हिमालयखवर संवाददाता-
टेक्सस (अमेरिका)। झण्डै डेढ वर्षको प्रयासपछि अमेरिकाको टेक्ससमा नेपाली डाक्टरहरुको संस्था स्थापना भएको छ ।
टेक्ससका बिभिन्न अस्पतालहरुमा कार्यरत नेपाली डाक्टरहरुको संख्या बढ्दै गएको अवस्थामा ‘टेक्सस नेप्लिज मेडिकल एसोसिएसन’ नामक संस्था स्थापना भएको हो । आइतबार युलेसमा आयोजना गरिएको नेपाली डाक्टरहरुको भेलाले डा. सञ्जीव श्रेष्ठको अध्यक्षतामा नौ जनाको कार्यसमिति निर्विरोध चयन गरिएको छ ।
नवगठित एसोसिएसनको उपाध्यक्षमा डा. विष्णु सापकोटा, महासचिवमा डा. अनुज कँडेल र कोषाध्यक्षमा डा. रोजी राजभण्डारी चयन भएका छन् ।
त्यस्तै कार्य समितिका सदस्यहरुमा डा. दीपेश विष्ट, डा. शैलेस थापा, डा. युवराज भट्टराई, डा. शर्मिला श्रेष्ठ र डा. सुमित भट्टराई रहेका छन् ।
कार्यसमितिलाइ सहयोग गर्नका लागि तीन सदस्यीय ज्वाइन्ट एक्ज्युकेटिभ कमिटी गठन भएको छ । यो कमिटीमा लीला श्रेष्ठ, दिनेश शर्मा र बादल भुजेल रहेका छन् ।
नेपाली डाक्टरहरुलाई समेटेर सामुदायीक सेवाका गतिविधि अझै प्रभावकारी रुपमा अघि बढाउन नयाँ संस्था स्थापना गरिएको अध्यक्ष डा. श्रेष्ठले बताए । अहिले नर्थ टेक्ससमा पर्ने ड्यालस, फोर्टवर्थ, वेदरफोर्ड लगायतका सेरोफेरोका हस्पिटलहरुमा मात्र २५ जनाको हाराहारीमा नेपाली डाक्टरहरु कार्यरत छन् ।
नवगठित संस्थाले टेक्ससभरिका नेपाली डाक्टरहरुलाइ समेट्ने लक्ष्य लिएकोले थुप्रै संख्यामा नेपाली डाक्टरहरु आवदध हुने उनले आशा लिएका छन् । टेक्ससमा ड्यालस, फोर्टवर्थ, अस्टिन, हुस्टन, सानएन्टेनियो लगायत ठूला शहरहरु छन् ।
यो संस्थालाई अमेरिकी सरकारको गैर नाफामुलक सामाजीक संस्थाका रुपमा दर्ता गर्नेगरि अघि बढाइएको छ । हरेक महिना स्वास्थ शिविर आयोजना गर्न सकिन्छ कि भनेर त्यसतर्फ संस्थाले कार्यक्रम अघि बढाउनुका साथै सरकारी निकायबाट सहयोग र स्विकृती प्राप्त भएको अवस्थामा स्थायी प्रकृतिको निशुल्क क्लिनिक सञ्चालन गर्ने योजना संस्थाले अघि सारेको छ । अहिले नेपाली समाजको आयोजनामा हुने निशुल्क स्वास्थ शिविरमा निकै धेरै मानिसहरु स्वास्थ सेवा लिन आउने गरेको र त्यसलाई हरेक महिना गर्नुपर्ने अवस्था देखिएको छ ।
नेपालबाट एमडी गर्न आउने डाक्टरहरुलाई आवश्यक नेटवर्किंगको सहयोग, सूचना प्रदान लगायतका क्षेत्रमा समेत सहयोगका लागि एसोसिएसनले पहल गर्ने भएको छ । काउन्टीहरुसँग मिलेर नेपाली समुदायका लागि आवश्यक स्वास्थ शिक्षाको जानकारी दिने तथा नेपालमा समेत आवश्यकता अनुसार सेवा दिन पहल गर्ने लक्ष्य संस्थाले लिएको छ । संस्थामा संस्थापक सदस्यका रूपमा मेडिकल फिल्डका डाक्टर र डेन्टिस्टहरूलाइ मात्र सदस्यता दिइनेछ ।
अमेरिकामा सामाजीक संस्थाका रूपमा नेपालीहरूले स्थापना गरेका बिभिन्न खाले राजनीतिक विचारधारालाइ प्राथमिकतामा राखेका, जातीय, क्षेत्रीय संस्थाहरू धेरै छन् । तर नेपाली डाक्टरले संस्था स्थापना गरेर अमेरिकामा सामुदायिक सेवामा अघि बढ्दा अमेरिकी समुदायमा समेत निकैनै सकारात्मक प्रभाव पर्ने देखिएको छ ।
संस्था स्थापनाका लागि अयोजना गरिएको छलफल कार्यक्रम पछि हिमालय खबरसँग कुराकानी गर्दै अध्यक्ष डा. श्रेष्ठ लगायतका पदाधिकारीहरूले संस्थागत रूपमा सामुदायिक सेवाका कार्यक्रम गर्दा सजिलो पर्ने भएकोले अघि बढेको बताए । त्यस अवसरमा डाक्टरहरू दीपेश विष्ट, सुमित भट्टराइ, रोजी राजभण्डारीले समेत हिमालय खबरको जिज्ञासाको जवाफ दिएका थिए ।
प्रतिक्रिया