विचार / ब्लग

कठै ! कत्ति पनि नसुहाएको यिनका विरोध

कठै ! कत्ति पनि नसुहाएको यिनका विरोध


बिक्रम सम्वत् २०५३/५४ सालतिरको सन्दर्भ हो । मेरो गृहजिल्ला नुवाकोटको सदरमुकाम विदुर तिर बरालिएर हिड्ने एक जना युवक एक दिन हतारिँदै भेट्न आइपुगे ।

‘दाई मैले रेडियो नेपालको प्रेसपास लिएर आएको छु । समाचार लेख्न सिकाइदिनुपर्यो र कार्यक्रमहरु हुँदा मलाई पनि सँगै लिएर जानुपर्यो’ उनले भने । म चकित परेँ । उनका पिता निर्माण व्यबसायी थिए । उनी पनि निर्माण व्यबसायी संघको अफिस तिर बरालिएर बस्थे । पत्रकारितामा न उनको अनुभव छ, न यो विषय उनले पढेकै हो, नत कुनै तालिमनै छ । नत रुचीको क्षेत्र थियो उनको । एक राष्ट्रियस्तरका नेताको निकट रहेका उनलाई तिनै नेताले जागिरका रुपमा रेडियो नेपालमा सिफारिस गरिदिएका रहेछन् ।

Advertisement

म त्यतिखेर फूलटाइम जागीरे उद्योग बाणिज्य संघमा थिएँ । सँगै काठमाडौंबाट प्रकाशित हुने श्री सगरमाथा दैनिक र दृष्टि साप्ताहिकमा पनि समाचार पठाउँथे ।

अहिलेजस्तो समाचार कम्युटरमा तयार गरेर इमेल गर्ने भन्ने कुरा राजधानीमा त थिएन, मोफसलमा हुने कुरै भएन । जिल्लाभरिमा केही सरकारी अफिसहरु (जिल्ला प्रशासन, जिल्ला विकास समिति, विदुर नगरपालिका) मा फ्याक्स थियो । संयोगले उद्योग बाणिज्य महासंघका तत्कालिन उपाध्यक्ष विनोदबहादुर श्रेष्ठले नुवाकोट उद्योग बाणिज्य संघलाई एउटा फ्याक्स मेसिन सहयोग गरेका थिए । त्यसले गर्दा प्रति पेज १० रुपैयाँ लिनेगरि उद्योग बाणिज्य संघले पत्रकारहरुलाई समाचार पठाउन दिने निर्णय गरेको थियो । जिल्लामा कृयाशील पत्रकारहरुको भीड साँझपख समाचार पठाउन उद्योग बाणिज्य संघमै लाग्थ्यो ।

त्यतिखेर राससमा मोहन बिक्रमध्वज जोशी, कान्तिपुरमा राजु थापा, गोरखापत्रमा लक्ष्मण श्रेष्ठ, हिमालय टाइम्समा राम श्रेष्ठ र म श्री सगरमाथामा थिएँ ।

रेडियो नेपालका ती नयाँ पत्रकारले ५/७ पटक हाम्रो समाचार सारेर पठाए । तर उनलाई के हेक्का थिएन भने प्रिन्ट मिडिया र रेडियोको समाचारको फरम्याट फरक हुन्छ भनेर । सारेको समाचार पठाउँथे र रेडियो नेपालमा खगेन्द्र खत्रीलाई फोन गरेर ‘दाइ जयनेपाल’ भन्दै समाचार पठाएको खबर गर्थे ।

