बोस्टन, अमेरिका। नेपाली पात्रो अनुसार यस वर्षको ‘तमु ल्होछार’ आउदो पौष १५ गते अर्थात डिसेम्बर ३० तारिख मङ्गलवारका दिन परेको छ। नेपाल लगायत विश्वभर छरिएर रहेका गुरुङ समुदायले विविध कार्यक्रमहरु गरी आफ्नो विशेष पर्व ‘तमु ल्होछार’ हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका छन्।
यसै सिलसिलामा विगतमा झैं यस वर्ष पनि अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका गुरुङ समुदाय पनि आफ्नो विशेष पर्व ‘तमु ल्होसार’ को अवसरमा विशेष कार्यक्रमको आयोजना गरी ‘२४औं बोस्टन तमु ल्होछार’ भव्यताका साथ मनाउन तयारीमा जुटिरहेको छ।
‘मनै नेपाली, तनै नेपाली !
कला-संस्कृतिमा, धनी नेपाली !
भन्ने मूल नाराका साथ मनाउन लागिएको उक्त ल्होछार कार्यक्रम, यही आउदो जनवरी ३, २०२६ शनिवार साँझ 400 Cardinal Medeiros Avenue, Cambridge स्थित Saint Anthony Parish Hall मा गर्ने गरी तयारीलाई तिब्रता दिइएको आयोजकले जनाएको छ।
तमु ल्होछार पर्व भव्यताका साथ मनाउन आवश्यक तयारीमा बोस्टन तमु समाज जुटिरहेको अध्यक्ष रोबिन गुरुङले बताए। कार्यक्रमका बारेमा जानकारी दिदै अध्यक्ष गुरुङले कार्यक्रमको मुख्य उद्देश्य नेपालमा रहेका विभिन्न जातजातिहरुको भाषा, धर्म, चाड पर्व, भेषभुषा, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्नुका साथै मनोरञ्जन गर्दै आपसी भाइचाराको सम्बन्धलाई थप कसिलो र रसिलो बनाउने रहेको बताए।
अध्यक्ष गुरुङले कार्यक्रम गुरुङ समाजको विशेष चाडको अवसरमा आयोजना गरिने भएतापनि, सबै जातजाति भाषाभाषी नेपालीहरुका लागि खुला रहेको बताए। उनले ‘२४औं तमु ल्होछार’ कार्यक्रममा सहभागी भइदिन सबैलाई अनुरोध गर्दै निमन्त्रणा समेत गरेका छन्।
नेपालीपन र पहिचान झल्किने गरी आयोजित विविध सांस्कृतिक क्रियाकलापहरु सहितको उक्त तमु ल्होछार विशेष कार्यक्रममा, स्थानीय कलाकारहरुले आकर्षक साङ्गीतिक प्रस्तुतिहरु पस्किने छन्। कार्यक्रमको दौरानमा विभिन्न नेपाली जातजातिहरुले आफ्नो समुदायको पहिचान झल्काउने झाँकी समेत प्रदर्शन गर्ने तयारी गरिरहेको अध्यक्ष गुरुङले जनाए। कार्यक्रममा विगतमा झैं यस वर्ष पनि नेपाली स्वादका विभिन्न स्वादिष्ट परिकारहरुको व्यवस्था गरिने भएको छ। कार्यक्रममा सहभागिताका लागि आयोजकले प्रवेश शुल्क स्वरुप अग्रिम टिकट खरिद गर्नका लागि प्रति व्यक्ति ४५ डलर र कार्यक्रम स्थलमा किन्नका लागि ५५ डलर टिकट दर तोकेर टिकट बिक्री खुला गरिसकेको छ।

साँझ ६ बजेबाट सुरु भइ राती ११ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा, १० वर्ष मुनीका बालबालिकाहरुलाई भने नि:शुल्क प्रवेशको व्यवस्था गरिने आयोजकले जनाएको छ। अध्यक्ष गुरुङले जनाए अनुसार, उक्त कार्यक्रमको दौरानमा संस्थाका सल्लाहकार सरदमणि गुरुङको रचना एवम् सङ्गीत रहेको, सपनाश्री परियार र जगदीश समालको स्वरले सजिएको बोस्टन तमु समाजद्वारा निर्मित दुइ वटा गीत सार्वजनिक गरिने भएको छ।
चाइनिज पात्रो अनुसार १२ वर्षलाई एउटा चक्र मानेर हरेक वर्ष १२ वटा छुट्टा छुट्टै जनावरहरुका आधारमा नाम राख्ने गरिन्छ। तिब्बती बौद्धमार्गीहरुले वर्ष दिन भरी तमु या तालो ल्होछार, सोनाम ल्होछार र ग्याल्बो ल्होछार गरी तिन प्रकारको ल्होछार मनाउने गरेको पाइन्छ। जो नेपालमा पनि प्रचलित छ। यसै सिलसिलामा यस पटक गुरुङ समुदायले ‘‘सप्ह्री ल्हो(सर्प वर्ग)वर्षलाई विदाइ गर्दै त ल्हो (घोडा वर्ग) वर्षलाई स्वागत गर्दै छ।











प्रतिक्रिया