काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनजन्य प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षति र जोखिम न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा उनीहरूले बाढीपहिरो जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, पूर्वसूचना, राहत तथा उद्धार समयमा हुनुपर्नेमा जोड दिएका हुन् ।
बैठकको आकस्मिक समयमा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको त्रिशूली बजारमा विद्युत् प्राधिकरणको जलविद्युत् केन्द्रको नहरबाट खानेपानी आपूर्ति भइरहेकामा बाढीका कारण क्षतिग्रस्त हुँदा खानेपानीको समस्या भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
“तत्काल समस्या समाधान गर्न आवश्यक छ, ओखरपौवामा फोहरका कारण वायु र पानी प्रदूषण हुँदा समस्या भइरहेको छ । राष्ट्रिय फोहर प्राधिकरण गठन गर्न आवश्यक छ”, उनले भने । प्राकृतिक विपद्का कारण जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न आवश्यक रहेकामा उनले जोड दिए ।
सांसद भगवती चौधरीले स्थानीय तहले जनताका आवाज उठाउँदा जनप्रतिनिधिले अनावश्यक दुःख दिएका भन्दै जनताको विकासलाई उपेक्षा गर्न नहुनेमा जोड दिइन् । सांसद अमनलाल मोदीले कोशी प्रदेशले कामकाजको भाषामा थारु भाषालाई उपेक्षा गरेको भन्दै यो विषयमा सरोकार भएका सबैको गम्भीर ध्यान जानुपर्नेमा जोड दिए ।
“ग्रामथानदेखि गाउँपालिका, नेताचोकदेखि पूर्वको केरुङसम्मको बाटो ठूलो नहर मोरङ–सुनसरीअन्तर्गत पर्छ । त्यस्तै पश्चिममा खनारसम्म आज त्यहाँ बाटो हिलाम्मे भएर हिँड्न नसक्ने अवस्था आएको छ, तसर्थ यो विषयमा पनि सरकारको ध्यान जाओस्”, उनले भने ।
सांसद बिजुला रायमाझीले शीतगङ्गा नगरपालिका–९ र ११ जोड्ने राङसिङ खोलाको निर्माणधीन पुल नबन्दा सर्वसाधारणको ज्यान गएको भन्दै समयमा सरकारको ध्यान जानुपर्ने बताइन् ।
सांसद किरणकुमार साहले मधेशका किसानले पहिला वर्षा नहुँदा समयमा रोपाइँ गर्न नपाएका तर अहिले भने बाढीको जोखिम रहेको भन्दै बाढीबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि नदी नियन्त्रण गर्नुपर्ने बताए ।
सांसद सराज अहमद फारुकीले धरानमा पहिरोका कारण घर जोखिममा रहेका भन्दै समयमा विपद् व्यवस्थापनका लागि पूर्वसूचना र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताए ।












प्रतिक्रिया