न्युयोर्क । मातृभूमि नेपालको सुनसरीलगायत मधेसका विभिन्न स्थानमा हालै देखिएको असहज परिस्थितिका सम्बन्धमा ग्लोबल सुनसरी समाज न्युयोर्कले चिन्ता व्यक्त गरेको छ ।
समाजले बुधबार एक विज्ञप्ति जारी गर्दै सुनसरी जिल्लाका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक सदभाव खलबलिने घटनाले समाजमा अशान्ति र वैमनस्यता बढ्ने भएकोले सबैमा संयममता अपनाउन अनुरोध गरेको छ । नेपाल बहुधार्मिक, बहुभाषिक मुलुक भएको र सदियौँदेखि सद्भाव र भाइचाराको सम्बन्ध रहिआएकोले सबै समुदाय तथा व्यक्तिलाई धैर्य र शान्त रहन अपिल गरिएको छ ।
समाजले कुनै पनि प्रकारका हिंसात्मक वा दुर्भाग्यपूर्ण घटनाले समाजमा असुरक्षा, अविश्वास र तनाव सिर्जना गर्ने भएकाले यसप्रति सबै पक्ष गम्भीर बन्न अनुरोध पनि गरेको छ । यस्तो संवेदनशील घडीमा सम्पूर्ण नागरिकलाई धैर्य रहन, अपुष्ट समाचार, अफवाह तथा उत्तेजनात्मक सामग्रीको प्रचार–प्रसार नगर्न तथा सामाजिक सद्भाव र आपसी भाइचारालाई प्राथमिकता दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालको विविधता हाम्रो साझा शक्ति हो’, समाजले भनेको छ, ‘त्यसैले कुनै पनि घटनालाई जाति, धर्म, भाषा, समुदाय सामाजिक सद्भाव, शान्ति खलबलाउने तरिकाले प्रस्तुत नगर्न र कानुनी शासन कायम गर्न मद्दत गर्नुपर्छ ।’
समाजले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकाय एवम् सरकारसँग आह्वान गरेको छ । साथै, पीडित तथा प्रभावित परिवारलाई आवश्यक सहयोग र सबैलाई न्यायको प्रत्याभूति दिलाउन आग्रह गरिएको छ ।












प्रतिक्रिया