मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेरो लक्ष्य काँग्रेस सभापति वा प्रधानमन्त्री बन्ने थियो : पूर्वराष्ट्रपति यादव

मेरो लक्ष्य काँग्रेस सभापति वा प्रधानमन्त्री बन्ने थियो : पूर्वराष्ट्रपति यादव


काठमाडौँ । पूर्वराष्ट्रपति डा।रामवरण यादवले आफूले राजनीति गर्दा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताएका छन् । 
 
राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालिन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गरे । 
 
सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार र नेसनल ल कलेजका संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक डा। रामकृष्ण तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको आज ललितपुरमा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले सोही आधारमा सङ्घीय गणतन्त्रात्मक समावेशी, धर्मनिरमेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिए । 
 
उनले नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समूदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए । पूर्व राष्ट्रपति यादवले संविधानसभामार्फत हतारमा एकमुष्ट रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झदै कानुनजस्ता कुरालाई पर्याप्त समय दिएर छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा व्यक्त गरे । 
 
करिब ३०० पृष्ठको पाँच खण्डमा विभाजित र न्यायालयमा करिब ३१ वर्षको अनुभव समेटिएको पुस्तक विमोचनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले बङ्गलादेशमा समेत प्रयोग हुन छोडेको बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने कुरामा आफू सहमत नभएको बताउँदै बहुदलीय प्रणाली भएको मुलुकमा स्वतन्त्र व्यक्तिको सरकार बन्ने र बहालवाला प्रधानन्यायाधीश सरकारप्रमुख बन्ने कुरा प्रजातान्त्रिक नभएको दाबी गरे । 
 
सात जना पूर्व प्रधानन्यायाधीशसँग रजिस्ट्रारको रूपमा काम गर्दा उनीहरूको व्यक्तित्व समेतका विषयमा लेखिएको पुस्तकका सम्बन्धमा पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीले सर्वोच्च अदालतमा काम गर्दा आफूलाई थाहा नभएको विषयमा समेत जानकारी समेटिएको उल्लेख गरे । 
 
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनी क्षेत्रको पनि साहित्य हुने र साहित्यले कानूनजस्तो निरस विषयलाई पनि सहयोग गर्नसक्ने विषयमा बहस हुनुपर्नेमा जोड दिँदै सुशासन, विकास, कानुनी राज्य तथा लोकतन्त्रले सँगै काम गर्नुपर्ने बताए । 
 
विमोचित पुस्तकका लेखक डा। रामकृष्ण तिमल्सेनाले जीवनलाई विदेशी भाषा सिकाइसँग तुलना गर्दै आफ्नो ब्रह्मले देखेका कुरा लेखेको बताए । पुस्तक प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले छायाँ लेखनको इतिहास ३०० वर्षको भइसकेको बताउँदै प्रत्येक व्यक्ति आफैँमा महापुरुष भएकाले उसले आफैँ वा छायाँ लेखनका माध्यमबाट आफ्नो अुनभव पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । 
 
लेखकका परिवारका सदस्यको रूपमा पुष्पा पोखरेलले यसै पुस्तकबाट लेखकका अन्य आयाम तथा न्यायापालिकाको अवस्थाबारे थप बुझ्न सकिएको बताइन् । रासस

शेयर गर्नुहोस:

0
Shares