उनले तीन महिना पनि रिपोर्टिंग गर्न सकेनन् । किनकी पत्रकारिता गर्नका लागि कि पढेकै हुनुपर्छ, नभए लगाव र रस पसेको हुनुपर्छ । जो पायो त्यही यो पेशमा रमाएर काम गर्न सक्दैनन् भन्ने देखेको छु । उनी अवधि पुरा नगरि निकालिए वा नसकेर छाडेका हुन् सोधीखोजी पनि गरिएन । बरु उनले उधारोमा उद्योग बाणिज्य संघबाट गरेको फ्याक्सको भुक्तानी नगरेपछि अडिटमा बेरुजु आयो । उनी मात्र होइन, जिल्लाका अन्य केही पत्रकारहरुले पनि गरेको फ्याक्सको भुक्तानी नदिएपछि आएको बेरुजु मैले त्यहाँ जागिर छाडेको एक वर्षपछि २०५६ सालमा आफ्नै पकेटबाट दुईहजार ६ सय रुपैयाँ तिरेर फर्स्याैट गर्न वाध्य भएँ । किनकी संघको कार्यसमितिले उधारोमा दिएमा त्यो उठाउने जिम्मा मेरै थाप्लोमा हालिदिएको थियो ।

जिल्लामा रहेर पत्रकारिता गरून्जेल सरकारी मिडियामा गाइजात्रा देखिन्थ्यो । नेपाल टेलिभिजन र रासस बाहेक गोरखापत्र र रेडियो नेपालका जिल्ला संवाददाताहरू तीन तीन महिनामा फेरिन्थे, कहिल्यै पत्रकारिता नगरेकाहरू म फलानो मिडियाको पत्रकार भन्दै कार्यालय प्रमुख थर्काउन पुग्थे । गोरखापत्रमा २०५५ सालपछि दिनेश अाचार्य संवाददाता भए । उनी गोरखापत्रको एकसय वर्षका अवसरमा पुरस्कृत पनि भए । उनी छउन्जेल नुवाकोटमा सरकारी मिडियाको राम्रै छाप पनि रह्यो ।

सन्दर्भ-२
२०५४ को स्थानीय निर्वाचन ताका म श्री सगरमाथा र दृष्टि साप्ताहिकमा समाचार पठाउँथे ।

त्यतिखेर रेडियो नेपालबाट चर्चित कार्यक्रम ‘घटना र विचार’ को संयोजक नरनाथ लुइटेल हुनुहुन्थ्यो । म आधिकारिक रुपमा रेडियो नेपाल र घटना र विचारको नुवाकोट प्रतिनिधि थिइन ।

तरपनि घटना र विचारका लागि उपयुक्त हुन्छ भन्ने लागेका समाचारहरु टिपाउँथे । इन्सेकमा कार्यरत रहँदा लुईटेलसँग भएको चिनजानीका कारण उहाँले विश्वास गर्नुहुन्थ्यो ।

जिल्लामा पत्रकारका रुपमा त्यतिखेर मुस्किलले पाँच जना थियौं । जिल्लाका केही नेताहरुसँग रेडियो नेपालमा प्रतिनिधि हुन चाहेको कुरा पनि राखिसकेको थिएँ मैले । किनकी सिस्टमनै यस्तो बसिसकेको थियो कि क्षमता, अनुभवले भन्दा पनि नेताले नभनिदिएसम्म सरकारी मिडियामा प्रवेश लगभग असंभव थियो ।

तर एक दिन नयाँ मान्छे आफुलाई रेडियो नेपालको प्रतिनिधि भनेर मसँग परिचय गर्न आइपुगे । आउनुको कारण चाहि दुईवटा थिएँ । पहिलो, पत्रकारिता गर्न सुरु गरेको दुई वर्षमात्र भएपनि मैले जिल्लामा एक हिसाबले पत्रकारको परिचय बनाइसकेको थिएँ । दोस्रो, समाचार फ्याक्स गर्न सहज पायक ठाउँ उद्योग बाणिज्य संघ थियो, त्यहाँ म कार्यालय सचिवका रुपमा कार्यरत थिएँ ।

मलाई ललीपप देखाएर काठमाडौंमा पढ्दै गरेको व्यक्तिलाई रेडियो नेपालको प्रतिनिधि बनाएको घटना पछि मैले जिल्लाका नेता महेन्द्र पाण्डे प्रतिको विश्वास ढल्यो । के लाग्यो भने यी नेताहरुले जुन्युइन मान्छे भन्दा आफ्ना हनुमान र कार्यकर्ता खोज्दा रहेछन् जता पनि ।

