ड्यालस (अमेरिका) । नेपालको चितवनबाट टेक्ससको ड्यालस फोर्टवर्टमा आएर बसोबास गर्दै आएकाहरुको वनभोज सहितको सांस्कृतिक कार्यक्रम आइतबार ग्रेपभाइनमा सम्पन्न भएको छ ।
एउटै जिल्लाबाट आएका नेपालीहरुबीच सहयोग आदान प्रदान र भाईचारा वृद्धि गर्न गत वर्षदेखि सुरु भएको यो पिकनिकको दोस्रो संस्करण आइतबार भएको हो । कार्यक्रममा एकहजारको हाराहारीमा चितवनबासी तथा अन्य जिल्लाबाट आएका चितवनबासीका आफन्त तथा नातेदारहरुको सहभागिता थियो ।
कार्यक्रममा चितवनको मौलिक संस्कृति थारुनाच, पञ्चेबाजा समेत प्रस्तुत गरिएको थियो । यस्तो पिकनिकले एक आपसमा नजिक बनाउन र सहयोग आदान प्रदान प्रभावकारी हुने आयोजकहरुले बताएका छन् ।
ड्यालस फोर्टवर्थमा हजारौँ नेपालीहरु रहेको र एउटै पिकनिक आयोजना गरेर सबैलाई समेट्न कठिन हुने भएकोले जिल्लागत रुपमा पिकनिकहरु हुँदै आएका छन् । आयोजक समितिका टीका पौडेलले नेपालमा भरखरै गएको चाडपर्व र परिवारको न्यास्रो मेटिने गरि पिकनिक आयोजना गरिएको बताए । पिकनिकमा खाना तथा मनोरञ्जन पूर्ण रुपमा निशुल्क व्यवस्था गरिएको थियो ।
कार्यक्रमका क्रममा आयोजना गरिएको डोरी तान्ने प्रतियोगितामा पश्चिम चितवन (टिकौली भन्दा पश्चिम) ले पूर्बी चितवनलाई पराजित गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।













प्रतिक्रिया