मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बालिका हत्यारा पत्ता लगाउन माग गर्दै भीमदत्तनगर तनावग्रस्त

बालिका हत्यारा पत्ता लगाउन माग गर्दै भीमदत्तनगर तनावग्रस्त


कञ्चनपुर । कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार बन्द गरिएको छ । 
 
भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले मुख्य दोषीको खोजी गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । 
 
जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच केही समय अगाडि झडपसमेत भएको छ । प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि दुई सेल अश्रुग्यास प्रहार गरेको छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । 
 
बालिका पन्तको हत्या गरी शव उखु बारीमा फेला परेदेखि नै निरन्तररुपमा हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै प्रदर्शन हुँदै आएको छ । प्रहरीले बालिकाको हत्या भएको २६ औं दिनमा घटनामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका मानसिक सन्तुलन ठिक नभएका ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको थियो ।
 
सार्वजनिक गरेका व्यक्ति वास्तविक अपराधी नभएको र वास्तविक अपराधी लुकाएर सबै दोष दिलीपसिंहको थाप्लोमा हालिएको आरोप बन्दकर्ताहरूको छ ।