मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वी–चितवनमा बढ्यो स्थानीय निर्वाचनको सरगर्मी

पूर्वी–चितवनमा बढ्यो स्थानीय निर्वाचनको सरगर्मी


चितवन । आसन्न ०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनले पूर्वीचितवनको माहोल एकाएक तातेको छ । मतदातामा भन्दा पनि नेता–कार्यकर्तामा उत्साह थपिएको छ । झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि दलहरुबीच चहलपहल भइसकेको छ । 
 
रत्ननगर नगरपालिकामा मेयरमा कसले बाजी मार्छ भन्ने आँकलन र चिया विश्लेषण सुरू भइसकेको छ । बिहानदेखि साँझसम्म उम्मेदवारीको चर्चामा समय खर्चमात्रै भएको छैन, आफ्नो माहोल बनाउन प्रत्याशीहरुले ठूलै कसरत गर्न थालेको स्थानीय बताउँछन् । 
 
नेपाली काँग्रेसमा रत्ननगर नगरपालिकाका लागि मेयरको उम्मेदवारीका लागि आकांक्षीहरुको संख्या झण्डै दुई दर्जन छ । काँग्रेसका पुराना हस्तीदेखि युवासम्मले मेयरका लागि आकांक्षा राखेका छन् । पार्टीले उम्मेदवारीको टिकट कसलाई प्रदान गर्छ भन्ने आफ्नो ठाउँमा छँदैछ, तर पनि चिया चौतारीहरुमा आ–आफ्ना प्यानलका प्रत्याशीहरुको लबिङ सुरू भइसकेको छ । 
 
मेयरका लागि निजानन्द मल्ल, त्रिलोचन पौडेल, माधव अर्याल, भरत खनाल, विजय ओझा, गोविन्द गौतम, उत्तम आचार्य, रुपनराज घिमिरे, सूर्य अर्याल र भेषराज दवाडीको नाम बढी चर्चामा छ । 
 
यसैगरी नेकपा (एमाले)मा रत्ननगर नगरपालिकाको मेयरका लागि पूर्वमेयर नारायण वन, प्रेम दवाडी, कृष्ण खनाल र केशव आचार्यको नाम चर्चामा छ । एमालेमा को बढी लोकप्रिय भन्ने विषयले पनि प्राथमिकता पाएको छ । यी चार नेताका पक्षधरहरुले माहोल तताइरहेका छन् । 
 
उसो त काँग्रेस र एमालेको तीव्र प्रतिष्पर्धा हुने आँकलन गरिएको रत्ननगरमा नेकपा (माओवादी केन्द्र)बाट राजु अमगाईँ ‘सुवोध’को चर्चा बढी छ । 
 
यस्तै उपमेयरमा पनि काँग्रेसका आधा दर्जन बढी प्रत्याशी देखिएका छन् । नीता ढकाल, गीता देवकोटा, लक्ष्मी चौधरी, विनिता पौडेल, रघु भट्ट र सञ्जय लामाको नाम चर्चाको शिखरमा छ । यस्तै एमालेबाट मायादेवी खतिवडा र एन्जिला कुँबर उपमेयरका लागि चर्चामा छन् । रत्ननगरमा स्थापित नेतालाई निर्वाचनमा कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । दलहरुले आ–आफ्नो पक्षमा भारी मत पर्ने दाबी गर्दै आएका छन् । 
 
यस्तै, पूर्वी चितवनको दोस्रो व्यापारिक केन्द्र खैरहनी नगरपालिका पनि चुनावी माहोलले तातेको छ । काँग्रेसबाट धनबहादुर गुरुङ, शशि खनियाँ, राजेन्द्र चौधरी, राजु सिलवाल र सुशीला उप्रेतीले आफ्नो चुनावी अभियान तीव्र बनाएको स्थानीय भरत खनालले बताए ।    
 
यस्तै, एमालेमा कमल पाठक र कृष्ण डल्लाकोटीको नाम अत्यधिक चर्चामा रहेको बताइन्छ । यसैगरी एमाओवादीबाट कुलप्रसाद भुसाल र रामेश्वर पोखरेल प्रतिस्पर्धामा दरिएका छन् । 
 
यस्तै कालिका नगरपालिकामा काँग्रेसबाट राजु श्रेष्ठ, कमल आचार्य र शिवराम केसी चर्चामा छन् भने एमालेबाट केशव लामा र विनोद रेग्मीको नाम चलेको छ । यस्तै नेकपा (माओवादी केन्द्र)बाट सुदर्शन अधिकारी बढी चर्चामा छन् ।
 
यस्तै राप्ती नगरपालिकामा काँग्रेसबाट भीमप्रसाद थपलिया, किरण ओली, पदमराज पाठक, अनिता मैनाली, यस्तै एमाले गोविन्द कँडेल, हरि पौडेल र माओवादी केन्द्रबाट सिंहबहादुर गोले र रामचन्द्र पाठकको चर्चा चलेको बताइएको छ । चिया चौतारीमा चलेका आकांक्षीहरुबाटै उम्मेदवार चयन हुन सक्ने देखिएको छ । 
 
योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामा मात्र नगरको विकास हुने भएकाले मतदाताले आफूले रोजेको योग्य, सक्षम, इमान्दारी व्यक्तिले मात्र मत पाउने संभावना छ । दलका नेतालाई उम्मेदवारी दिने मोह बढेपछि उम्मेदवार छनौटमा समस्या हुने देखिएको छ । 
 
रत्ननगरमा उम्मेदवारको चर्चा र कसले जित्ने भन्ने आँकलन चल्न थालेको छ । चियापसल, होटल र चोकहरुमा सम्भावित उम्मेदवारले नगरका लागि के योगदान दिन सक्छन् वा उनीहरुका पृष्ठभूमि कस्तो छ भन्नेबारे  विश्लेषणसमेत हुन थालको छ । यसले के देखाउँछ भने नगर चुनावमा आफ्नो मान्छेले भन्दा राम्रो मान्छेका लागि  मतदाताले विश्वास गर्ने देखिन्छ । यसै विषयले दलहरुलाई समेत उम्मेदवार चयनमा समस्या पर्ने देखिन्छ । 
 
स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा जनप्रतिनिधि आउने र जनताका काम छिटोछरितो रूपमा सम्पादन हुने आशाका साथ मतदाता निर्वाचनमा सहभागी हुने देखिएका छन् ।