प्रवासमा नेपालीभन्दा धेरै नेपाली संस्था छन् कि भन्ने मजाक निकै सुनिन्छ । अझ रमाइलो त के भने, एउटा संस्थामा चुनाव हारियो भने केही महिनामै अर्को संस्था जन्मिन्छ। संस्था नयाँ हुन्छ, तर अनुहार बासीनै हुन्छ।
अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय आज आर्थिक, शैक्षिक र व्यावसायिक रूपमा इतिहासकै सबभन्दा सवल अवस्थामा छ। यहाँ विश्वस्तरीय विश्वविद्यालयका प्राध्यापक छन्, अस्पतालका विशेषज्ञ चिकित्सक छन्, सफल व्यवसायी छन्, इन्जिनियर, वैज्ञानिक, सूचना प्रविधिका विज्ञ र नीति निर्माण तहसम्म पुगेका नेपाली पनि छन्। यस्तो समुदायसँग ज्ञान, अनुभव र क्षमताको कुनै कमी छैन।
तर एउटा प्रश्नले वर्षौँदेखि पछ्याइरहेको छ—
किन यति धेरै सफल, दक्ष र व्यावसायिक रूपमा स्थापित नेपालीहरू हाम्रो संघसंस्थाको नेतृत्वमा देखिँदैनन्? किन उनीहरू समाजका कार्यक्रममा सहयोग त गर्छन्, तर पदको दौडमा उत्रिन चाहँदैनन् ?
उत्तर सजिलो छैन, तर खोज्नैपर्ने विषय हो।
प्रवासमा संघसंस्था खोल्नुको उद्देश्य कहिल्यै पद बाँड्नु थिएन। उद्देश्य थियो—परदेशमा दुःख पर्दा आफ्नै मान्छे भेटियोस्, नयाँ आउने नेपालीले बाटो पाओस्, छोराछोरीले नेपाली भाषा बिर्सिन नपरोस्, दशैँ–तिहार, तीज र ल्होसारसँगै नेपालीपन पनि जीवित रहोस्। आवश्यक पर्दा नेपाल र नेपालीका पक्षमा एउटै स्वर उठोस्।
तर आज कतिपय अवस्थामा संस्था उद्देश्यले होइन, नेतृत्वको आकांक्षाले जन्मिन थालेको जस्तो अनुभूति हुन थालेको छ।
एउटा संस्थामा आफूले चाहेको पद पाइएन भने केही समयमै अर्को संस्था स्थापना हुन्छ। नाम नयाँ, विधान नयाँ, लोगो नयाँ—तर नेतृत्व उही। केही समयपछि फेरि अर्को संस्था। अनि फेरि अर्को। अन्त्यमा समुदायले संस्था गन्ने कि संस्थाले समुदाय गन्ने भन्ने अवस्था आउँछ।
अझ रोचक दृश्य त कुनै पनि नेपाली कार्यक्रममा देखिन्छ। कार्यक्रम जे होस्—सांस्कृतिक, धार्मिक, साहित्यिक, खेलकुद वा सामाजिक—अतिथि आसनमा बस्ने अनुहार प्रायः उही हुन्छन्। मञ्चमा बोल्नेहरू पनि उही, सम्मान ग्रहण गर्नेहरू पनि उही, तस्बिरमा देखिनेहरू पनि उही। नयाँ पुस्ता र नयाँ सोचलाई ठाउँ दिनुपर्ने ठाउँमा एउटै घेराभित्र नेतृत्व घुमिरहँदा धेरै सक्षम मानिसहरू स्वाभाविक रूपमा पछाडि हट्छन्।
कहिलेकाहीँ त समाजसेवाभन्दा मञ्चसेवा बढी महत्त्वपूर्ण भएको हो कि भन्ने अनुभूति पनि हुन्छ। यदि अतिथि आसनमा ठाउँ परेन, बोल्न समय दिइएन वा नाम छुट्यो भने कार्यक्रमको उत्साह नै हराउने अवस्था देखिन्छ। कसैले कार्यक्रम बीचमै छोडेर हिँड्ने, कार्यक्रम बहिष्कार गर्ने वा आयोजकप्रति असन्तुष्टि पोख्ने दृश्य समुदायले पटक–पटक देखिन्छ। समाजसेवा सम्मानबाट होइन, जिम्मेवारीबाट सुरु हुन्छ भन्ने सत्य हामीले बिर्सँदै त छैनौँ?
