विचार / ब्लग

अमेरिकामा स्टोरमा चोरी गर्दा हुने दूरगामी असर

अमेरिकामा स्टोरमा चोरी गर्दा हुने दूरगामी असर


केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा आयो। दुई जना नेपाली विद्यार्थीहरूले वालमार्टबाट सामान चोरी गरेको अभियोगमा समातिएको दृश्य भिडियोमा छ।

भिडियो ताजा नै हो वा अलि पुरानो हो भन्ने बारेमा स्पष्ट छैन। यो गर्मीको समयमा ज्याकेट र हुडी लगाएका ती दुई नेपाली अनि न्यानो लुगा लगाएका प्रहरी अधिकृत देखिएकाले भिडियो ताजा होइन कि भन्ने बारेमा बहस पनि छ।

Advertisement

यो आलेखमा चर्चा गर्न खोजिएको विषयवस्तु कुन समयको भन्दा पनि यस्ता कार्यहरू किन पटक्कै हुनुहुँदैन र स्टोरमा लामो हात गर्नु किन जायज होइन भन्ने विषयमा हो।

मूल सन्दर्भमा पस्नुअघि एउटा घटना सेयर गर्न चाहन्छु। करिब सात वर्षअघिको घटना हो। त्यतिखेर म कार्यरत कम्पनीमा एक जना महिला आइन्। उनी सिधै कम्पनीले छनोट गरेरभन्दा पनि थर्डपार्टी वा एजेन्सीबाट अस्थायी कर्मचारीका रूपमा आएकी थिइन्।

उनी काम मिहिनेतका साथ गर्थिन्। सँगै काम गर्नेहरूलाई पनि सहयोग गर्नुका साथै सबैसँग राम्रो व्यवहार गर्ने स्वभाव उनको थियो। रूपमा पनि सुन्दरी भएकाले सुपरभाइजरको नजरमा पर्न सफल भइन्।

अस्थायी रूपमा प्रवेश गरेका कर्मचारीको काम चित्तबुझ्दो भएमा केही समयपछि हायर गर्न सक्ने अधिकार कम्पनीले सुपरभाइजरलाई दिएको थियो। सुपरभाइजरले उनलाई स्थायी गर्ने प्रक्रिया थाले।

स्थायी गर्नका लागि सामान्य रूपमा अन्तर्वार्ता, ड्रग टेस्ट (कुनै लागूपदार्थ सेवन गर्ने गरेको छ/छैन भनेर रगत र पिसाब जाँच) का साथै ब्याकग्राउन्ड चेक अनिवार्य हुन्छ।

सबै प्रक्रिया सुरु भइसकेको अवस्थामा ती महिला एकाएक कार्यक्षेत्रमा देखिन छाडिन्। मलाई लाग्यो बिदामा बसेकी होलिन्। दुई हप्तासम्म देखा नपरेपछि त्यहीँ कार्यरत उनकी आमालाई सोधेँ।
“ऊ त ब्याकग्राउन्ड टेस्टमा पास हुन सकिन। त्यही भएर स्थायी हायर पनि हुन सकिन। ऊ काम नभएर घरमै बसिरहेकी छे,” उनकी आमाले भनिन्।

अमेरिकामा व्यक्तिगत जीवनको खोतल्नु निकै अशोभनीय मानिन्छ। तैपनि मैले निकै गाह्रो गरी सोधेँ, “उसको के समस्या थियो र ब्याकग्राउन्ड टेस्टमा पास नहुनका लागि?”
“अँ… धेरै पहिले वालमार्टबाट सामान चोरेको केस थियो। कोर्ट (अदालत) ले सफाइ पनि दिइसकेको थियो। खै के मिलेन! यसपटक पनि हायर हुन सकिन,” उनकी आमाले बताइन्। थप प्रश्न राख्न मन लागे पनि सोध्न सकिनँ मैले।

त्यसको एक वर्षपछि फेरि तिनै सुपरभाइजरले सिधै स्थायी गर्नका लागि प्रक्रिया सुरु गरे। तर त्यसपटक पनि उनी फेरि ब्याकग्राउन्ड चेकभन्दा अघि बढ्न सकिनन्। अर्थात् उनले काम पाउन सकिनन्। त्यसको दुई वर्षपछि बल्ल उनी ब्याकग्राउन्ड टेस्टमा पास भएर काम पाइन्।

अमेरिकामै जन्मेकी, त्यसमाथि शुद्ध गोरी महिला समेत स्टोरबाट सामान चोरीमा समातिएपछि काम पाउन त्यति समस्या भयो। जुन ठाउँमा ब्याकग्राउन्ड चेक हुँदैनथ्यो (साधारण स्टोर, रेस्टुरेन्ट) मा लामो समय काम गर्न पाइन्। ठूला कम्पनीहरू, जसले कर्मचारी/कामदारको पृष्ठभूमि मिहीन रूपमा खोज्छन् र कुनै पनि आपराधिक कार्यमा प्रहरीले समातेको, आर्थिक रूपमा टाट पल्टिएको व्यक्तिलाई काममा राख्दैनन्, त्यस्ता ठाउँमा काम गर्नका लागि क्लिन रेकर्ड अनिवार्य हुन्छ। विगतमा कुनै कार्य गरेर प्रहरीले समातेको र अदालतबाट सफाइ पाए पनि केही वर्ष अझै ट्रायलमा राखेर हेर्ने नीति ठूला कम्पनीहरूमा छ।

