अमेरिका– अमेरिकाले दक्ष विदेशीलाई यहाँ आएर काम गर्न अनुमति दिने चर्चित एच १ बी भिसाका लागि आवेदन गर्नेको संख्या यसबर्षपनि घटेको छ ।
अमेरिकाको यस सम्वन्धि मुख्य निकाय युएस सिटिजनसीप एण्ड इमिग्रेशन सर्भिसेज (यूएससीआईएस)ले मंगलवार एचवान बी भिसाका लागि आवेदन गर्नेको संख्या लगातार दुई बर्ष यता घटेको तथ्यांक सार्बजनिक गरेको हो ।
ह्वाइट हाउसको आप्रावासी प्रति अनुदार नीति, एच १ बी भिसा प्राप्त गर्न थप कडाई जस्ता कारणले आवेदन घटेको अनुमान गरिएको छ ।
मुख्यत एच १ बी भिसा अमेरिकाका प्राविधिक कम्पनीले दक्ष कामदारको आवश्यकता पुरा गर्न उपयोग गर्दै आएका छन । यस बर्ष एन १ बी भिषाका लागि अप्रिल २ मा पाँच दिनका लागि आवेदन खुल्ला गरिएको थियो । यस बर्ष १ लाख ९० हजार ९८ जनाले एच १ बी भिसाका लागि आवेदन दिएका छन् । सन् २०१७ मा यसरी आवेदन दिनेको संख्या १ लाख ९९ हजार थियो । सन् २०१४ पछि यो संख्या २ लाख भन्दा तल झरेको थियो ।
अमेरिकाले बार्षिक जम्मा ८५ हजारलाई मात्र एन १ बी भिषा प्रदान गर्छ । जस मध्ये २० हजार मास्टर डिग्री प्राप्तभएकालाई छुट्याईएको छ । यो निवेदन माग गरिएको अवधिमै आवश्यकता भन्दा बढीको आवेदन परेको भने छैठौ पटक हो । यसरी आवश्यकता भन्दा धेरै आवेदन पर्यो भने चिठ्ठा प्रणाली (लटरी) मात्र पाउनेको नाम छानिन्छ ।
यूएससीआईएसले आवेदन संख्या किन घट्यो यसका वारेमा केही खुलाएको छैन् । तर, पनि अमेरिकामा यो भिसा पाउनेका भविष्य अन्यौल भएका कारण कम आवेदन परेको अनुमान गरिएको छ ।
अमेरिकामा आवश्यकता अनुसार कुनै क्षेत्रमा पर्याप्त दक्ष व्यक्ति उपलव्ध नभएमा एच १ बी भिसाको माध्यमबाट पुरा गरिन्छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्यक्रमको व्यापक दूरपयोग भएको बताएका थिए । यस भिसाबाट दक्ष व्यक्ति भन्दा पनि अर्धदक्ष व्यक्तिहरु आउने गरेको भन्दै यो कार्यक्रम विवादमा आएको थियो ।
एन १ बी भिसा प्राप्त गरी अमेरिका आउनेमा सबैभन्दा धेरै भारतीयको संख्या छ । केही नेपालीहरुले पनि यस्तो भिषामा यहाँ काम गर्न आउँछन् । तर, यो संख्या ज्यादै थाेरै छ ।
यूएससीआईएस गत फ्रेवअरी महिनामा यस्तो भिषा आवेदकका लागि थप प्रावधानहरु राखेको थियो । जुन कामका लागि यहाँ आएका हुन त्यही कम्पनीमै काम गरुन भन्ने उद्देश्य नयाँ नीतिमा समेटिएको थियो ।
प्रतिक्रिया