विदेशमा बस्ने नेपाली समुदायमा एउटा प्रश्न बारम्बार उठ्छ बच्चाहरु नेपाली सिक्नै खोज्दैनन्। करिव ८ वर्ष प्रवासमा नेपाली पाठशाला चलाएको मेरो अनुभवले लाग्छ – बच्चाहरुले नेपाली सिक्न छोडेका होइनन्, हामीले सिकाउने तरिका पुरानो भयो। सँगै अभिभावकहरुमा अर्को दोधार छ – हामीले आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउने कि नेपाली संस्कृति, संस्कार र पहिचान जोगाउने?
धेरैका लागि यी दुई फरक विषयजस्ता देखिन्छन्। तर गहिरिएर हेर्दा भाषा र नेपालीपन एकअर्कासँग जोडिएका नदीका दुई किनार हुन्। एउटा हरायो भने अर्को कमजोर हुन्छ, तर एउटा मात्र जोगाएर पनि पूर्ण पहिचान जोगिँदैन। आज यसैमा केन्द्रीत भएर कुरा गरौँ।
आज विश्वभर फैलिएको नेपाली समुदायका अभिभावकहरू एउटा जटिल चुनौतीसँग जुधिरहेका छन्। घरभित्र नेपाली बोल्ने वातावरण घट्दै गएको छ। दोस्रो पुस्ताका धेरै बालबालिकाले नेपाली बुझ्छन् तर बोल्न हिच्किचाउँछन्। कतिपयले नेपाली भाषा कठिन ठान्छन्। कतिपय अभिभावक स्वयं व्यस्त जीवनशैलीका कारण अंग्रेजीलाई प्राथमिकता दिन बाध्य छन्। यस्तो अवस्थामा प्रश्न उठ्छ, के हामीले भाषा गुमाउँदैछौँ कि आफ्नो नेपालीपन नै?
भाषा केवल संवाद गर्ने माध्यम होइन; भाषा एउटा सभ्यता बोकेको स्मृतिको भण्डार हो। आमाले बोलाउने बोल्ने “नानी” ले उहाँले बोलाउनु भएको अवस्था अनुसार छोरा वा छोरी जो पनि हुनसक्छ। भाषा भनेको नै यही हो। हजुरआमाले सुनाउने कथा, दशैंको टीका लगाउँदा दिइने आशीर्वाद, तिहारका भैलो र देउसीका शब्दहरू यी सबै भाषामार्फत पुस्तान्तरण हुन्छन्। भाषा हराउँदै जाँदा शब्द मात्र हराउँदैनन्, ती शब्दसँग जोडिएका भावना, अनुभव र सांस्कृतिक अर्थ पनि विस्तारै हराउँदै जान्छन्।
तर नेपालीपनलाई केवल नेपाली भाषासँग मात्र बाँध्नु पनि पूर्ण सत्य होइन। संसारका धेरै समुदायले आफ्नो भाषा कमजोर भए पनि आफ्नो सांस्कृतिक पहिचान जोगाएका उदाहरण छन्। उनीहरूले आफ्नो इतिहास, मूल्य, परम्परा, कला, खानपान, पारिवारिक सम्बन्ध र सामुदायिक भावना जोगाएका छन्। त्यसैले प्रश्न “नेपाली भाषा बचाउने कि नेपालीपन बचाउने?” भन्दा पनि “नेपाली भाषा र नेपालीपनलाई कसरी सँगसँगै जोगाउने?” हुनुपर्छ। प्राय: नेपाली समाजले मन्दिर निर्माण गर्ने र आफ्नो संस्कृति पुस्तान्तरण गर्ने अभियान सवैतिर चलाएका छन।
विदेशमा हुर्किरहेका नेपाली बालबालिकाले नेपाली भाषा सिक्नु महत्वपूर्ण छ। तर भाषा सिकाउने तरिका पनि समय अनुकूल हुनुपर्छ। भाषा बोझ होइन, सम्बन्धको पुल बन्नुपर्छ। जब बच्चाले नेपाली बोलेर हजुरबा–हजुरआमासँग कुरा गर्न सक्छ, नेपालको कथा सुन्न सक्छ, आफ्ना पुर्खाको इतिहास बुझ्न सक्छ, तब भाषा उसको पहिचानको हिस्सा बन्छ।
आजको पुस्तालाई केवल “नेपाली बोल्नैपर्छ” भनेर दबाब दिनुभन्दा “ नेपाली भाषा किन महत्वपूर्ण छ?” भन्ने बुझाउन आवश्यक छ। भाषा प्रेमबाट सिकिन्छ, डरबाट होइन। संस्कृतिको अनुभवबाट सिकिन्छ, केवल व्याकरणका नियमबाट होइन।
नेपालीपन भनेको दशैंमा टीका लगाउनु मात्र होइन। नेपालीपन भनेको ठूलालाई सम्मान गर्ने संस्कार, दुःखमा साथ दिने भावना, अतिथिलाई स्वागत गर्ने संस्कृति, आफ्नो इतिहासप्रति गर्व गर्ने चेतना र विविधताबीच एकताको भावना हो। यी मूल्यहरू नयाँ पुस्तामा हस्तान्तरण भए भने नेपालीपन जीवित रहन्छ।
प्रवासी नेपाली समाजका लागि यो चुनौती अझ गम्भीर छ। नेपालबाट टाढा हुँदा मातृभूमिको सम्झना झन् गहिरो हुन्छ, तर नयाँ पुस्ताका लागि नेपाल उनीहरूको प्रत्यक्ष अनुभव भन्दा बढी पारिवारिक कथाहरूमा बाँचेको हुन्छ। त्यसैले अभिभावक, विद्यालय, सामुदायिक संस्था र सांस्कृतिक केन्द्रहरूको भूमिका महत्वपूर्ण हुन्छ।