जसले गर्दा एकपटक क्राइममा परेका मानिसहरू अमेरिकामा रोजगारी नपाएर खोटो सिक्का जस्तै हुन पुग्छन्।

अब लागौँ मूल सन्दर्भतिर।
हुन त चोरी गर्नु संसारभरि नै गम्भीर अपराध हो। किनकि अरूको सम्पत्ति कि रकम तिरेर मात्र लिन पाइन्छ, या त कसैले दान दियो भने मात्र पाइन्छ। नत्र आफैँले लामो हात गरेर वा चोरेर लिनु नैतिक हिसाबले पनि गलत हो र कानुनी हिसाबले पनि संसारभरि दण्डनीय अपराध हो।

चोरी गर्नेतिर मानिसहरू नलागुन् भनेर नै अमेरिकामा यसलाई गम्भीर अपराधको दर्जामा राख्नुका साथै बिगो अनुसार लामो समयसम्म अपराधको रेकर्डमा राख्ने गरिएको छ। ब्याकग्राउन्ड चेकका क्रममा त्यो रेकर्ड देखिएपछि कर्पोरेट क्षेत्र त छाडौँ, मध्यमस्तरका कम्पनीहरूले पनि ती व्यक्तिहरूलाई रोजगारी दिन अस्वीकार गर्छन्।

अमेरिकामा राज्य अनुसार चोरीको केसमा कति सजाय हुने भन्ने फरक-फरक नियम छन्। तर अधिकांश राज्यहरूमा एक सय डलरसम्मको सामान चोरी गर्नेलाई पाँच सय डलर जरिवाना र क्रिमिनल रेकर्डमा राखिन्छ। त्यस्तै एक सय देखि सात सय पचास डलरसम्मको सामान चोरी गर्नेलाई ६ महिना जेल, दुई हजार डलर जरिवाना र क्रिमिनल रेकर्डमा राखिन्छ।

चोरीको बिगो अनुसार जरिवाना रकम मात्र होइन, जेल सजाय समेत बढ्दै जान्छ। क्रिमिनल रेकर्ड त चोरीको केसमा जतिसुकै परिमाणको भए पनि रहन्छ नै।

अमेरिकामा एकपटक चोरी गरेर पक्राउ परेका व्यक्तिलाई जागिर दिन, काममा लगाउन रोजगारदाताहरू मान्दैनन्। एकपटक त्यस्तोमा परेका व्यक्तिहरू समाजमा सबै ढोकाहरू बन्द हुने कारणले फेरि-फेरि पटकै चोरी वा आपराधिक घटनामा संलग्न भइरहन्छन्। हुन त सामाजिक कार्य, असल आचरणमा रहेको प्रमाणित गर्न सक्नेहरू रोजगारीमा प्रवेश गरेका उदाहरणहरू पनि धेरै छन्।

अमेरिकामा जन्मेकाहरू प्रति त अमेरिकी कानुन चोरीको घटनामा शून्य सहनशील छ भने आप्रवासीहरू चोरीमा संलग्न हुनु जत्तिको दुःखद घटना अरू केही हुन सक्दैन। आप्रवासीहरूले आफ्नो छवि असल काम देखाएर नैतिकवान्, चरित्रवान् र इमानदार भनेर प्रमाणित गर्नुपर्ने समय हो अहिले। तर उल्टो स्टोरहरूमा गएर श्रृङ्गारका सामान चोर्ने, विलासिताका सामानमा लामो हात गर्ने कार्यले आप्रवासीको इज्जत थपिँदैन, बरु व्यापक बदनामीमा सहायक हुन्छ।

नेपाली विद्यार्थी भनिएका भिडियोमा देखिएका ती दुई जनाको वर्तमान अवस्था के छ जानकारी भएन। तर यस्ता घटनामा मुछिएपछि जुनसुकै समय खतराको घन्टी बज्न सक्छ। त्यसैले, यो समय मात्र होइन, जुनसुकै समयमा अमेरिकामा बस्दा कानुनका हरेक साना पक्षहरूलाई पनि उल्लङ्घन नगरी बस्नु भविष्यका लागि पनि श्रेयस्कर हुनेछ।

खानै समस्या भयो भने बरु समुदायसँग हात फैलाउँदा हुन्छ। नजिकैका मन्दिर, चर्चतिर निःशुल्क रूपमा दाल, चामल, तरकारी लगायत उपभोग्य वस्तुहरू निःशुल्क बाँडिएको ठाउँमा गएर सहयोग लिनु कुनै अपराध होइन, न त हीनताबोध गर्नुपर्ने विषय नै हो।

तर चोरीको अभियोगमा पक्राउ परेर नेपाल डिपोर्ट हुनुपर्यो भने त्यसको बदनामी सारा परिवारले समेत खेप्नुपर्दा कस्तो होला? एकपटक गम्भीर भएर सोचौँ।

तपाईँ-हामी कोही पनि अमेरिका चोरी गर्न होइन, मिहिनेत गर्न र इमानदारिताका साथ कमाएर आफ्नो अनि परिवार, मातृभूमिको इज्जत राख्न आएका हौँ।