चितवन । इन्डियन प्रिमियर लिगमा अनुबन्धित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई चितवनमा सम्मान गरिएको छ ।
चितवन क्रिकेट संघले सन्दीपसँगै उनका प्रशिक्षक राजु खड्कालाई पनि सम्मान गरेको हो । लामिछानेलाई नगद २० हजार रुपैयाँ र खड्कालाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
सम्मानित भएपछि क्रिकेटर सन्दीपले भने, "म यो स्थानसम्म पुग्न धेरै अग्रजको योगदान रहेको छ । त्यसमा पनि प्रशिक्षक राजु खड्काको भूमिका झनै प्रमुख छ ।"
उनले आफ्ना प्रशिक्षकसँगै सम्मानित हुन पाएकोमा निकै खुसी लागेको बताए । चितवनमा क्रिकेट खेलका लागि खेलमैदानको अभाव रहको भन्दै उनले अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडी उत्पादन गर्न त्यही खालको खेलमैदान बनाउन माग गरे ।
यसैगरी, प्रशिक्षक राजु खड्काले सन्दीप मिहिनती, लगनशील र अनुशासित भएका कारण यो स्थानसम्म पुग्न सफल भएको उल्लेख गरे । चितवनले सन्दीपजस्ता थुप्रै खेलाडी जन्माउन सक्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि स्रोतसाधनको अभाव रहेको बताए । कार्यक्रम चितवन क्रिकेट संघका प्रवक्ता अनिल अधिकारीको संयोजकत्वमा सम्पन्न भएको थियो ।
आगामी आईपीएलमा दिल्ली डेयर डेबिल्सले सन्दीपलाई भारतीय २० लाख रुपैयाँमा टिममा अनुबन्धित गरेको छ । सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।
आईपीएलमा अनुबन्धसँगै सन्दीप राष्ट्रिय चर्चामा छन् । पछिल्लो साता नामिबियामा भएको डिभिजन–२ को खेलबाट नेपाललाई डिभिजन–१ मा बढुवा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले सो प्रतियोगितामा १७ विकेट लिएका थिए । डिभिजन–१ मा बढुवा भएसँगै नेपालले विश्वकप एक दिवसीय क्रिकेटको छनोट खेल खेल्ने अवसर प्राप्त गरेको छ ।








प्रतिक्रिया