विचार / ब्लग

पुराना पुस्तक

पुराना पुस्तक

सात दशक पहिलेको नेपाली समाजको दर्पण-'बसाईँ'


‘बसाईँ’ उपन्यास पहिलो पटक कहिले पढेँ भनेर अझै ताजा छ । एसएलसी दिएर बसेपछि ६ महिना कुर्नुपर्थ्यो रिजल्टका लागि । ६ महिनाको लामो अवधि छुट्टी हुन्थ्यो, माघको सुक्खामा दिएको परिक्षाको नतिजा बाढी पहिरोको सिजनमा बल्ल सार्वजनिक हुनेगर्थ्यो। स्कूल सुरु गरेपछि लामो छुट्टी पाउने भनेको त्यही एसएलसी पछिका ६ महिना मात्र हुन्थे । नत्र त्यतिखेर बर्षे बिदा पनि ५० दिन मात्र हुन्थ्यो ।

गाउँकै कृष्णप्रसाद न्यौपाने (हामी ‘कृष्ण दाई’ भनेर संवोधन गर्थ्याैँ) क्याम्पस जान थालिसकेका थिए । उनी क्याम्पसको लाइब्रेरीबाट कथा, निवन्ध, उपन्यास, इतिहासका किताबहरु ल्याउँथे । त्यतिखेर संभवत किताब फिर्ता गर्नुपर्ने सीमा सात दिनको हुन्थ्यो । कृष्ण दाईले पढिसकेपछि म माग्थेँ । मोटामोटा भएपनि मैले बढीमा दुई दिनमै पढि सिध्याएर फिर्ता गर्थे । किताब हात परेपछि रातभरि नसुति भएपनि सिध्याउने बानी थियो मेरो ।

Advertisement

बसाईँ उनीबाट लिएर पहिलो पटक पढेको थिएँ । त्यसपछि दोस्रो पटक चाहि आफैँ क्याम्पसमा पढ्न थालेपछि आइए पहिलो वर्षमै ऐच्छिक हो या अनिवार्य नेपाली फेरि पढियो । तेस्रो पटक भने भरखरै पढि सिध्याएँ ।

केही महिना अघि मेरो दिमागमा एउटा अनौठो सनक चढ्यो । ५० वर्ष पुराना साहित्यिक कृतिहरु संकलन गर्ने । त्यसका त्यस्ता कृतिहरुको सूचि आफैंले बनाएँ, जो मलाई ‘यी चाहि ५० वर्ष पुगिसकेका हुन्’ भनेर जानकारी थियो । सुरुको चरणमा रुपमति, बसाई, एक चिहान, मन जस्ता कृतिहरु मगाएँ । नेपाल जानुभएको समयमा मित्र कृष्ण लोहनीजीले यी पुस्तकहरु ल्याइदिनुभयो ।

बसाई पढिसकेपछि केही लेख्न मन लाग्यो ।

यसलाई तेहेर्याएर पढिसक्दा आफ्नै वरिपरीको, आफ्नै गाउँ वल्लोपल्लो गाउँकै घटना पो हो कि जस्तो लाग्यो । किनकी गाउँका साहुहरुले सयकडा ६० सम्म व्याज लिएर गरीबहरुलाई उठीबास लगाएको, आसामीका परिवारले ज्याला समेत नपाई निशुल्क श्रम गर्नुपरेको, साहु र तिनका छोरा भाई भतिजाहरुले आसामीका छोरी बुहारीमाथि कुदृष्टि मात्र नभै दुर्व्यवहार गरिनु सामान्य हुन्थे ।

साहित्य मनोरञ्जनको माध्यम मात्र नभै जतिखेर लेखियो त्यो समयको वर्णन पनि हो । त्यो सेरोफेरोको समाज, परिवेश, संस्कार संस्कृति, भेषभुषाको चित्रण हो । त्यतिखेरको समाज देखाउने ऐना पनि हो साहित्य । बसाइ सात दशक अघिको नेपाली पहाडी समाज देखाउने एउटा ऐना हो ।

भारतको गुवाहाटीमा जन्मिएपनि नेपाली भाषा साहित्यमा दर्जनौ कृतिहरु दिएका लीलबहादुर क्षेत्रीले लेख्नुभएको, गाउँका साहु महाजन भनिने शोषक सामन्तीहरुबाट घरबास उखेलिएर अनिश्चित यात्रामा निस्किएकाहरुको कथा हो बसाई उपन्यास ।

