स्यामराङ, चितवन । चितवन भन्नेबित्तिकै सुगम जिल्ला भन्ने धेरैको बुझाइ छ । तर, यस जिल्लाको विकट गाउँबारे थोरैमात्र जानकार छन् । पहाडी गाविस लोथरको उचो भाग स्यामराङ, त्यस गाउँबाहेक अन्य ठाउँका मानिसहरु त्यहाँ सायदै पुग्ने गरेका छन् । भण्डारा–मलेखु चेपाङमार्ग खोल्नुअघि यस्ता गाउँहरुको बारेमा बाहिरी व्यक्तिहरु जानकार थिएनन् ।
लोथर गाउँ विकास समितिका सचिव पनि त्यस गाउँ पुगेका छैनन् । त्यस गाउँ पुग्न भण्डाराबाट ३ घण्टाको ग्रामीण सडकको यात्रापछि २ घण्टा ठाडै उकालो हिँड्नुपर्छ ।
धादिङको चरौदीबजारबाट स्यादुल हुँदै २ घण्टा ग्रामीण सडकको यात्रा र त्यसपछि १ घण्टाको हिँडाइपछि यस गाउँ पुग्न सकिन्छ । केही वर्षअघि विषालु च्याउ खाएर एकै परिवारका ८ जनाको मृत्यु भएको कान्दा गाउँबाट स्यामराङ गाउँ जान अझै केही घण्टा पर हिँड्नुपर्छ । सरकारी अधिकारीहरु बिरलै पुग्ने यस गाउँमा जाने भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह निकै उत्साहित थिए ।
चितवनका पत्रकारहरुले सहयोग संकलन गरेर बनाएको भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणपछि भवनको उद्घाटनका लागि प्रजिअ सिंह त्यहाँ पुगेका थिए । दुई दिन समय यस कार्यक्रमका लागि उनले छुट्टाएका थिए । ‘३५ सालपछि आफू यस गाउँमा आइपुग्दा निकै खुसी लागेको छ, प्रजिअ सिंहले भने, ‘यहाँ आएपछि बास्तविक चेपाङको पीडा बुझ्ने अवसर पाए ।’
गाउँमा खानेपानी, बिजुली र निमावि शिक्षाको आवश्यकता रहेको भन्दै उनले यस्ता सुविधाका लागि सरोकारवालासँग छलफल गर्ने बताए । विसं। २०३८ सालमा चितवनका तत्कालीन सीडीओ जनक ढुंगाना त्यस गाउँमा पुगेका रहेछन् । त्यसपछि कुनै पनि सीडीओ त्यो गाउँ पुगेका रहेनछन् । ३५ वर्ष अघि गाउँमा सीडीओ आउँदा गाउँका अगुवा चेपाङ झ्यापुराम त्यतिखेर ४४ वर्षको थिए ।
दोस्रो पटक गाउँमा सीडीओ पुग्दा उनी कुप्रिएको ढाडलाई एउटा लौरोको सहारा दिएर ८१ वर्षको उमेरमा जसोतसो हिँडिरहेका थिए । गाउँमा सीडीओ आएपछि झ्यापुराम निकै खुसी थिए । गाउँको विकासको अवस्था र स्थानीयको समस्याबारे उनले सीडीओलाई जानकारी गराएका थिए ।
‘हामीले एकजना सुब्बा, खरदार तथा माथिल्लो पदको भए पनि अधिकृतसम्मको सरकारी कर्मचारी आउँछन् होला भन्ने सोचेका थियौँ, उनले भने, ‘सीडीओ नै आएपछि सोचेभन्दा धेरै खुसी भयौँ ।’ जिल्ला प्रमुखसँगै राष्ट्रिय अनुसन्धान प्रमुख माधव तिमिल्सिना, सीमा सुरक्षा बल आँपटारी प्रमुख विदुर खड्का, जिल्ला शिक्षा अधिकारी गोविन्द अर्याल, शिक्षा कार्यालयका इन्जिनियर इन्द्रआनन्द चौधरीलगायतका सरकारी अधिकारीहरु त्यस गाउँमा पुगेका थिए ।
लोथर, कोराक, सिद्धिलगायतका गाउँ र धादिङ स्र्यादुल भेगका लागि झ्यापुराम प्रजा कहलिएको नाम हो । किनकि उनी त्यस भेगका जनताका लागि सधैँ सेवामा हाजिर थिए र अझै पनि छन् । गाउँमा अहिले पनि केही काम गर्नुपरे उनकै रायसल्लाह र आदेशले हुने गर्छ ।
लोथर, कोराक, सिद्धिलगायतका गाउँ र धादिङ स्र्यादुल भेगका लागि झ्यापुराम प्रजा कहलिएको नाम हो । किनकि उनी त्यस भेगका जनताका लागि सधैँ सेवामा हाजिर थिए र अझै पनि छन् । गाउँमा अहिले पनि केही काम गर्नुपरे उनकै रायसल्लाह र आदेशले हुने गर्छ । अहिले पनि वृद्ध शरीर लौरोको सहारामा उनी डाँडापाखा चहारिरहन्छन् ।
कतिपय गाउँका मुद्दा गाउँलेलाई घरमै बोलाएर टुग्याउँछन् । सबैलाई समाजमा मिलेर बस्न सल्लाह दिन्छन् । २०२९ देखि ०४६ सालसम्म चारपटक उपप्रधान र प्रधानपञ्च बनेका उनले आफ्ना लागि स्वार्थ साँचेनन । उनलाई ०३७ सालमा राजा वीरेन्द्रले प्रधानपञ्चमा मनोनित गर्दै पञ्चायतको जिल्ला सदस्य बनाए । उनलाई राजा वीरेन्द्रले मात्र १० पटक भेटे । पुरस्कारको रुपमा ३ हजार दिए । ३ पटक जिविस सदस्य बनेर गाउँका लागि गरे ।
प्रतिक्रिया