भाले मेवाको रुख देख्नु भएको छ? ठुलो उचाइ, हाँगा भरिएको, हरियो पातले भरिभराउ। त्यो रुख हेर्दा लाग्छ, अब चाहिँ फल पाक्ने भयो। तर जुनसुकै ऋतु आए पनि, त्यो रुखले फल दिँदैन। फूल न फल, बस्, उभिन जान्ने हरियो कठपुतली।
यो रुख जति निष्फल र बेकार बिरुवा अरू बिरलै हुन्छन पृथ्वीमा। न यसको काठले घरको ढोका बन्छ, न झ्यालको चौखट, न त बैठकको कुर्सी नै। काटेर काम चलाउँला भन्यो हाँगा नै लल्याक लुलुक छन्, आत्मा नै खुकुलो।
जाडोमा तातिन आगो बालौँ भन्यो भने, यो रुख बरु कुहिएर जान्छ आगो समाउने त परको कुरा । यसले न भोक मेटाउँछ, न मनको चिसो हटाउँछ, न त अभावको अँध्यारो उज्यालो पार्छ। हेर्नलाई राम्रो तर काममा बेकार ।
हो, ठ्याक्कै त्यहि रुख जस्तै हो एनआरएनए । गैरआवासीय नेपालीहरूको नाममा उभिएको एउटा संस्था, जसको स्वरुप ठुलो छ, उपस्थिति घना, तर उपलब्धि?
२००३ अक्टोबर ११ मा काठमाडौंमा गम्भीर अनुहारका केही प्रवासी नेपाली नेताहरु भेला हुन्छन । उनीहरूले ठूलो सपना देख्छन्, संसारभरि छरिएका नेपालीहरूलाई एक शुत्रमा बाँध्ने, नेपालमा लगानी ल्याउने, दोहोरो नागरिकता सुनिश्चित गर्ने, आदी ईत्यादी । तर दुई दशक बितिसक्दा पनि यो सबै मुद्दा अझै सपनानै रहन्छ ।
सरकारले गैर आवासीय नेपाली नागरिकता दिईसकेको छ त कसरी सपना मात्रै भो भन्नुहोला । बैंकमा खाता खोल्न नमिल्ने, मालपोतमा जग्गा किनबेच गर्न नमिल्ने कागजको खोस्टो कम्तिमा मेरो लागि चै नागरिकता होईन । तपाईं पनि आफ्नो भ्रम पखाल्नुस्, आजसम्मका लागि यी सबै हाउगुजी हुन् ।
म अहिले पछिल्लो एनआरएनए चुनावको काण्ड बारे बोल्न चाहन्न। साँच्ची भन्नुपर्दा त्यो विषयमा समय खर्च गर्नु भनेको भाँडाकुटीको खेलमा राजा को बन्ने भन्ने झैँ हो। सबै पात्रहरू पहिल्यै सेट छन्, कुन गुटको नेता कुन पदमा बस्ने, कसले कति मतदाता बनाउने, कस्को कती भोट छ ? – सबै स्क्रिप्टेड । यही मेसोमा केही दिन अघि काठमाडौंमा “युनिटी कन्भेनसन” भन्दै एनआरएनए नेताहरुले फेरी एकपटक चर्कैसँग लोक हँसाए ।
अधिकांश एनआरएन अभियन्ताहरु आफ्ना व्यक्तिगत लाभको योजना बोकेर हिँडेका छन्। “गैरआवासीय नेपालीहरूको हित” भन्ने सन्दर्भ भाषणको पहिलो मिनेटमा हुन्छ । तर त्यसपछि आफ्ना व्यापारिक प्रोजेक्ट, होटल खोल्ने योजना, भोज भतेर जस्ता एजेण्डाहरुले स्थान पाउँछ । हो, सबै त्यस्ता छैनन् । केही सचेत, समर्पित व्यक्ति पनि छन्, तर दुर्भाग्यवश यती थोरै समर्पित व्यक्तिले संस्था चल्दैन ।
एनआरएनएको वेबसाइट खोल्दा, नीतिगत कागजपत्रको थुप्रो देखिन्छ। एउटा भन्दा अर्को उखानजस्तो दस्तावेज। रिपोर्ट लेखिन्छ, मिडियामा फोटो खिचिन्छ, उच्च स्तरीय बैठक हुन्छ, तर ‘फल’ भने उही भाले मेवाको रुख जस्तै, शुन्य ।
दुई दशकसम्म कुनै सरकारसँग ठोस नीतिगत सहमति गर्न नसकेको संस्थाले अब प्रवासी नेपालीको समस्या के बुझ्ला र समाधान के गर्ला? अझ विडम्बना, प्रवासीहरूका वास्तविक समस्या – आप्रवासन झन्झट, कानुनी सहयोग, सामाजिक सुरक्षा, यी सबै कुरा पाँचतारे होटलहरुक बैठक कोठामा कहिले प्रवेश नै पाएनन्।
यो लेख लेखिरहँदा म फेरि सोच्छु, के यो संस्था यथार्थमा प्रवासी नेपालीहरूको हितका लागि हो? वा बस एक यस्तो क्लब हो, जहाँ अभियान्ताहरु एकअर्काको खुट्टा तान्दै, आफू ‘पर्फेट लिडर’ साबित गर्न दौडमा छन्?
अन्त्यमा: भाले मेवाको रुख हेर्दै फलको सपना देख्नु भनेको हरेक चुनावपछि नेता सुध्रिने आशा गर्नु जस्तै हो । भाले मेवाको रुख जस्तै, एनआरएनए पनि उचाइमा ठुलो छ, हरियाली देखिन्छ, तर फल चाहिँ कहिल्यै कसैले चाख्न पाएका छैनन् । हामी प्रवासी नेपालीहरू यही संस्थाबाट फलको आशा राख्ने कि अब अर्को विकल्प सोच्ने? समयले नै बताउला । तर जबसम्म यो संस्था स्वार्थ, राजनीतिक प्रभाव, र देखावटी भाषणभन्दा माथि उठ्दैन, त्यो चाहिँ यथार्थमा भाले मेवा “फल नलाग्ने रुख” नै रहिरहनेछ। तथास्तु !
प्रतिक्रिया