ह्युस्टन, आइतवार अगष्ट २४
प्राय सबै चाडपर्व सप्ताहन्तमा मनाउनु पर्ने बाध्यता छँदै छ। सप्तान्त पारेर नै किन नहोस् नेपालीहरुले आफू जहाँ, जसरी बसेपनि आफ्ना चाडपर्वहरु भव्य रुपले मनाउन छोडेका छैनन्।

यसै सन्दर्भमा आज टेक्ससको ह्युस्टनमा गुल्मी समाजको आयोजनामा भव्य तिज महोत्सव सम्पन्न भएको छ। नेपालीहरुको बढी बसोबास भएको सबै अमेरिकी शहरहरुमा सबै मुख्य चाडपर्व सामूहिक ढङ्गले मनाउने प्रचलन बढ्दो छ।

खासगरी रातो साँस्कृतिक पहिरन, गर-गहना, हरिया पोतेले सजिएका नेपाली नारीहरुको सार्वजनिक चहलपहल देखिन थालेपछि तिज आएको थाहा भइहाल्छ। तिजको अर्को विशेषता भनेको नारीका खुसी, बेदना, उत्पीडन, मुक्तिका कथा समेटिएका नारी-प्रधान तिज गीत घन्किनु पनि हो। गुल्मी समाज ह्युस्टनले आज आइतवार अगष्ट २४ का दिन ह्युस्टनमा आयोजना गरेको तिज महोत्सवको दृ्ष्य ठ्याक्कै त्यस्तै थियो। ह्युस्टन वरिपरिका सयौं आमा-दिदी-बहिनीहरु रातो साडी र गहनामा सजिएर गुल्मी समाजको तिज महोत्सवमा सहभागी भएका थिए।

सामूहिक दर खाँदै परम्परागत र आधुनिक तिज गीतमा छमछमी नाच्दै रमाएका आमा-दिदी-बहिनीहरुले तिज महोत्सवलाई भव्य बनाइदिएका थिए। आमा-दिदी बहिनीहरुको नाच हेर्न र सामूहिक दर खाने कार्यक्रममा पुरूषहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। तिज महोत्सवमा बृहत्तर ह्युस्टनका सबै संघसंस्था र स्थानीय व्यवसायीहरुले सहयोग रहेको जानकारी आयोजक गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी गराएकाछन्।

आजको तिज महोत्सवमा करिब तीन सयको सहभागिता रहेको समाजका सचिव हरि न्यौपानेले हिमालय खबरलाई बताए।
सिएनएसको तिज गत आइतवार
यसैबीच साइप्रस क्षेत्रमा रहेको अर्को नेपाली संस्था सृजनशील नेपाली सोसाइटी (सिएनएस) ले गत आइतवार अगष्ट १७ का दिन नै तिज पर्व मनाएको थियो। सोसाइटीले आयोजना गरेको तिज पर्वमा करिब छ सय जनाको सहभागिता रहेको जानकारी सोसाइटीका अध्यक्ष बालकृष्ण बानियाँले जानकारी गराएका छन्।

स्थान अभावका कारण कैयन उत्सुक सहभागीहरुलाई कार्यक्रम हलमा प्रवेश गराउन नसकिएको आयोजक सिएनएसले जनाएको छ।
नेपालीहरु संसारभर जहाँ पुगेपनि आफ्नो भाषा, संस्कृति, चाडपर्व र रहनसहन संगै लिएर जान्छन्। जहाँ रहन्छन्, त्यहीं आफ्नो सांस्कृतिक पहिचान कायम राख्छन्। त्यही सांस्कृतिक पहिचानको एउटा उदाहरण हो—सामूहिक तिज पर्व, जुन ह्युस्टनका नेपालीले भव्यताका साथ मनाएकाछन्।

सिएनएस तिज फोटो सौजन्यः बालबकृष्ण बानियाँ, अध्यक्ष, सिएनएस












प्रतिक्रिया