मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
विचार / ब्लग    

के बालेन विद्वान हुन्?

के बालेन विद्वान हुन्?


यो प्रश्न बालेन शाहलाई लक्षित देखिए पनि भित्रभित्रै यसले हाम्रो राजनीतिक चेतको रिपोर्ट कार्ड मागेको छ । हामीले आजसम्म विद्वान कसलाई भन्यौँ?

जो संसदमा ठुला स्वरले घण्टौँ बोल्छ—विद्वान।

Advertisement

जो भाषणमा अंग्रेजी र हल्का फुल्का संस्कृत मिसाउँछ—विद्वान।

जो देश सुधार्ने योजना सुनाउँछ, तर पार्टी सुधार्न ‘अर्को दशक’ लगाउँछ—विद्वान।

जो आफैँ भ्रष्टचार गर्छ र आफैँ  “छानबिन समिति” बनाउँछ— उ झन् ठूलो विद्वान।

यदि यही विद्वत्ता हो भने नेपाल त विद्वानले भरिएको देश हो। यहाँ हरेक सरकार विद्वान थियो, हरेक मन्त्री अनुभवी थियो, हरेक भ्रष्टाचार “प्रक्रियागत कमजोरी” मात्र थियो। यि विद्वानहरुले चलाएको देश कस्तो थियो भनेर खासै दिमाग घुमाउनु पर्दैन ।

देशको आधा युवा विदेश।

सार्वजनिक जमिन निजी।

भ्रष्टाचार काण्ड नियमित।

र हरेक काण्डपछि उस्तै विद्वान अनुहार, भाषण उही,  “दोषिलाई कारबाही गर्छौँ।” बिचरा दोषि नै उ आफु छ, कस्लाई गरोस् कारबाही ? 

यदि यही विद्वत्ता हो भने बालेन किन चाहियो?

बालेन आएपछि काठमाडौंमा चमत्कार भए? हैन। सबै समस्याहरू हल भए? होइन। तर एउटा अनौठो कुरा भयो— नियम लागू हुन थाल्यो। फुटपाथ फुटपाथ जस्तै देखिन थाल्यो। नदी नदी जस्तै बग्न थाल्यो। र कार्यालय कार्यालय जस्तै देखिन थाल्यो।

यो देखेर धेरै विद्वानको मन दुखेको हुनुपर्छ ।

जब पहिलेका विद्वानले काठमान्डौका फुटपाथ कब्जा गराए, त्यो विकास भयो। जब बालेनले फुटपाथ खाली गराए,त्यो गरिबमाथि अत्याचार भयो। यही हो हाम्रो विद्वत्ताको मापदण्ड। किनकि यहाँ नियम गलतले तोड्दा विकास हुन्छ, ठीकले लागू गर्दा अत्याचार।

अहिले केहि हुल विद्वानहरु खित्का छाडेर हाँस्दै छन्,

“मेयरबाट प्रधानमन्त्री?”

“अनुभव छैन!”

“कूटनीति थाहा छैन!”

“बोल्ने ढङ छैन!”

तर एउटा सानो तथ्य सम्झौँ—

अनुभव भएका प्रधानमन्त्रीहरूले हामीलाई यहाँसम्म ल्याएका हुन्। प्रधानमन्त्री धेरै भए। देश भने उही रह्यो। प्रधानमन्त्री बन्नु बोल्ने ढङ  र अनुभवको कुरा होइन। प्रधानमन्त्री बन्नु गलतसँग नझुक्नु  हो। आज धेरै मानिस बालेनमा त्यही नझुक्ने स्वभाव देख्छन्। त्यसैले सत्ता डराउँछ, र जनता उसैको चासो राख्छ।

अहिले केही पुराना इन्क्टेलेक्चुअल भनिएका लेखक,कलाकार,पत्रकार, बुद्धिजीवीहरू “कता मोडिँदै छ देश?” भनेर बालेन समर्थकलाई गिज्याइरहेका छन् । तर सत्य के हो भने, उनिहरुको यो चिन्ता धेरैलाई निष्पक्ष भन्दा पार्टी–निकटता जस्तो देखिन्छ। उनिहरू वर्षौँसम्म उही सत्ताको वरिपरि बसेर, पुरस्कार/पहिचान/मञ्चको स्वाद लिएर, देश बिग्रिँदा पनि “सन्तुलित टिप्पणी” को नाममा मौन रहे; अहिले जनता नयाँ विकल्प खोज्न थालेपछि अचानक “लोकतन्त्र खतरा” को प्रवचन सुरु भएको छ। डर पनि स्वाभाविक हो—किनकि सत्ता फेरिएपछि केवल मन्त्रीहरू होइन, सत्ता वरिपरि बनाइएको उनिहरूको सुप्रिमेसी र पहुँच पनि हल्लिन्छ। त्यसैले उनिहरुलाई बालेन वा उनका समर्थक होइन, पुरानो संरचना जोगाउनुपर्ने बाध्यता बढी देखिन्छ। यदि उनिहरू साँच्चै निष्पक्ष हुन्थे  भने, प्रश्न “कता मोडिँदै छ देश?” होइन—“नेपाललाई यहाँसम्म कसले ल्यायो?” बाट सुरु गर्थे ।

पछिल्ला केहि दिनहरुमा नेपालमा पुराना पार्टिले देशको धुमधाम  बिकास गरेका छन्, बालेन लुसिफर प्रबृतिका मानिसहरुले सामाजिक संजालमा धेरै फ्रस्टेसन्, आवेग र असन्तुष्टी पोखेका मात्रै हुन् भनेको पनि पढ्न/ सुन्न पाईयो । यो विश्व बैंककै डेटा हेरौँ ।

