मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

अप्रेशनपछि बिरामीको मृत्यु भएपछि आर्थिक प्रलोभनमा घटना गुपचुप

अप्रेशनपछि बिरामीको मृत्यु भएपछि आर्थिक प्रलोभनमा घटना गुपचुप


चितवन । चितवनको भरतपुरस्थित नेशनल सिटी अस्पतालमा पत्थरीको अप्रेशनपछि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएका छन् । 
 
चिकित्सकको कमजोरीका कारण गुल्मीका ७० वर्षीय होमलाल भण्डारीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । भण्डारीको डा निर्मल लामिछानेले अप्रेशन गरेका थिए । उनी भरतपुरको बीपी मेमोरियल क्यान्सर अस्पतालमा समेत कार्यरत चिकित्सक हुन् । 
 
शुक्रबार अस्पतालमा भर्ना भएका भण्डारीको शनिबार राति अप्रेशन भएको थियो । अप्रेशनलगत्तै बिरामीलाई आईसीयूमा राखिएको थियो । 
 
अप्रेशनपश्चात् बिरामी होसमा नआई मृत्यु भएपछि चिकित्सकले लापर्बाही गरेको भन्दै आफन्त आक्रोशित भएका थिए । बिरामीका परिवार र आफन्त आक्रोशित भएपछि अस्पताल प्रशासनले आर्थिक प्रलोभन देखाएर घटनालाई गुपचुप पारेको हो । 
 
अस्पतालसँग सहमति भएपछि आफन्तले शव बुझेका छन् । पीडित परिवारलाई ६ लाख रुपैयाँ दिने प्रलोभनमा घटना गुपचुप राखिएको बिरामीका एक आफन्तले जानकारी दिएका छन् ।
 
यस विषयमा अस्पतालका म्यानेजर विक्रम अधिकारीले अस्पतालको कमजोरी ढाकछोप गर्दै प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेका कारण बिरामीका आफन्तसँग सहमति भएको खुलासा गरे । 
 
उनले बिरामीको मृत्यु हुुनुमा अस्पतालको कुनै दोष नरहेको दाबी गर्दै बिरामीको उपचारमा लागेको खर्च मिनाहा गर्ने सहमति भएको बताए । तर, उनले आर्थिक क्षतिपूर्तिको विषयमा भने खुलाउन चाहेनन् ।
 
मृतकका एक आफन्तले अस्पतालसँग कुरा मिलिसकेकोले मिडियामा नल्याइदिन आग्रह गरे । उनले भने “अस्पतालसँग कुरा भएको छ । सबै खर्च र केही क्षतिपूर्ति दिने सहमति पनि भएको छ ।” उनले कति रकममा सहमति भएको भन्ने विषयमा भने खुलाउन चाहेनन् । 
 
उपचारमा संलग्न अस्पतालका एमडीसमेत रहेका डा। निर्मल लामिछानेसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।
 
चितवनका विभिन्न अस्पतालमा चिकित्सक र अस्पतालको लापरबाहीले बिरामीको मृत्यु हुने गरे पनि आर्थिक प्रलोभनमा घटनालाई गुपचुप राख्ने प्रवृत्ति बढेको छ ।