अमेरिका, बोस्टन।अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटि'(जिबिएनसि) यतिबेला ‘नेपाल डे-२०२५’ भव्यताका साथ मनाउन आवश्यक तयारीमा जुटेको छ। सन् २०२३ बाट बृहत् कार्यक्रम गरेर मनाउन सुरु गरिएको ‘नेपाल डे’ लाई यस वर्ष पनि निरन्तरता दिदै मनाउन तयारी थालिएको हो। जिबिएनसि र एभरेट सिटिको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम, यही आउदो जुलाई २० तारिख आइतवारका दिन एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park) मा गर्ने गरी तयारी थालिएको छ। ‘नेपाल डे’को मुख्य आकर्षण विविध सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ।
‘नेपाल डे’ मार्फत ग्रेटर बोस्टनवासी प्रवासी नेपालीहरुलाई संगठित गर्नु, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, पहिरन, खानपिन आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्नु, समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउनु र सहभागीहरुलाई मनोरञ्जन दिलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम आयोजक संस्था जिबिएनसिका अध्यक्ष सन्दिप भट्टराईले बताए।
अध्यक्ष भट्टराईका अनुसार, ‘नेपाल डे’ कार्यक्रममा विशेष नेपाली साङ्गीतिक माहोल बनाउन नेपालका चर्चित कलाकारहरुको सहभागिता रहने भएको छ। त्यसका लागि नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक राजु लामा (मङ्गोलियन हर्ट) साङ्गीतिक कार्यक्रमको मुख्य आकर्षण हुने भएका छन्। त्यसैगरी, कार्यक्रममा न्यू योर्कबाट ‘द एन्जेल व्याण्ड’ आफ्नो प्रस्तुति पस्किनका लागि बोस्टन उत्रने भएका छन् भने, उक्त मञ्चलाई साझा गर्दै मनोरञ्जनात्मक विविध साङ्गीतिक कोसेलीहरु पस्किनका लागि बोस्टनका स्थानीय नेपाली कलाकारहरुले पनि आवश्यक तयारी थालिसकेका छन्।
उक्त कार्यक्रममा नेपाली स्वाद, नेपालीपन तथा पहिचान झल्काउने खानाका विभिन्न परिकारहरुका साथै सरसामानहरुका स्टलहरु राखिने भएको छ। कार्यक्रम स्थलमा संघ संस्थाका जानकारीमूलक स्टलहरु राखिनुका साथै बालबालिकाहरुको मनोरञ्जनका लागि विभिन्न खेल सामग्रीहरुको पनि व्यवस्था गर्ने गरी आवश्यक तयारी थालिएको अध्यक्ष भट्टराइले बताए।
कार्यक्रमका बारेमा जानकारी दिदै अध्यक्ष भट्टराईले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदायको साथ, सहयोग र सद्भावको खाँचो औल्याएका छन्। उक्त कार्यक्रमको संयोजक समेत रहेका अध्यक्ष भट्टराईले कार्यक्रममा सहभागी भइदिन आयोजकको तर्फबाट सबैलाई निमन्त्रणा गर्दै भने, ‘कार्यक्रमको उद्देश्य प्राप्ति गर्न सक्दो नेपालीपन तथा पहिचान झल्काउदै कार्यक्रमको माहोल मनोरञ्जनात्मक बनाउने गरी तयारीमा जुटिसकेका छौं। कार्यक्रमममा सहभागी भइदिनुहुन सबै नेपाली समूदायलाई आयोजकको तर्फबाट निम्तो गर्दछु।’
कार्यक्रम स्थलमा व्यवसायिक तथा सामाजिक स्टल राख्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले यथासिघ्र आयोजकलाई सम्पर्क गर्न अध्यक्ष तथा कार्यक्रम संयोजक भट्टराईले अनुरोधसमेत गरेका छन्।












प्रतिक्रिया