नेपालमा पाल्पा जिल्लाबाट केही हजार डलर खल्तिमा राखेर ‘अमेरिकी सपना’ पछ्याउँदै मेरिलण्ड आइपुगेको मान्छे अहिले मेरिलण्ड राज्य संसदको सदस्य (डेलिगेट) हुने दौडमा छ। यो दौडमा भएको मान्छे, अरु कोही होइन, तपाईं हामीले ‘सतिश’जी भनेर आत्मियता देखाइरहेकै नेपालीको छोरा हो, नेपालीको भाइ हो।नेपालीको दाइ हो। हामी सबैको चासोको विषयलाई संगै बोकेर हिंड्नसक्ने एउटा असल साथी हो। हाम्रो त्यही असल साथी हाम्रै समुदायमा सक्रिय नेपाली अमेरिकन पनि हो जसको जीतले फेरि हामीलाई आठ वर्ष अघि ह्यारी भण्डारीले देखाएको बाटोमा अझै हुल बाँधेर हिंड्न प्रेरित गर्ने छ।
नेपालीहरुको दोश्रो पुस्ता अमेरिकी श्रम बजारको उम्दा पदहरुमा पनि सक्रिय हुन थालेका बेला पहिलो पुस्ताको नेपाली- अमेरिकनहरुको प्रतिनिधित्व गर्दै राज्य संसदमा निर्वाचित हुनै लागेका सतिश चापागाईंलाई सहयोग गर्नु भनेको पछिल्ला पुस्ताका हाम्रा छोरा-छोरीलाई समेत मुलधारको अमेरिकी राजनितिप्रति चासो सृजना गर्नु हो। नेपाली हुनुको गौरव र खुसी साट्ने मौका छोप्नु पनि हो।
देश बाहिर रहेका हामीले भावनाको नेपाल बाँच्ने भनेको नेपाली चाडबाड् मनाएर खुसी हुने मात्र होइन, सतिश चापागाईं, ह्यारी भण्डारी, सह्राना श्रेष्ठ वा विश्व शाह जस्ता राज्य संसदमा उम्मेदवार भएकाहरुलाई जिताउन सहयोग गर्ने पनि हो। भोलीको चुनावमा उम्मेदवार चारै जना डेमोक्रेटिक पार्टीबाट हुनुहुन्छ। उहाँहरु रिपव्लिकन पार्टीबाट उठ्नु भएको भएपनि नेपाली अमेरिकनहरुको साथ सहयोग उत्तिकै हुने नै थियो, हुनुपर्थ्यो।
नेपाली-अमेरिकनहरुको ठूलो चाड् दशैं भर्खरै सकिएको छ। तिहार अर्को साता आउँदै छ। तर त्यत्तिकै ठूलो चाड् भोली पनि छ। भोलीको चाड् हामीले सतिश चापागाईं लगायतका नेपाली अमेरिकन उम्मेदवारहरुलाई जिताएर मनाउनु पर्ने छ। खुसी हुन धेरै ठूलो कुरा हुनु पर्दैन। अमेरिकी मूलधारको राजनीतिमा नेपाली समदायको अगुवाई गरिसकेका ह्यारी भण्डारी सहितका सबैको जीत सुनिश्चित गर्न सहयोग गरेर खुसी हुने अवसर अझै बाँकी नै छ।
ज्या, मैले सहयोग गर्नै पाइन भनेर चुकचुकाउनु भन्दा अहिल्यै सकेको सहयोग गर्नु होला।
यदि यहाँहरुलाई हाम्रा मित्र सतिश चापागाईंलाई ‘डेलिगेट चापागाईं’ भन्न मन छ भने भोली उनको चुनाव क्षेत्रमा खटेर, मत दिएर वा सकेको आर्थिक मद्दत गरेर पनि उनको अभियानमा जोडिन सकिन्छ।
समुदायको खुसीका लागि किन पछि पर्ने?
मलाई त औधी मन छ, डेलिगेट चापागाईं भन्न। डेलिगेट भण्डारी भन्न थालेको आठ वर्ष पछि मेरिलण्डकै अर्का सशक्त नेपाली-अमेरिकनलाई डेलिगेट चापागाईं भन्ने अवसर मिल्दै छ। भोली राती अबेलासम्म सायद नतिजा थाहा भइसक्ला। आजको रात अघि नै सहयोग गर्ने मौका नछोडौं।
आफ्नो समुदायको चासोलाई प्रतिनिधित्व गर्ने मान्छे आफ्नै समुदायको हुनुले के फरक पार्न सक्छ भन्ने जान्न ह्यारी भण्डारी मेरिलण्डको राज्य संसदमा डेलिगेट भइसकेपछि थाहा हुन थालेको छ। नेपाली-अमेरिकन हुनु भनेको नेपालीपनको विरासत सहित अगाडि बढ्नु पनि हो। भाषा संस्कृति यस्ता विषय हुन् जो हाम्रो पहिचानसंग जोडिएको हुन्छ। अहिले नेपालीहरु नपुगेको देश, शहर सायद कुनै होला। अमेरिकाको ५० वटै राज्यहरुमा नेपालीहरु बसोबास गर्छन्। करिब पाँचलाख संख्यामा नेपालीहरु अमेरिकामा रहेको अनुमान छ। यति धेरै नेपालीहरु मध्ये १० प्रतिशतले मात्र सहयोग गरेपनि ५० हजार नेपालीको सहयोग जीतको संघारमा भएका हाम्रा उम्मेदवारहरुले पाउने छन्।
नेपाली पहिचान बचाइराख्ने अभियान कै एउटा हिस्सा हो, स्टेट, सिटी वा काउण्टीस्तरमा उम्मेदवार भएका नेपाली-अमेरिकनहरुलाई सहयोग गर्ने काम। आफ्नो समुदायको कुरा आफ्नै भाषामा भनेर त्यो आवाज अमेरिकी राज्य संसदसम्म पुगोस् भन्ने मनमा सोचेर मात्र हुन्न। हामीले सोचेको कुरा त्यति बेला पुरा हु्न्छ, जतिबेला हामी सबै चापागाईं जस्ता उम्मेदवारहरुलाई जिताउन निर्वाचन क्षेत्रमा नै खटिन्छौं वा आर्थिक सहयोग गरेर उनको संगठित अभियानलाई सघाउँछौं। कसरी सहयोग गर्ने तपाईंहरुको रोजाई हो!
नेपाली समुदायका समग्र अग्रज वा संघसंस्थाका प्रतिनिधिहरुले बिना हिच्किचाहट चापागाईं लगायतका उम्मेदवारलाई सघाऔं। यो हामी सबै नेपालीका लागि गर्वको विषय होइन?
मेरिलण्ड राज्यको डिस्ट्रिक्ट -७ए (7A) बाट अर्को नेपालीको छोरो अमेरिकी राज्य संसदमा पुग्ने दिन नजिकिंदै छ। भण्डारी र चापागाईं दुबैजना जित्नु भयो भने यो पटक कुनै अमेरिकी संसदमा एउटै कार्यकालमा दुईजना नेपाली जितेको पनि इतिहास बन्ने छ। भेली एउटा अर्कों गर्विलो इतिहास रचिने छ।
र, इतिहास रचिएको बेलादेखि नै तपाईं हामीले भन्न पाउने छौं— डेलिगेट चापागाईं।













प्रतिक्रिया