बग्दाद । इराकको राजधानी बग्दादबाट उत्तरतर्फ रहेको एक नगरमा अमेरिकी सेनाको हवाई कारबाहीमा परी कम्तीमा पनि १७ जना सर्वसाधारण मारिएको समाचार छ । इराकको उत्तरी नगर ताल अफरमा सो कारबाही भएको र त्यसमा परी १७ जना सर्वसाधारण मारिएको पछिल्लो समाचारमा जनाइएको छ ।
अल जाजिरा टेलिभिजनले सो आक्रमण बिहीबार बिहान भएको जानकारी पाएको समाचारमा जनाएको छ । मारिनेमा १२ जना बालबालिका परेका छन् । त्यस्तै तीन जना महिला पनि मारिनेमा परेका सो टिभीले जनाएको छ ।
तर यस विषयमा इराकी सरकारको आधिकारिक जानकारी भने छैन । इराकमा इस्लामिक स्टेट्सका विरुद्धमा अमेरिकी सेनाले गतवर्षदेखि नै कारबाही गर्दै आएको छ । यसै क्रममा विगतमा पनि अमेरिकी सेनाले गर्ने गरेका यस्ता कारबाहीमा पनि भूलबस हुन पुगेको जानकारी दिने गरेको थियो ।
तर बिहीबारको यस कारबाहीका बारेमा भने अमेरिकी सेनाले केही जानकारी दिएको छैन । हाल इराकमा अमेरिकी नेतृत्वका विभिन्न देशका सेनाले आइएस विरुद्धमा कारबाही गर्ने गर्दछन् । प्रारम्भिक रुपमा गरिएको अनुमानमा उक्त क्षेत्रमा आइएसका लडाकू रहेको आशङ्कामा सेनाले हवाई हमला गरेको हुनसक्ने बताइएको छ । सिन्ह्वा
प्रतिक्रिया