मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

प्रधान परिवारको दाहसंस्कार शनिबार हुँदै

प्रधान परिवारको दाहसंस्कार शनिबार हुँदै


ड्यालस (अमेरिका) । गत शनिबार आफैँले गोली हानेर पत्नी र छोराको हत्यापछि आत्महत्या गरेका ललित प्रधान लगायत तीनैजनाको आउँदो शनिबार दाहसंस्कार गरिने भएको छ ।

शनिबार बिहान टेक्ससको ड्यालसमा भुटानबाट पुनर्स्थापित एक परिवारका तीन सदस्यहरुको गोलीकाण्डमा मृत्यु भएको थियो । तीनैजनाको आउँदो शनिबार बिहान ११.३० मा दाहसंस्कार गरिने नेपाली समाज टेक्ससले जनाएको छ ।

२००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तरगत ड्यालस आएका ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र तीन वर्षिय छोरा प्रनिश प्रधानको निधन भएको हो । स्रोतका अनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफैँलाई पनि गोली हानेर आत्महत्या गरेका हुन् । प्रधान पथरी शिविरमा छँदा शिक्षक थिए ।

केही वर्षदेखि उनी डिप्रेसनमा गएको उनीसँग निकटहरुले बताएका छन् ।

शनिबार बिहान २:१० मा घटना भएको जानकारी ड्यालस पुलिस डिपार्टमेन्टलाई भएको थियो । प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको गोलीका कारण निधन भैसकेको थियो भने घाइते अवस्थामा रहेका ललितलाई तत्काल अस्पताल लगेपनि उपचारको क्रममा निधन भएको थियो ।

ललित लामो समय नेपालको विभिन्न भुटानी शरणार्थी शिविरमा बसेर डेढ दशक अघि आइओएम र अमेरिकी सरकारको कार्यक्रम अन्तर्गत अमेरिका आएका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार उनी अमेरिका आउनु अघिसम्म मोरङ्गको पथरी शिविरमा बस्दै आएका थिए ।

प्रधानले शनिबार मात्र फेसबुकमा लामो पत्र लेख्दै मेडिकेट लगायतका सुविधाहरू नहुँदा समस्या परेको दुःखेसो गरेका थिए ।

काठमाडौ माइती भएकी रजनी उनको दोस्रो पत्नी हुन् । नेपाली समाज टेक्ससको सहयोग र समन्वयमा शनिबार दाहसंस्कार हुँदैछ । परिवारको सहयोगार्थ गोफण्ड खोलिएको छ । मनकारीहरुलाई उक्त गोफण्डमा सहयोग गरिदिन समेत आव्हान गरिएको छ ।

शेयर गर्नुहोस:

8.9k
Shares