हामीले आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउँदा उनीहरूलाई केवल शब्द होइन, एउटा संसार दिइरहेका हुन्छौँ। तर भाषा सिकाउने क्रममा उनीहरूको वर्तमान संसारलाई पनि सम्मान गर्नुपर्छ। उनीहरू अमेरिकी, अस्ट्रेलियन, बेलायती वा अन्य देशका नागरिक भएर पनि नेपाली मूलका हुन। पहिचान बहुआयामिक हुन्छ र उनीहरुलाई त्यो बुझाउन सक्नुपर्छ।
नेपालीपन कुनै एउटा भौगोलिक सीमाभित्र बन्द भएको वस्तु होइन। यो समयसँगै विकसित हुने जीवित संस्कृति हो। आजको नेपालीपन हिजोको जस्तो मात्र हुन सक्दैन। विदेशमा जन्मिएको नेपाली बालबालिकाको नेपालीपनमा नेपाली भाषा, स्थानीय संस्कृति र विश्वव्यापी सोच सबै मिसिएका हुन्छन्।
त्यसैले हाम्रो लक्ष्य भाषा बचाउने मात्र होइन, भाषा हुँदै नेपालीपन बचाउने हुनुपर्छ। भाषा हाम्रो जराको पानी हो, तर नेपालीपन त्यो रूखको सम्पूर्ण अस्तित्व हो। जरालाई सिँचाइ गर्नुपर्छ, तर हाँगा–पातलाई पनि फैलिन दिनुपर्छ।
मेरो आफ्नै अनुभवले पनि यही सिकायो। ग्लोबल नेपाली पाठशालामा प्राचार्यका रूपमा कार्य गर्दा एउटा प्रश्नले मलाई निरन्तर घच्घच्यायो “यदि नेपाली विषय मात्र नभएर सिकाइको माध्यम बन्यो भने के होला?”
त्यही सोचका आधारमा नेपाली भाषालाई STEM, Coding र Project-Based Learning सँग जोड्ने प्रयास गरियो। कोडिङ सिकाउँदा विद्यार्थीलाई नेपालको विषयवस्तुमा आधारित वेबसाइट बनाउन लगाइयो। “नेपाल”, “हिमाल”, “लुम्बिनी”, “चाडपर्व”, “नेपाली खाना” जस्ता मेनु बनाएर उनीहरूले एकै समयमा कोडिङ पनि सिके, नेपाली शब्द पनि सिके, नेपालको भूगोल र संस्कृतिसँग पनि परिचित भए। त्यो अनुभवले एउटा स्पष्ट सन्देश दियो, बालबालिका नेपाली सिक्न तयार छैनन् भन्ने होइन; उनीहरू अर्थपूर्ण तरिकाले सिक्न चाहन्छन्।
यही कारणले हामीले “नेपाली पढाउने” होइन, “नेपाली मार्फत पढाउने” सोच विकास गर्नुपर्छ। जस्तै Coding नेपाली मार्फत, Science नेपाली मार्फत, Storytelling नेपाली मार्फत, Leadership नेपाली मार्फत, Artificial Intelligence नेपाली मार्फत इत्यादि।
नेपाल भाषा सिक्ने विषय मात्र होइन; सिकाइको सन्दर्भ बन्नुपर्छ।
यसका लागि केही नीतिगत परिवर्तन आवश्यक छन्। डायस्पोराका लागि छुट्टै Heritage Nepali Curriculum Framework तयार गरिनुपर्छ। अमेरिकामा जन्मिएका बालबालिका र नेपालबाट आएका बालबालिकाका लागि फरक सिकाइ मार्ग विकास गरिनुपर्छ। शिक्षक प्रशिक्षणमा Generation Alpha को सिकाइ मनोविज्ञान, द्विभाषिक शिक्षा, डिजिटल शिक्षण र परियोजनामूलक सिकाइ समावेश गरिनुपर्छ। मूल्याङ्कन केवल वर्ण चिन्न सक्यो कि सकेन भन्ने आधारमा होइन, भाषा प्रयोग, प्रस्तुति, सिर्जनशीलता, परियोजना र सांस्कृतिक सहभागिताका आधारमा गरिनुपर्छ। अभिभावकलाई पनि पाठ्यक्रमको साझेदार बनाइनुपर्छ, किनकि भाषा विद्यालयभन्दा बढी घरमा बाँच्छ।
अन्ततः प्रश्न “नेपाली भाषा बचाउने कि नेपालीपन बचाउने?” होइन। वास्तविक प्रश्न हो, हामीले आउने पुस्तालाई कस्तो नेपालीपन हस्तान्तरण गर्ने?
यदि भाषा प्रेम, संस्कृति चेतना र आधुनिक सोचसँग जोडियो भने नेपालीपन पुस्तौँसम्म जीवित रहनेछ। किनकि भाषा बोल्ने मानिस मात्र नेपाली हुँदैन; आफ्नो इतिहास सम्झने, संस्कृतिलाई सम्मान गर्ने र मानवीय मूल्यलाई जोगाउने मानिस पनि नेपाली हुन्छ।
(लेखक ग्लोवल नेपाली पाठशालाका पूर्व प्रिन्सिपल हुनुहुन्छ। )












प्रतिक्रिया