सुनेको थिएँ, उनी काठमाडौंको क्याम्पसमा पत्रकारिताको विद्यार्थी थिए । तर उनले पत्रकारिता भने गरेका थिएनन् । काठमाडौंमा क्याम्पस पढ्दै गरेका ती नयाँ साथीको पनि लोकन्द्रबहादुर चन्दको सरकार गिरेसँगै रेडियोको जागिर गयो । उनी पत्रकारिता गर्न नुवाकोट फर्किएनन् ।

यी माथिका दुई दृष्टान्त मैले किन उल्लेख गरेको भने एकजना कांग्रेसले बरालिएर हिडिरहेको युवालाई जागिर दिने नाममा सरकारी सञ्चार माध्यम रेडियो नेपाल जस्तो संवेदनशील निकायको पत्रकार बनायो । जो काम गर्न नसकेर हात उठाएर निस्किए ।

एमालेले जिल्लामा कृयाशीलको सट्टा काठमाडौंदेखि वफादारलाई जिल्ला ल्याएर पत्रकार बनायो । ती पनि टिकेर दीर्घकालसम्म पत्रकार हुन सकेनन् ।

सन्दर्भ-३
अब अमेरिकामा पत्रकारिताको प्रसङ्ग र भोगाइ । अमेरिका आइसकेपछि एकाध वर्ष म लो प्रोफाइलमै बसेँ । सेतोपाटी सुरु भएपछि किरण भण्डारीले मलाई झकझकाए । पछि सेतोपाटी अमेरिका संस्करणको त सम्पादकीय टिममै रहेर काम गरियो ।

जब टेक्सस झरेँ त्यसपछि हिमालयखबर अनलाइनमा आवद्ध भएर सामुदायिक पत्रकारिता गरिरहेको छु । पुर्णकालिन रुपमा परिवार पाल्न पत्रकारितासँग संबन्ध नरहेको काम गरेपनि पत्रकारिताको ह्याङ्गओभर बाँकी रहेकोले हिमालयखबरलाई पनि सँगै अघि बढाइरहेका छौँ ।

डेढ वर्ष अघि पारिवारिक जमघटमा पुराना मित्र सञ्जय घिमिरेजीले एउटा प्रस्ताव राख्नुभयो । उहाँले भन्नुभयो ‘राससको धमेन्द्र झाले एकजना संवाददाता ड्यालस जस्तो नेपाली समुदायको बाक्लो बस्ती रहेको ठाउँमा चाहियो भनेका छन् । तपाई इच्छुक हुनुहुन्छ कि हुनुहुन्न कुन्नि ? मैले त तपाईले गर्न सक्नुहुन्छ, लेखि पनि रहनुभएको छ भनेर कुराकानी गरेँ ।’ झा त्यतिखेर राससमा अध्यक्ष थिए ।

मलाई खासै चासो थिएन । किनकी म बिहान १० बजेदेखि राति १ बजेसम्म दुईवटा काम गर्थे । राससको संवाददाता हुने हो भने पार्टटाइम काम मैले छाड्नुपर्ने हुन्थ्यो । आर्थिक हिसाबले राससमा समाचार पठाएर पाइने रकम भन्दा पार्टटाइम कामबाट प्राप्त हुने सुविधा तुलना हुनै सक्दैनथ्यो । राससको भन्दा पार्टटाइम कामबाट प्राप्त हुने रकम धेरै होइन, निकै नै धेरै थियो ।

