राजनीति-समाज

पार्टी एकता सहमतिउन्मुख : सभापति थापा

पार्टी एकता सहमतिउन्मुख : सभापति थापा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन्। पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज यहाँ भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बताएका हुन्।

सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गरेको दबाब अभियानका संयोजक ढुङ्गानाले जानकारी दिए। सभापति थापाले पार्टी एकताका लागि दबाब अभियानले यही साउन १६ मा आयोजना गर्न लागेको राष्ट्रिय भेलासमेत स्थगित गर्न आग्रह गरेका थिए।

Advertisement

उनले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सुष्मरूपले सहमतिको खाका बनाउन दुई जना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल एक-दुई दिनभित्र बन्ने जानकारीसमेत गराएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।

भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताबिना गाउँमा जनातालाई आशावादी बनाउन नसिकने र पार्टीको साख फर्काउन नसिकने बताएका थिए। उनीहरूले तत्काल पार्टी एकता गरेर आमजनतामा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिइएको भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए।

सभापति थापाले पार्टी एकता सहमतिमा भई कांग्रेस एक हुनेमा आश्वस्त तुल्याउनुभएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शङ्कर उपाध्यायले जानकारी दिए। “हाम्रो खबरदारी जारी रहन्छ, भेला के गर्ने भन्नेबारे साथीहरू थप छलफल गरेर निर्णय गर्छौं”, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले भने।

आज भएको भेटमा सङ्घका अध्यक्ष ढुङ्गाना, गाउँपालिका महासङ्घका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख कार्की, तिलागुफाका नगरप्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक सरोज अधिकारीलगायतको सहभागिता थियो।