हिमालय खबर, चितवन । आफू सघन उपचार कक्ष (आईसीयू) मा छिन् । श्रीमानको शव शिक्षण अस्पतालको शवगृहमा बरफ जमाएर राखिएको छ । छोरा नुरप्रसाद कहाँ छन्, थाहा छैन । जीवनको यस्तो कठिन मोडमा रहँदा गोरखा फुजेलकी गंगामाया अधिकारीले आईसीयूबाट पुनः न्यायका लागि सबैलाई अपिल गरेकी छन् ।
छोराको हत्या विषयमा आगामी वैशाख ५ गते चितवन अदालतमा साक्षीहरुको बकपत्र हुने भएपछि गंगामायाले सानो चिरकटोमा साक्षीलाई सम्बोधन गरेर भनेकी छन्, ‘कृपया न्यायका लागि अदालतमा एकचोटि जसरी पनि उपस्थिति भइदिनुहोला, सत्य–तथ्य जे हो भनिदिनु होला ।’
गंगामायाको औंठा छाप लगाइएका अनुरोधपत्रमा घटनाका साक्षीलाई अदालतमा उपस्थित भएर न्यायको लडाइँमा साथ दिन भनिएको छ । न्यायको लागि आफू अन्तिम युद्ध लडिरहेको कुरा पत्रमा उल्लेख छ ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही नभएको भन्दै अनसनमा छिन, गंगामाया अधिकारी । न्यायकै माग गर्दै अनसनमा बसेका बेला उनका श्रीमान् नन्दप्रसादको मृत्यु भइसकेको छ । अनसनमै रहँदा नन्दप्रसादको ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको हो ।
आगामी वैशाख ५ गते चितवन जिल्ला अदालतमा हुने गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या काण्डका साक्षीहरुको बकपत्र हुने भएपछि मानवअधिकार रक्षकहरुले बकपत्रमा सहभागी हुन आउने साक्षीहरुको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।
सो दिन चितवन जिल्ला अदालतमा ६ जना साक्षीले घटनाबारे बकपत्र गर्नेछन् । बकपत्र पश्चात मुद्दा पेशीमा जाने छ र त्यसपछि फैसला हुनेछ ।
गैरराजनीतिक घटनामा सोहीअनुसार पीडितले न्याय पाउने गरी फैसला हुनुपर्ने भन्दै मानवअधिकारकर्मीहरुले सोमबार घटनाका साक्षी, जिल्लाका कानुन व्यवसायी, पत्रकारहरुसँग भेटघाट गरेका छन् । साक्षी संरक्षणका लागि आफूहरु सहयोग गर्न तयार रहेको चितवन अदालतका न्यायधीश टेकनारायण कुँवरले बताए ।
पत्रकारहरुसँगको भेटघाटमा इन्सेक प्रमुख मानवअधिकार रक्षक सुवोध प्याकुरेलले वैशाख ५ गते हुने बकपत्रमा साक्षीहरुलाई जे सत्य हो, त्यही बोली दिन आग्रह गरे । पीडितले न्याय पाउनुपर्ने भन्दै प्याकुरेलले भने, ‘साक्षीहरुले, देखेजानेका, सुने बुझेका जे सत्य हो, त्यही बोलिदिनुहोस् ।’
मानवअधिकार रक्षक चरण प्रसार्इंले यो विषयलाई राजनीतिक करण नगर्न आग्रह गरे । विपक्षीहरुबाट घटनाका साक्षीलाई धम्क्याउने, तर्साउने काम हुने गरेकाले यसपटक त्यस्तो नगर्न सबैलाई आग्रह गरे । उनले वर्षौदेखि अस्पतालको शैयामा रहेका पीडितलाई न्यायदिलाउन सहयोग गर्नुपर्ने बताए ।
गत पुस ६ गते सर्वौच्च अदालतले घटनाका मुख्य आरोपित भनिएका छविलाल पौडेललाई थुनामै राखी अनुसन्धान गर्न आदेश दिएको थियो । उनी हालसम्म पक्राउ परेका छैनन् । सर्वोच्चले आदेश गरेको अवधि सय दिन नाघिसकेको छ । तत्कालै अभियुक्त पौडेललाई पक्राउ गर्न चितवन जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र लेखेपनि उनी हालसम्म पक्राउ नपरको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी वसन्त कुँवरले बताए ।
कानुन व्यवसायी ओमप्रकाश अर्यालले नेपाल बार एसोसियसनले यस घटनालाई हेर्न १६ जना कानुन व्यवसायीलाई चितवन पठाएको जानकारी दिए । अधिकारकर्मीहरुले यो मुद्दालाई आयोगबाटै हेर्नुपर्ने कारण कुनै पनि नरहेको बताए । यस मुद्दालाई एमाओवादीले सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउनुपर्ने बताउँदै आइरहेको छ ।
जिल्ला अदालत चितवनको ०७१ वैशाख ४ गतेको आदेशले आरोपितमध्ये सात जना धरौटीमा छुटेका थिए भने बाँकी शुद्ध तारेखमा छुटेका थिए । पुनरावेदन अदालतले गत असार ४ गते जिल्ला अदालतको आदेश सदर गरेको थियो । आरोपित अहिले पनि चितवन अदालतमा तारेखमा छन् ।
छोराको हत्या भएको भन्दै उनका बाबु नन्दप्रसाद अधिकारीले ०६१ जेठ २४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेका थिए ।
प्रतिक्रिया