सञ्जयजीले पछि पनि दुई पटक यही कुरा राख्नुभयो । आर्थिक हिसाबले उपलब्धिमुलक पटक्कै छैन राससमा समाचार पठाउनु । तर पनि नेपालका कैयौं जिल्लाहरुको भन्दा बढी नेपालीको जनसंख्या रहेको टेक्ससबाट समाचार पठाउँदा यताको गतिविधि नेपालभरिका सयौँ मिडियाहरुमा एकसाथ प्रकाशित हुन्थ्यो । त्यसले गर्दा केही समय हेरौं न त कत्तिको समय दिन सकिन्छ र कन्टेन्ट दिन सकिन्छ भन्ने लागेर कुरा अघि बढाउन ग्रीन सिग्नल दिएँ ।

केही दिनपछि उहाँले ‘झासँग कुराकानी भैसकेको र एकपटक म आफैंले कुरा गर्नुस्’ भन्नुभयो ।

मेरो पनि कुराकानी भयो । उनले बायोडाटा (रेजुमी) पठाउन भने । उनले भने बमोजिम पठाएँ ।

केही दिनपछिको सम्पर्कमा झाले विदेशमा राखिने संवाददाताहरुको विषयमा राससले नीति बनाउन लागेको र त्यसै अनुसार राखिने भएकोले केही हप्ता कुर्न भने । मलाई लाग्यो हो पनि, किनकी संवाददाताको नियुक्तिमा नेपाली नागरिक भनिएको हुन्छ । तर अमेरिकामा आएर बसेका झण्डै ७५ प्रतिशतले यहीँको नागरिकता लिएका छन् । अमेरिकी नागरिकता लिइसकेपछि प्राविधिक रुपमा विदेशी नागरिक भइयो । त्यसका लागि नीतिगत परिवर्तन अवश्व चाहिन्छ ।

मलाई नीतिगत परिवर्तनको बहानामा कुराएर केही हप्तापछि झाले एकजना चिनजानकै साथीलाई प्रतिनिधि नियुक्त गरेछन् । ती साथीको क्षमतामा मेरो कुनै प्रश्न र शंका छैन । तर पनि मलाई झुलाएर स्पष्ट कुरा नगरि अर्का साथीलाई नियुक्ति दिँदा ठूलो राजनीति कारण रहेको कुरा बुझ्न कुनै रकेट साइन्स पढ्नु पर्दैन ।

मलाइ राससमा प्रतिनिधि नदिएकोमा एक रत्ति पनि गुनासो होइन । राससमा नियुक्ति दिइएको भए फेसबुकमा फुकिफुकी लेख्नुपर्थ्यो । मेरो स्वतन्त्रता कुण्ठित हुनेथियो । सरकार, मन्त्रीहरूको विषयमा केही लेख्न मलाइ कठिनाइ पर्थ्यो । किनकी एक हिसाबले म सरकार दानापानी पेटमा परेको वर्गमा पर्थे र आफ्नो इच्छा अनुसार लेख्न नैतिक रुपमा कठिनाई थियो । यथार्थता उल्लेख गर्नुपर्दा राससले एउटा समाचारलाइ भुक्तानी गर्ने पारिश्रमिक भन्दा त बरू एउटा स्टाटसबाट फेसबुकले दिने रकम धेरै हुन्छ ।

तर गुनासो कहाँ निर हो भने अमेरिका आएको १५ वर्षपछि पनि मलाई पुरानै राजनीतिको चस्माले जोखाना हेरियो । त्यही कारणले सरकारी सञ्चार माध्यमको ढोका बन्द गरियो । अनि अहिले प्रेस युनियन, चौतारी जस्ता कांग्रेस एमालेका भातृ संगठनहरुले वर्तमान मन्त्रीले पजनी र नियुक्ति गर्न खोज्दा राँडोरुवाई गरेर हुन्छ ?

