगढ विमानस्थललाई छिटो निर्माणमा धेरै क्रियाशील रहेको स्मरण गरे ।
जुझारु तर मिलनसार व्यक्तित्व बनाएका मन्त्री अधिकारीले जनताका बीचमा अत्यन्तै प्रिय भएका कारण तीनैपटक निर्वाचन जितेको स्मरण गर्दै विद्यार्थी राजनीतिदेखि पार्टीका कार्यकर्ताको हिसाबले समेत उनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।






प्रतिक्रिया