अझ दुःखलाग्दो पक्ष गुटबन्दीको संस्कृतिले जन्माएको मानसिकता हो। एउटा समूहले राम्रो काम गर्यो भने त्यसलाई राम्रो भन्नुभन्दा पहिले प्रश्न उठ्छ—“यो कुन समूहको कार्यक्रम हो?” त्यसपछि कामको मूल्याङ्कन होइन, समूहको आधारमा समर्थन वा विरोध सुरु हुन्छ। सकारात्मक कामसमेत राजनीतिक चश्माबाट हेर्ने प्रवृत्तिले समुदायलाई जोड्नेभन्दा बढी विभाजित गर्छ।
अमेरिकामा रहेको एनआरएनए लगायतका संस्थाहरू प्रवासी नेपालीहरूको साझा आवाज बन्नुपर्ने हो। तर विगतका वर्षहरूमा देखिएको नेतृत्व विवाद, गुटगत प्रतिस्पर्धा र नेपालका राजनीतिक दलहरूसँगको निकटताले धेरै ऊर्जा समुदाय निर्माणमा होइन, आन्तरिक विवादमै खर्च भएको अनुभूति धेरैले गरेका छन्। जब प्रवासमै हामी नेपालको दलगत र व्यक्तिगत स्वार्थमा विभाजित हुन्छौँ, तब नेपाल सरकारसमक्ष नागरिकता, लगानी, सामाजिक सुरक्षा वा अन्य साझा मागहरू एउटै स्वरमा राख्ने हाम्रो क्षमता पनि कमजोर बन्छ।
अंग्रेजीमा एउटा चर्चित भनाइ छ—“A little knowledge is a dangerous thing.” यसको अर्थ जान्नेभन्दा थोरै जाने मानिस खतरनाक हुन्छ भन्ने होइन। यसको सार के हो भने सीमित ज्ञानले कहिलेकाहीँ असीम आत्मविश्वास जन्माउँछ। नेतृत्व भने आत्मविश्वासले मात्र होइन, क्षमता, दृष्टि, विनम्रता र अरूबाट सिक्ने संस्कृतिले निर्माण हुन्छ।
जब आफ्नो क्षेत्रमा दशकौँ अनुभव भएका, अन्तर्राष्ट्रिय संस्थामा नेतृत्व गरिरहेका वा उच्च व्यावसायिक क्षमता भएका व्यक्तिलाई सुन्नुभन्दा निर्देशित गर्न खोजिन्छ, तब उनीहरू धेरैजसो मौन बस्न रुचाउँछन्। उनीहरू समाजबाट भागेका होइनन्; अनुत्पादक विवादबाट टाढा बसेका हुन्। किनकि उनीहरूलाई थाहा हुन्छ—समय सबैभन्दा ठूलो सम्पत्ति हो, र त्यो समय व्यक्तिगत अहंकारको राजनीतिमा खर्च गर्नुभन्दा अर्थपूर्ण काममा लगानी गर्नु उचित हुन्छ।
तर यति भन्दैमा सम्पूर्ण चित्र अँध्यारो भने होइन।
जब समुदायमाथि संकट आउँछ, कुनै नेपाली दुर्घटनामा पर्छ, कसैलाई उपचारका लागि सहयोग चाहिन्छ, नेपालमा भूकम्प वा बाढी आउँछ, वा कुनै परिवार अप्ठ्यारोमा पर्छ—त्यही समुदाय अभूतपूर्व रूपमा एकजुट भएको हामीले पटक–पटक देखेका छौँ। त्यतिबेला न गुट रहन्छ, न पद। रहन्छ त केवल नेपाली मन।
त्यस्तै, प्रचारभन्दा सेवा रोज्ने असंख्य स्वयंसेवकहरू आज पनि अमेरिकाभर छरिएर काम गरिरहेका छन्। उनीहरू सामाजिक सञ्जालमा धेरै देखिँदैनन्, मञ्चमा लामो भाषण पनि गर्दैनन्। तर सप्ताहन्तको आफ्नो आराम त्यागेर नेपाली भाषा कक्षा सञ्चालन गर्छन्। बालबालिकालाई नेपाली अक्षर सिकाउँछन्। सांस्कृतिक कार्यक्रमको पर्दापछाडि घण्टौँ खट्छन्। नयाँ आप्रवासीलाई घर खोजिदिन्छन्। बिरामीलाई अस्पताल पुर्याउँछन्। दुःखमा आर्थिक सहयोग जुटाउँछन्। उनीहरूका लागि समाज सेवा पदको विषय होइन, पुस्तान्तरणको जिम्मेवारी हो। उनीहरूलाई थाहा छ—हामीले जोगाएको भाषा, संस्कार र संस्कृतिले नै भोलि हाम्रो सन्ततिलाई आफ्नो पहिचान सम्झाउनेछ।
सायद अब समय आएको छ—संस्थाको संख्या होइन, संस्थाको गुणस्तर गन्ने। पदको उचाइ होइन, योगदानको गहिराइ नाप्ने। एउटै अनुहार दोहोर्याएर होइन, नयाँ पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्ने। आलोचनाको प्रतिस्पर्धा होइन, सहकार्यको संस्कृति विकास गर्ने।
समुदायलाई अझ धेरै संस्था आवश्यक छैनन्। समुदायलाई अझ धेरै विश्वास चाहिएको छ। किनभने इतिहासले पदाधिकारीहरूको सूची सम्झँदैन। इतिहासले सम्झने कुरा एउटै हो—कसले समुदायलाई जोड्यो, र कसले समुदायलाई विभाजन गर्यो।












प्रतिक्रिया