सत्य नलुकाइ भन्ने हो भने नेपालमा नयाँ सरकार आएपछि सबैभन्दा सुरुमा सल्बलाउने वर्ग भनेको मोफसलमा पत्रकारिता गरिरहेका हुन् । नयाँ सरकार गठन हुनासाथ सञ्चार मन्त्री विगतमा जुन दलको भागमा पर्थ्यो, तिनले जिल्ला जिल्लामा आफ्ना पार्टीका कार्यकर्ता पत्रकारलाई जागिर दिएर कामको सुरुवात गरेको घटनाबाट बेखबर कोही छैनन् ।

यो कुनै नियम त थिएन र अहिले पनि छैन । तर एकखालको पद्धती बनिसकेको छ कि सरकार गठन हुनासाथ जिल्ला जिल्लामा राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यमहरुमा कार्यकर्ता पत्रकार नियुक्ति गर्ने ।

राष्ट्रिय स्वतन्त्र पार्टीको एकमना सरकार गठन भएर हनिमुन अवधि समेत पुरा गरिसकेको छ । लोकतान्त्रिक पद्धतीमा नयाँ सरकार गठन भएपछि एकसय दिनको अवधिलाई हनिमुन भन्ने गरिन्छ । हनिमुन पिरियडको समाप्तीसँगै सञ्चार मन्त्रालयले करार, अस्थायी रुपमा नियुक्त भएका सरकारी सञ्चार माध्यमका पत्रकारहरुको पजनी थाल्यो । तिनको ठाउँमा नयाँ नियुक्ति प्रकृया सुरु गर्यो । पहिले भन्दा व्यबस्थित, पारदर्शी र प्रतिस्पर्धी देखाउने नाममा विज्ञापन पनि खोल्यो । तर दुइ दिनको समय दिएर । हुनतः पहिलेनै कस्लाई नियुक्त गर्ने भनेर प्रि-सेट भैसकेको अवस्थामा दुई दिन पनि बढीनै समय हुन्छ । दुई घण्टा भएपनि प्रयाप्त समय हो त्यसका लागि ।

अबको केही दिनभित्रै वर्तमान सरकारलाई विगतमा सहयोग गरेका वा भविष्यमा कार्यकर्ता भएर सहयोगको किरिया खानसक्नेहरु धमाधम सरकारी सञ्चार माध्यममा नियुक्त भएर नयाँ पत्रकारको बिल्ला भिरेर जिल्लाजिल्ला देखि केन्द्रसम्म उदाउनेछन् ।

यो नयाँ होइन । बिक्रम सम्वत् २०४८ सालमा जननिर्वाचित सरकार गठन भएयता हरेक पटक नयाँ सरकार गठनसँगै देखिदै आएको दृश्य र भोगिदै आएको घटना हो । नयाँ सरकारले सरकारी सञ्चार माध्यममा पत्रकारका नाममा मोजमस्ती गरिरहेकालाई एउटा निर्णयका भरमा पजनी गर्ने र आफ्ना मान्छेलाई सो ठाउँमा भर्ने दृश्य हरेक पटक देखिने घटना हो ।

कांग्रेसका सञ्चार मन्त्री भएका समयमा प्रेस युनियन नामक भातृसंस्थाले जिल्ला जिल्लादेखि लिएर काठमाडौंसम्म आफ्ना सदस्यहरुको जागीरको भागवण्डा लगाउदै आएको थियो । यता एमालेका सञ्चार मन्त्री हुँदा प्रेस चौतारी नामक भातृ संस्था नियुक्तिका सल्बलाउँथ्यो । माओवादीका सञ्चार मन्त्री हुँदा पहिलेको क्रान्तिकारी पत्रकार संगठन वा अहिलेको प्रेस सेन्टर बहुतै सल्बलाउने गरेको तथ्य शायद कसैले बिर्सिएका छैनन ।

अहिले पनि सरकारले त्यही गरिरहेको छ । आफूलाई उत्पातै नयाँ गर्ने भन्ने यो सरकारले पनि गर्ने उहि तरिका हो । भर्ती गर्ने हुने भनेका कार्यकर्तानै हुन् ।

