टेक्सस

नेपाली समाजद्वारा स्कुल डिस्ट्रिक्टसँग अन्तरकृया

नेपाली समाजद्वारा स्कुल डिस्ट्रिक्टसँग अन्तरकृया


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले आइतबार स्थानीय स्कुल डिस्ट्रिक्टका पदाधिकारीहरु र समुदायबीच अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

टेक्ससमा नेपाली समुदायका बालबालिकाहरु सबैभन्दा धेरै रहेको भनिएको हर्स्ट युलेस बेडफोड (एचइबी) स्कुल बोर्डका सुपरिटेण्डेण्ट र बोर्ड अफ ट्रष्टीले नेपाली समुदायबाट राखिएका चासोको जवाफ दिएका थिए ।

Advertisement

कार्यक्रमको सुरुवातमा नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसाल र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा बस्नेतले दुबै अतिथिहरुलाई नेपाली ढाकाको टोपी लगाएर स्वागत गरेका थिए । कार्यक्रममा स्कूल डिस्ट्रिक्टका विकासका गतिविधि, नयाँ निर्माण र २१ औं शताव्दीको माग अनुकुलको शिक्षाका लागि भैरहेका कार्यहरुका बारेमा सुपरिटेण्डेण्ट डा.जो हेरिङ्गटनले जानकारी दिएका थिए ।

एचइबी स्कुल डिस्ट्रिक्टमा हाल २३ हजार दुईसय १६ विद्यार्थी रहेको जानकारी दिनुहुँदै डा. जो ले यो वर्षको बजेट दुइ करोड ५० लाख डलरको रहेको उल्लेख गरे । यो वर्ष सरकारी बण्डका कारण प्रायः सबै स्कुल भवनहरु नयाँ बनाउन सुरु भएको र शैक्षिक सामाग्रीहरुमा पनि निकै लगानी गरिएको उनले बताए ।

एचइबी डिस्ट्रिक्टको बजेट मध्य ५२ प्रतिशत कर र ४४ प्रतिशत राज्यको अनुदानबाट रहेको त्यस समयमा जानकारी दिइयो । यो डिस्ट्रिक्टमा पर्ने घरधनीहरुले आफ्नो घरको कर तिर्दा प्रति एकसय डलर मूल्यांकनमा ७० सेन्ट स्कुललाई तिर्छन् ।

कार्यक्रममा स्कुल डिस्ट्रिक्टका बोर्ड अफ डा.जोन बिगनले पनि समुदायले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

त्यस अवसरमा युलेस सिटी काउन्सिल सदस्य टीका पौडेलले आफ्ना बालबालिकाहरुलाई स्कुल पठाएर मात्र नभै स्कुलका गतिविधिहरुमा पनि चासो राख्न समुदायका सदस्यहरुसँग आग्रह गरेका थिए ।

कार्यक्रम निकै फलदायी र सूचनाप्रद भएको प्रतिकृया सहभागीहरुको रहेको थियो ।