अमेरिका, बोस्टन। नेपाल र नेपालीहरुको गौरवपूर्ण गाथा र पहिचान बोकेको चन्द्र र सूर्य अंकित नेपाली राष्ट्रिय झण्डा अमेरिकाको म्यासाच्युसेट्स राज्यमा पर्ने स्थानीय सरकारी कार्यालय ‘समरभिल सिटि’को प्राङ्गणमा झण्डोत्तोलन गरिने भएको छ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि नेपाली नयाँ वर्ष बि.स. २०८३ सालको प्रारम्भको अवसर पारेर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,(एनआरएनए, एनसिसि), अमेरिका, म्यासाच्युसेट्स च्याप्टरको नेतृत्वमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्न लागिएको हो।

एनआरएनए, एनसिसि, अमेरिकाका केन्द्रीय अध्यक्ष सतेन्द्र साहको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी सुरु गरिसकिएको एनआरएनए, एनसिसि, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष खुम गुरुङ(राजु)ले जानकारी दिए। नेपाली हुनुमा गर्व गर्दै नेपाल र नेपालीप्रति श्रद्धा अर्पण गर्ने र नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध स्थापनाका लागि यथासक्य योगदान पुर्याउने कार्यक्रमको मूख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रम आयोजकका अनुसार उक्त कार्यक्रम सिटि अफ समरभिल र एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरको संयुक्त आयोजनामा यही आउदो अप्रिल १२,२०२६ आइतवार दिनको २ बजेदेखि ४ बजेसम्म समरभिल सिटिको प्राङ्गणमा हुनेछ।
अध्यक्ष गुरुका अनुसार उक्त कार्यक्रममा एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष सतेन्द्र साह र समरभिल सिटिका मेयर ज्याक विल्सनले संयुक्त रुपमा नेपालको झण्डा झण्डोत्तोलन गर्ने भएका छन्। प्रवासी नेपालीहरुका लागि निकै महत्वपूर्ण र गौरवपूर्ण रहेको उक्त कार्यक्रममा सहभागी भइदिन च्याप्टर अध्यक्ष गुरुङले सम्पूर्ण न्यू इङ्गल्याण्डवासी प्रवासी नेपालीहरुलाई अनुरोध गरेका छन्।
नेपाली समुदायको उल्लेखनीय बसोबास रहेको यस समरभिल सिटि कार्यालयसंग नेपाली समुदायको लामो समयदेखि संस्थागत सम्बन्ध कायम रहदै आएको छ। ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)ले समरभिल सिटिको साथ र सहयोगमा सन् २०१२ बाट ‘नेपाल उत्सव (Nepal Festival) मनाउन सुरु गरेको थियो। बिचमा विविध कारणले रोकिएको कार्यक्रम सन् २०१७ मा दोस्रो, सन् २०१९ मा तेस्रो र सन् २०२२ मा चौथो ‘नेपाल उत्सव’ कार्यक्रम सम्पन्न गरेको थियो।
त्यसैगरी, केही वर्ष अघिदेखि हरेक वर्ष समरभिल सिटि र एनआरएनए, म्यासाच्युसेट्सको संयुक्त आयोजनामा नेपाली सांस्कृतिक पर्व(Nepali Cultural Festival) कार्यक्रम पनि गरिदै आइरहिएको छ। यसका अतिरिक्त समरभिल सिटीले मुख्य कामकाजी भाषा अङ्ग्रेजी रहे पनि सहयोगी भाषाका रुपमा नेपाली भाषालाई पनि मान्यता दिदै आएको छ।












प्रतिक्रिया