नेपालको जिडिपी पर क्यापिटा (देशको कुल उत्पादन लाई जनसंख्याले भाग गर्दा आउने, औसतमा एक व्यक्तिको हिस्सामा पर्ने आर्थिक मूल्य ) १९९० मा करिब $१८६ थियो भने  , २०२४ मा $१,४४७ पुगेको छ।

बंगलादेशको  जीडीपी पर क्यापिटा १९९० मा $२८३ थियो भने , २०२४ मा $२,५९३ पुगेको छ। 

भियतनामको  जीडीपी पर क्यापिटा १९९० मा करिब $९९ थियो भने , २०२४ मा $४,७१७ पुगेको छ।

अर्थात् बंगलादेश नेपालभन्दा करिब ७९ % र  भियतनाम नेपालभन्दा करिब २२६ % अगाडि छन ।

हामीसँगै बिकास  सुरु गरेका यि देशहरू धेरै अघि बढे, नेपाल आज पनि उनीहरूभन्दा निकै पछाडि छ,  ३० वर्षको विकास भनेर गर्व गर्नु लाजको कुरा हो।

अब बालेन तिर फर्कौँ ।

बालेन पात्रको उदय नेपालमै सीमित छैन।

अमेरिकाको न्यूयोर्कजस्तो शहरमा पनि जोहरान ममदानीजस्ता नयाँ पात्र आए। पुरानो राजनीतिक खेलाडिहरुले  उनलाई दबाउन खोजे । पहिले  “अनुभव छैन” भनियो। तर थाकेको शहरले नयाँ भाषा खोजिरहेको थियो। 

नेपाल पनि थाकेको देश हो। 

अब गगन थापाको कुरा नगरौँ भन्ने हो भने लेख अधुरो हुन्छ। गगन योग्य छन्। बोल्न जान्दछन्। सुधार चाहन्छन्। तर पार्टीभित्र सुधार गर्न उनलाई दशक लाग्यो। त्यतिन्जेल जनताको धैर्य सकियो। यही धैर्य सकिएको ठाउँमा

बालेन उभिएका छन्।

भारी मन बनाएर आज लेख्दैछु ।

 “सरि गगन अंकल ‘यु आर लेट’”! 

बालेनले जे गर्दा पनि शतप्रतिशत सही हुन्छ भन्ने होइन। उनमा हजारौँ कमी कमजोरी छन् होला,  

तर फरक के छ भने— उनी काम गर्न खोज्छन्। नियमको आधारमा चल्न खोज्छन्।

उनि मेयर हुँदा  फुटपाथ, सार्वजनिक ठाउँ, कर–अनुगमन, विद्यालयको निगरानी जस्ता विषयमा उनले खाली भाषण भन्दा काम देखाउन खोजे । उनले एउटा कुरा सबैलाई देखाइदिए,  नेपालमा समस्या ‘नियम छैन’ भन्ने होइन, ‘नियम लागू हुँदैन’ भन्ने हो।

अब फेरी विद्वानहरु तिरै फर्कौँ  ।

तीन दशक सत्ता चलाएर आज पनि उही अनुहारहरू फेरि चुनावमा आउँदैछन्
अनि हामीलाई उपदेश दिँदैछन्—  “अब हामी सुधार गर्छौँ।”

सुधार कहिले? 

अब?

तीन  दशकसम्म उनीहरू अभ्यासमै रहेछन्, अब चाहिँ साँच्चै नै नतिजा दिने रे! अनि हामीले पत्त्याइदिनुपनी पर्ने !!

तपाईहरु पनि अझै उहि पुरानै विद्वान खोज्दै हुनुहुन्छ भने, केहि काण्डहरु सुनेर दिल खुस गर्नुहोस् । 

ललिता निवास जग्गा काण्ड- हाल सर्वोच्च अदालतले मन्त्रिपरिषद् निर्णयमा संलग्नहरूबारे अनुसन्धानको बाटो खोलेको छ। नक्कली भुटानी शरणार्थी काण्ड- पूर्वमन्त्रीठूला दलका नेताहरू नै अभियोगको घेरामा परेका छन्। न्यारो–वाइडबडी (नेपाल एयरलाइन्स) काण्ड- सीआईएएले  पूर्वमन्त्रीसहित धेरैमाथि भ्रष्टाचार मुद्दा दायर गरेर अनुसन्धान गर्दैछ । 

यति हुँदा पनि, उही दलका उही नेताहरू फेरि चुनावमा किन?

किनभने उनीहरूलाई लाग्छ—

जनताले  बिर्सिन्छन्।

जनता फेरि भावनामा बग्छन्। 

नेपाली  हुन्, ईमोसनल भैहाल्छन् । 

तर अब फेरी हामिलाई ईमोसनल हुने छुट छैन !

अन्त्यमा एउटा सिधा कुरा।

बालेन विद्वान हुन्?

सायद होइन। तर उनले हामीले पूजा गर्दै आएको झुटो विद्वत्तालाई नाङ्गो बनाइदिएका छन्।

हामीलाई कस्तो नेता चाहिएको हो?

सबैलाई मिलाएर देश बिगार्ने भाषणका विद्वान? कि केहीलाई असहज बनाएर नियम लागू गर्ने अविद्वान?

देशलाई नयाँ  ‘अडान’ चाहिएको बेला, धेरैसँग पुराना ‘बहाना’ मात्र छ, त्यसैले बालेन आज अगाडी देखिन्छन्।

यो बालेनको महानताको कथा होइन।

यो हाम्रो पुरानो विद्वत्ताको असफलताको कथा हो।

र त्यो स्वीकार्नु परिवर्तनको पहिलो पाइला हो। ईतिश्री:

शेयर गर्नुहोस:

2.3k
Shares