काठमाडौँ । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।
स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौँ महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो । औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ । यो पहिलो चरणमा सम्पन्न निर्वाचनमा खसेको कुल मतप्रतिशतभन्दा बढी हो ।
पोखरा महानगरपालिकामा मतदाता संख्या एक लाख ६८ हजार ६७ रहेकामा एक लाख २४ हजार छ सय १४ अर्थात् ७५.७४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाका रुपमा रहेको सो महानगरपालिकामा कुल ३३ वडा निर्धारण भएका छन् । पोखरा महानगरपालिकाको जनसंख्या चार लाख १४ हजार १४१ रहेको छ ।
तराई–मधेसको एकमात्र चितवनस्थित भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ५० हजार दुई सय ७४ मध्ये एक लाख १२ हजार सात सय ४१ मतदाताले मतदान गरेका थिए । यो मतदाता संख्याको ७५.०२ प्रतिशत हो । कुल २९ वडा रहेको सो महानगरपालिकामा जनसंख्या दुई लाख ८० हजार पाँच सय दुई छ ।
मुलुकको पहिलो कामपामा मतदाता संख्या दुई लाख ७१ हजार दुई सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब एक लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य महानगरपालिकाको तुलनामा कामपाका बासिन्दाले कम मतदान गरेको देखिएको छ । कुल ३२ वडा रहेको कामपामा कुल जनसंख्या नौ लाख ७५ हजार ४६३ छ ।
ऐतिहासिक तथा पर्यटकीय महत्वको ललितपुर महानगरपालिकामा कुल एक लाख १२ हजार नौ सय २३ मतदातामध्ये संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ ८९ हजार दुई सय १४ मत खसेको थियो । चार महानगरपालिकामध्ये सबैभन्दा बढी अर्थात् ७९ प्रतिशत हो । उनन्तीस वडा रहेको सो महानगरपालिकामा पछिल्लो जनगणनानुसार दुई लाख ८४ हजार नौ सय २२ जनसंख्या छ ।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । चारै महानगरपालिकामध्ये ललितपुरमा आइतबार रातिदेखि र अन्यमा सोमबारदेखि मतगणना सुरु भएको छ । रासस







प्रतिक्रिया