लेखक क्षेत्रीले उल्लेख गरे अनुसार बसाइको लेखनी सन् १९५७ मा समाप्त भएको थियो । यस हिसाबले बिक्रम सम्वतमा ढाल्दा २०१४ साल हुन्छ ।

जुन आजभन्दा ७० वर्ष अघिको समाजलाई बसाईले देखाएको छ । पुस्तकको पहिलो संस्करण पनि २०१४ मै मदन पुरस्कार पुस्तकालयबाट भएको उल्लेख गरिएको छ ।

कुनै अज्ञात गाउँको धने, उसकी जहान मैना, उसकी बहिनी झुमाको दुःख, पीडा र साहुको अत्याचारको सेरोफेरोमा सिङ्गो बसाई उपन्यास सकिएको छ । दुध बेचेर ऋण निखन्ने र बालक छोरो आत भिजाउने अभिलासामा हलगोरु बन्धकी राखेर भैंसी किन्छ धनेले । दुध बेच्ने, एकाध वर्षमा पाडी व्याउने भएपछि त्यसलाई समेत बेचेर सुखी जीवन बिताउने सोमशर्माको सातुको कथा झै उसले सपना सँगालेको हुन्छ ।

तर जहाँ गहिरो, त्यही पहिरो भनेझै भैंसी ल्याएको दुई हप्ता नपुग्दै पाडी एक्कासी मर्छ । त्यस दिनदेखि धने र उसको परिवारको दशा सुरु हुन्छ ।

भैंसी फुकेर लेउते दमाईको बाली खाएपछि मुखियाको सभाले तीन मोहोर अर्मल तिर्नुपरेको घटनाले समाजमा गरिबले गरिबलाई माया दया सदभाव राख्ने भन्दा पनि गरिब आफ्नो पुरानो अवस्थाबाट माथि उकासियो भने उसले पहिलेका समान हैसियतका गरिबमाथि झनै थिचोमिचो गर्छन भन्ने सन्देशका पात्रका रुपमा लेउते दमाई, दोबाटे साहिलो उभिएको छ ।

पाडी मर्नु, गर्भवती भैंसी पनि तुहिनु, कालान्तरमा भैंसी किनेको ऋण तिर्न नसकेर बन्धकी राखिएको हलगोरु बैदार बुढाले फुकाएर लैजानुले धनेको जीवन दुःख पाउनका लागि मात्र यो धर्तीका आएको हो कि भन्ने पर्छ । जस्तोसुकै दुःख, वेदना लुकाएर लोग्नेलाई दुःखी देख्न नसक्ने उसकी देवी जस्ती पत्नी मैना भएपनि उसलाई एकपछि अर्को गर्दै दुःख दिएर भगवानले परिक्षण मात्र गरिरहेको हो कि भन्ने बसाईका पाठकहरुलाई पर्छ ।

गरिबका दुःख देख्न र सुन्न नसक्नेहरुका लागि हरेक पेजमा रुवाउने र आँशु झार्ने सन्दर्भहरु आइरहन्छन् ।

अझै झुमाको जीवनमा अनायास आएको रिकुटेका कारण परिवारनै छिन्नभिन्न हुनपुग्छ । रिकुटेले मुगलान लैजाने लोभ देखाएर झुमाको सतित्व लुट्छ, गर्भवती बनाउँछ र वेपत्ता हुन्छ । उसैत गरिब भएपछि समाजमा हेपिएको परिवार रिकुटेको चिनोका कारण समाजमा कसरी मुख देखाउने तनावमा पर्छ । त्यही झोकमा भाउजु मैनाले रिसमा बोलेको ‘यस्तो सहनुभन्दा त मर्नु नि’ भनेको वचन सहन नसकेर भीरबाट फाल हालेर आत्महत्या गर्न निस्किन्छिन् । तर झुमालाई एकतर्फी मन पराउने मोटेकार्कीले देखेर बचाउँछ र रातिनै गाउँ छाडेर अज्ञात ठाउँ जान्छन् ।

यसो गर्दा दुःखको सागरबाट पार पाइएला कि भन्यो, धने उतिनै गाडिदै जान्छ । अधियाँमा कमाउन लिएको खेतको व्याडमा साहुका छोराले भैंसी छाडेपछि उसको रिसको पारो नाघ्छ । रिसलाई सम्हाल्न नसकेर भैंसीमाथी कोदाली प्रहार गर्दा भैँसी तुहिन्छ । अनि एक हप्ता नबित्दै भैंसी पनि मर्छ । भैंसीको त्यो जरिवाना घरबारी बन्धकी राखेर तिर्छ । तर घरबारी निखन्न धने र मैनासँग कुनै उपाय हुँदैन ।

