अमेरिका समाचार

एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरको समिक्षा बैठक सम्पन्न

एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरको समिक्षा बैठक सम्पन्न


एकता, सदस्यता विस्तार र पारदर्शीतामा विशेष जोड

Advertisement

अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(एनआरएनए, एनसिसि), अमेरिका, म्यासाच्युसेट्स च्याप्टरको समिक्षा बैठक सम्पन्न भएको छ। बैठकले गत अगस्ट १७ र १८, २०२५ मा सम्पन्न संघको निर्वाचन पश्चात् खुम गुरुङ(राजु)को नेतृत्वमा दुइ वर्षीय कार्यकाल (२०२५-२७) का लागि गठित नयाँ कार्यसमितिले हालसम्म व्यतित भएको आफ्नो करिब १० महिना अवधिको समिक्षा गरेको हो।

च्याप्टरका सल्लाहकारहरुसहितको समिक्षा बैठकले यस अवधिका लागि लक्ष्य गरिएका क्रियाकापहरु सफलतापूर्वक सम्पन्न भएको ठहर गरेको छ। बैठकमा च्याप्टर अध्यक्ष गुरुङले च्याप्टरले गरेका क्रियाकलापहरुका बारेमा प्रकाश पारेका थिए। सिमित श्रोत साधनकाबीच पनि समुदाय, कार्यसमिति, सल्लाहकारहरु, सदस्यहरु तथा सहयोगीहरुको संयुक्त प्रयासले आयोजित कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्न सकिएको बैठकको निश्कर्ष रहेको थियो।

बैठकमा ‘एक पटकको नेपाली, सधैका लागि नेपाली’ भन्ने संस्थाको मूल अभियानलाई थप सशक्त रुपमा उठाउनु पर्ने, प्रवासी नेपालीहरु लाभान्वित हुने खालका समुदाय केन्द्रीत क्रियाकलाहरु गर्नमा जोड दिनु पर्ने, एनआरएनएहरुबीचको फुटलाई निरोत्साहित गर्दै एकता हुनुपर्नेमा जोड दिदै सक्रियता, संस्थागत पारदर्शिता, सदस्यता विस्तार, जिम्मेवारी हस्तान्तरण, संस्थागत तथा सदस्यहरुको वृत्ति विकास लगायत विषयहरुमा केन्द्रित भएर व्यापक विचार विमर्श गरिएको थियो।

बैठकको दौरानमा अध्यक्ष गुरुङले वर्तमान कार्यसमितिले आफ्नो बाँकी कार्य अवधिमा संघको च्याप्टरमा आबद्ध सदस्य संख्यालाई दुई गुणा बढि बनाउने लक्ष्य सहित अभियान सञ्चालन गरिने, बढिभन्दा बढि युवाहरुलाई समेटिने, स्वास्थ्य, खेलकुद, नेपाल र नेपाली पहिचान केन्द्रीय क्रियाकलापहरु गर्नमा जोड दिइने र विगतदेखि गर्दै आइरहिएका क्रियाकलापहरुलाई निरन्तरता दिइने लगायत प्रमुख योजनाहरु रहेको बताए।

बैठकमा सहभागी सल्लाहकारहरुले उक्त प्रस्तावित योजनाहरु समुदायका लागि निकै महत्वपूर्ण र प्रभावकारी हुने बताउदै संस्थाको श्रोत साधनका आधारमा समुदायको आवश्यकताहरुको प्राथमिकीकरण गरेर गतिविधिहरु गर्नु पर्नेमा जोड दिएका थिए। उनीहरुले आफूहरुलाई सल्लाहकार जस्तो गरिमामय पदमा मनोनीत गरेर जिम्मेवारी सुम्पिएकोमा कार्यसमितिलाई धन्यवाद दिदै संस्थाको हितार्थ सक्दो सहयोगी भूमिका निर्वाह गर्न सक्रिय रहने प्रतिबद्धता जाहेर गरेका थिए।

यसैबीच, कार्यसमितिले मनोनीत च्याप्टरका सल्लाहकारहरुप्रति सम्मान भाव प्रकट गर्नुका साथै प्रमाणपत्र प्रदान गरेर औपचारिक रुपमा स्वागत गरेको थियो।