तर मलाई घोर चकित पार्ने घटना चाहि विगतमा आफूले गरेको त्यस्तै नियुक्तिमा जिन्दगीमा पत्रकारिताको नाममा समाचारनै नलेखेकालाई समेत नियुक्त गर्नेहरु अहिले विरोध गरेको देख्दा हो । केही दिन अघि प्रेस युनियन, जो कांग्रेस निकट हार्डकोर पत्रकारहरुको संस्था हो । युनियनका अध्यक्ष शिव लम्सालले पुराना पत्रकारहरुको रोजीरोटी खोसिएको भन्दै विरोध विज्ञप्ती जारी गरे । हिजोका दिनमा त्यही पोष्टमा कांग्रेस निकट पत्रकारहरु राख्न एमाले, माओवादी निकटलाई गलहत्याइएको थियो । अनि एमाले र माओवादीले पनि कांग्रेस निकट पत्रकारहरुलाई हटाएर आफ्ना कार्यकर्ता पत्रकार नियुक्त गरेका थिए । यो चक्रीय प्रणाली २०४८ सालदेखिनै घुमिरहेको छ ।

पत्रकार महासंघ जस्तो छाता संगठन हुँदाहुँदै २०४८ जेठमा कांग्रेसको भातृ संस्थाको रुपमा प्रेस युनियन गठन हुनुको कारण सरकारी सञ्चार माध्यममा हुने नियुक्ति भागबण्डा लगाउनु मात्रै थियो । पछि २०५३ मा एमाले निकट पत्रकारहरुले प्रेस चौतारी पनि त्यस्तै कामका लागि खोले । माओवादीले क्रान्तिकारी पत्रकार संगठन खोलेको पनि पत्रकारहरुको हकहितका लागि भन्दा सरकारी सञ्चार माध्यममा आफू निकटलाई जागिर ख्वाउनका निम्ति थियो।

सरकारी सञ्चार माध्यमहरु झर्रो नेपाली शव्दमा भन्नुपर्दा ‘बाटाको मादल’ जस्तो भएका छन् । को कतिखेर अाउँछ, ड्याम्म मादल ठोक्छ र हिँड्छ ठेगान छैन । त्यहाँ अधिकांशमा पत्रकारिता गर्न होइन, जागिर खाने मानसिकताले गाँजेको छ । नत्र भने राससका पत्रकार किन समाचार लेख्न छाडेर राष्ट्रपतिको सल्लाहकार, प्रधानमन्त्रीको प्रेस सहयोगी, मन्त्रीको सल्लाहकार टिममा जागीर खान जान्छन् ? पत्रकार भएपछि त समाचारलाइ नै कर्मक्षेत्र बनाएर रमाउन पर्ने होइन र ?

मन्त्रीले पनि आफ्नो कार्यकाल छउन्जेलका लागि कार्यकर्तालाई अमेरिकी जनजीब्रोको शव्द ‘इजीमनी’ जागिर दिने पद्धती केही दशकदेखि बस्दै आएको हो । इजीमनी भनेको कुनै परिश्रम बिना सित्तैमा अर्थात सजिलोसँग पाइने रकम हो ।

प्रेस युनियन, प्रेस चौतारीले पजनीको विरोध गरेको देख्दा उनीहरुको विगत फर्किएर हेर्न सुझाव दिन मन लाग्यो । जुन संगठनको भरजन्म अर्जुनदृष्टिनै सरकारी सञ्चारमाध्यममा नियुक्ति दिलाउने रह्यो, तिनले विरोध गरेको देख्दा चकित पर्नुभन्दा अर्को बाँकी केही रहेन ।

यिनले आफ्नो सत्ता र शक्ति हुँदा गर्नु पर्ने के गरेनन् र नगर्नुपर्ने के गरियो भनेर ऐना हेरुन् । कांग्रेस, एमाले, माओवादीका पत्रकार भातृ संस्थाका होल टाइमर कार्यकर्ताहरुले पत्रकारिता गरेनन्, तर पत्रकारिता बाहेक सबथोक गरेका छन् । भरखरै चौतारीका एक नेता बहुविवाहमा जेल परेका छन् । अब यो भन्दा बाहेक के भनिरहनु पर्ला र ?