सधैभरि साहुको किचकिच र कुनै उपाय नलागेपछि घर, गाउँ, हुर्केको समाजनै छाड्ने निधो गर्छन दम्पत्तिले । भएभरको जायजेथा, गोठमा रहेका गोरु, बाख्रा, परेवा साहुको जिम्मा लगाउँदा उनीहरुलाई ७५ रुपैयाँ हात लाग्छ । त्यही रकम लिएर उनीहरु अज्ञात थलोतिर नयाँ भविष्यको लागि निस्किन्छन् ।

बसाई उपन्यासको सार गाउँका साहुहरुले गरिबमाथि गर्ने अत्याचार, शोषण हो । गरिब कसरी गरिबीबाट निरन्तर झर्दै पुर्खाको थातथलो, आफ्नो नाभी गाडेको भूमि छाड्नुपर्ने विवशतमा पुग्छ र गाउँका सामन्तहरु कसरी गरिबका जग्गा चोके, ठेके व्याजले च्यापेर जग्गा जमिन कव्जा गर्छन् भन्ने देखाइएको छ ।

अर्कोतिर शहरको मीठो सपनाको मोहमा परेर सोझा सिधा चेलीहरु रिकुटेहरुको जालमा पर्छन, सतीत्व लुटाएर घर न घाटको अवस्थामा पुग्न विवश हुन्छन् भन्ने झुमाको अवस्थाबाट देखाउन खोजिएको छ । गाउँले समाजमा खराबमात्र हुँदैनन्, असल चरित्र र सफा मन भएका मोटे कार्की जस्ता व्यक्तिहरु पनि हुन्छन् । जो अर्काको गर्भ समेत स्वीकारेर मानवता देखाउँछन् ।

बसाई पढ्ने पाठकहरुलाई सबैभन्दा भावुक बनाउने सन्दर्भ चाहि जब कुखुराको डाँकोमै कसैले थाहा नपाउने गरि घरबाट निस्किएर गाउँ छाड्ने क्रममा धने, मैना र सानो छोरा हुन्छन् त्यतिखेरको अवस्था साह्रै कारुणिक हुन्छ । मनमा जतिसुकै पीडा र आँखामा आँशु भएपनि मैनाले आफूले रोपेको तुलसीको विरुवामा ‘भोलीदेखि तिम्लाई कस्ले पानी देला र ?’ भन्दै पानी चढाएको, निस्किनै लाग्दा परेवा घुरेको सुनेपछि फेरि भित्र पसेर घैँटामा बल्लतल्ल फेला पारेको कनिका दिएको, गोठमा बाँधेको गोरुलाई मुसार्दै ‘आजबाट तिमीहरुका नयाँ मालिक आउँछन्, तिनलाई नहान्नु ।

सोझो भएर काम गर्नु’ भनेको र बाख्राका साना पाठाहरुलाई मुसारेर गाला जोडेको बर्णित दृश्यहरु पाठकलाई धरधरी रुवाउने सन्दर्भ हुन् ।
मैनाले आफू बिहे गरेर त्यो घरमा पसेदेखिका साथी बनाएकी ढिकी, जाँतो, घरका हरेक थामो, बलोलाई अँगालो हालेकी छिन् । सबै चिज, प्राणीहरुसँग उनको भावनात्मक सम्बन्ध गाँसिएको छ । त्यसैले उनी छाड्न सकिरहेकी छैनन् ।

बसाई एउटा उत्कृष्ठ सामाजीक उपन्यास हो । जुन कृति नेपाली भाषी हरेकका आफ्नो घरको बुककेसमा रहनुपर्छ । किनकी हाम्रा आउँदो पुस्तालाई हामीले हाम्रो संस्कृति मात्र होइन, हाम्रो साहित्य दिनुपर्छ । राजनैतिक इतिहासमा राजनीतिका कुरा उल्लेख हुन्छन्, आर्थिक इतिहासमा आर्थिक प्रसंगहरु हुन्छन् । तर साहित्यिक कृतिले त्यतिखेरको समाजलाई छर्लंग देखाउँछ ।

(अबदेखि हरेक १५ दिनमा ५० वर्ष पुराना कृतिहरु अध्ययन गरेर पाठक अनुभूतिका रुपमा प्रकाशित हुनेछ । पाठक वर्गलाई कुनै कृतिका बारेमा सुझाव दिन वा टिप्पणी पढ्न चाहना भएमा आग्रह गर्न सक्नुहुनेछ ।)