राजनीति-समाज

ओली र लेखकलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

ओली र लेखकलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा छाड्ने रिहा गर्ने निर्णय भएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो ।

सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय भएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले बताए ।

Advertisement

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरू चैत १४ मा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा चैत २५ भन्दा पछि हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको आदेशपछि उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागिएको हो । थपिएको पाँचदिन भित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो । “जिल्ला अदालतबाट मिति २०८२।१२।२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चान् अर्थात् तेस्रोपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ,” आदेशमा भनिएको छ ।

अभियुक्तहरूको बयान कार्य सम्पन्न भइसकेको र अनुसन्धानका काम पूरा भएकाले थुनामा राख्न नपर्ने कारण देखिएको आदेशमा उल्लेख छ । ओली र लेखकमाथिको कसुरअनुसार प्रत्यक्षदर्शीको बयान पनि नभएको हुँदा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ अनुसार छाड्न लागिएको हो । (संहिता) २०७४ को दफा १५ अनुसार हाजिरी जमानीमा छाड्ने तयारी भएको छ । दफा १५ अनुसार हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने व्यवस्था रहेको छ ।

उक्त दफाको उपदफा (१) मा भनिएको छ –यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखीरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिइ वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौट वा जमानत लिइ वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ ।” उपदफा (२)मा मुद्दा चलाउने अवस्थामा उपस्थित हुनेगरी कागज गराएर छाड्न सकिने व्यवस्था गरिएको छ ।

सोही व्यवस्थाअनुसार ओली र लेखकलाई छाड्न लागिएको हो । उनीहरु चैत १४ गते बिहानै पक्राउ परेका हुन् । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँको क्षति भएको हुँदा त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक हुनुपर्ने आरोप उनीहरुमाथि छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले तयार पारेको प्रतिवेदनमा उनीहरुलाई १०–१० वर्षसम्मको सजाय हुन सक्नेगरी कारबाहीको सिफारिस गरिएको छ । सोही सिफारिसका आधारमा ओली र लेखक पक्राउ परेका थिए ।