ड्यालस (अमेरिका) । टेक्ससको ड्यालस फोर्टवर्थमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारबाट प्रदान गरिने सेवाहरुका निम्ति अनलाइनबाटै बुकिङ्ग गर्न सकिने थप हुन लागेको छ ।
मन्दिरबाट हिन्दु तथा बौद्ध धर्म संस्कृतिसँग संबन्धित कृयाकलापहरुका निम्ति सेवाग्राही भक्तजनहरुले अनलाइनबाटै बुकिङ्ग गरेर सेवा लिन सकिने व्यबस्था हुन लागेको जानकारी आइतबार सम्पन्न साधारण सभामा दिइएको छ । मन्दिर कार्यसमितिका सूचना प्रविधि संयोजक जीवन घिमिरले यो जानकारी दिएका हुन् ।

‘आउँदो एक महिनाभित्र हामीले सदस्य बन्ने, मन्दिरका सेवाहरु (गाडीपूजा, हल बुकिङ्ग, नयाँ सदस्यता, अपग्रेड, पण्डित पुरोहितको सेवा, अन्य प्रायोजन लगायतका सेवाहरु अनलाइनमा गएर बुकिङ्ग गर्न सकिने व्यबस्था सुरुवात गर्दैछौ’ उनले भने -‘गाडीपूजाका लागि आउन चाहनेले अनलाइनमा गएर आफूले चाहेको मिति र समय बुकिंग गर्ने र सोही अनुसार तोकिएको समयमा आउँदा सेवाका लागि कुरिरहनु पर्दैन ।’
साधारण सभामा गत वर्ष मन्दिरले सम्पन्न गरेका कार्यहरु र भावी कार्यक्रमका बारेमा महासचिव लक्ष्मी पौडेल अधिकारीले चर्चा गर्दै सन् २०२६ का प्रस्तावित कार्यक्रमहरू, धर्म संस्कार, संस्कृति र नयाँ निर्माणका बारेमा प्रकाश पारिन् । मन्दिरले सन् २०२६ मा सदस्यता विस्तार, बौद्ध बिहार निर्माणका लागि अघि बढाउने र आउँदो शनिबार मन्दिर तथा बिहार निर्माणस्थलमा भूमिशोधन पूजा आयोजना गर्न लागिएको समेत त्यस अवसरमा जानकारी दिइयो ।
त्यस अवसरमा कोषाध्यक्ष दिनेश न्यौपानेले गत वर्षको आम्दानी खर्चको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन एकमतका साथ पारित भएको छ ।
साधारण सभाले नेपाली समाज टेक्ससले मन्दिर निर्माणका लागि प्रदान गर्न लागेको पाँचलाख डलरको सहयोग र आपसी सम्झौतालाई समेत साधारण सभाले अनुमोदन गरेको छ । सम्झौता अनुसार नेपाली समाज टेक्ससले मन्दिरलाई तत्कालै पाँचलाख डलर प्रदान गर्ने र आगामी पाँचवर्षभित्र बार्षिक ४० हजार डलरका दरले निरन्तर सहयोग गर्ने उल्लेख छ । सो वापत मन्दिरले नेपाली ग्लोबल पाठशालाका लागि कोठाहरु उपलव्ध गराउने जनाइएको छ ।
त्यस अवसरमा मन्दिर कार्यसमिति अध्यक्ष सीता सापकोटा बस्नेतले समाजलाई जोड्ने काम गरिरहेको उल्लेख गर्दै सबैको सहयोग प्राप्त भएमा केही वर्षभित्रै भव्य र नेपाली समुदायले गर्ने मन्दिर, बिहारको निर्माण पुरा हुने बताइन् ।
मन्दिर बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारीले सदस्यहरुबाट आएका जिज्ञासाको जवाफ दिँदै समुदाय दत्तचित्त भएकोले मन्दिर निर्माण समयमै पुरा हुने विश्वास व्यक्त गरे ।
मन्दिर तथा बिहार प्रोजेक्ट डेभलपमेन्ट समितिका संयोजक निरज श्रेष्ठले बन्न लागेको मन्दिर र बिहारको डिजाइन प्रस्तुत गर्दै निर्माण पुरा भैसकेपछि आउँदो ५० वर्षका लागि नेपाली समुदायको ठूलो आवश्यकता पुरा हुने विश्वास व्यक्त गरे ।
साधारण सभाले विधान संशोधन समितिका संयोजक भीम कार्कीद्वारा प्रस्तुत प्रस्तावित विधान संशोधन सहित पारित गरेको छ ।
साधारण सभामा सहभागीहरुले मन्दिर र बिहारको निर्माणमा भैरहेको ढिलाईका कारण, सदस्यता विस्तार लगायतका विषयमा चासो र जिज्ञासा राखेका थिए ।













प्रतिक्रिया