लबक, टेक्सास — विश्वभर हरेक वर्ष जून १४ का दिन विश्व रक्तदाता दिवस (World Blood Donor Day) उत्साहका साथ मनाइन्छ। यसै दिन ब्लड डोनर्स अफ अमेरिका (Blood Donors of America–BDA) ले पनि आफ्नो स्थापना दिवस “बिडिए डे” का रूपमा विभिन्न कार्यक्रम गरी अमेरिका भरि मनाउने गरेको छ।
यस वर्ष जून १४ आइतबार परेको र स्थानीय ब्लड बैंक बन्द रहने भएकाले, सो अवसरलाई लक्षित गर्दै नेप्लिज सोसाइटी अफ लबक (NSL) र ब्लड डोनर्स अफ अमेरिका (BDA) को संयुक्त आयोजनामा जून १३, शनिबार रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम भाइटालेन्ट ब्लड सेन्टर (Vitalant Blood Center), लबक मा सञ्चालन हुनेछ।
सामुदायिक सेवामा सक्रिय NSL र BDA ले विगत लामो समयदेखि सहकार्य गर्दै रक्तदान अभियान सञ्चालन गर्दै आएका छन्। सन् २०१४ मा BDA को स्थापना भएयता NSL र BDA को सहकार्यमा झण्डै ५० वटा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यस्ता कार्यक्रमहरूले रक्त अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउनुका साथै नेपाली समुदायमा सामाजिक उत्तरदायित्व र मानवसेवाको भावना प्रवर्द्धन गर्दै आएका छन्।
आयोजक संस्थाहरूले रक्तदान गर्न इच्छुक सम्पूर्ण समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई जीवनरक्षक अभियानमा योगदान दिन आग्रह गरेका छन्। “रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै आयोजित यस कार्यक्रममा सहभागी भई मानवताको सेवामा हातेमालो गर्न सबैलाई अनुरोध गरिएको छ।
रक्तदानजस्तो पुण्य कार्यमा सहभागी भई अरूको जीवन बचाउन सकिने भएकाले आयोजकहरूले सबैलाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन्।












प्रतिक्रिया