अस्टिन (टेक्सस) । शुक्रबार दिउँसो देखि सुरु भएको भारी वर्षाले मध्य टेक्ससमा ठूलो जनधनको क्षती गरेको छ । यो समाचार तयार पार्दासम्म ६९ जनाको निधन भएर शव प्राप्त भैसकेको छ भने अझै ४१ जना हराइरहेका छन् ।
नदी किनारमा पाल टाँगेर समरक्याम्पका लागि बसेका स्कुले साना विद्यार्थीहरुलाई अकस्मात आएको बाढीले बगाएको छ । बाढीबाट नेपाली समुदायका कसैलाई पनि कुनै क्षती नपुगेको भएपनि ग्रेटर अस्टिन नेप्लिज सोसाइटी (ग्यान्स) का पूर्ब अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
नेपालीहरुले स्थापना गरेको पशुपतिनाथ मन्दिर रहेको हटो सिटीमा बाढीले कुनै पनि असर नगरेको पनि उनले बताए । हटोका मेयर माइक स्नाइडरले पनि आफ्नो सिटीका केही स्थानमा १४ इन्चसम्म पानी जमेको भएपनि भौतिक तथा मानवीय क्षती भने नपुगेको उनले उल्लेख गरे ।
अस्टिन क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको जर्जटाइन सिटी हुँदै बग्ने सान ग्याब्रिएल नदीको सतह निकै माथिसम्म आएकोले केही घरहरु बगाएको र क्षती पुगेको छ । तर नेपाली समुदायका कसैको घरमा पनि क्षती पुगेको जानकारी प्राप्त नभएको समेत भट्टले उल्लेख गरे ।
अस्टिनमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ । अस्टिन टेक्ससको राजधानी शहर पनि हो । बाढीले मानवीय क्षती भने अस्टिनदेखि सानएन्टेनियोसम्मका बीचमा पर्ने सिटीहरुमा गरेको छ ।
मौसमको प्रभावकारी भविष्यबाणी नहुँदा भारी वर्षा र बाढीबाट बढी मानवीय र भौतिक क्षती भएको छ । पछिल्लो समयमा अमेरिकाको मौसमको भविष्यवाणी सही हुन नसकेको गुनासो धेरैको ।

विगतमा पानी पर्ने, बाढी, टोर्नाडोको भविष्यबाणीमा सेकेण्डको पनि फरक नपर्नेमा अहिले यति ठूलो मानवीय क्षती हुनेगरि बर्षा हुँदा पनि समयमा सूचना दिन नसकेको भन्दै सरकारप्रति आक्रोश बढेको छ ।
बिबिसीका अनुसार राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएर आएयता अमेरिकाको अनुसन्धानको बजेटमा भारी कटौती भएको छ । विशेषगरि इलोन मस्क नेतृत्वको तत्कालिन डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डिओजीई) ले अनुसन्धान क्षेत्रको बजेट भारी रुपमा कटौती गरेको थियो । यसको प्रभावले समयमा मौसम विभागले पूर्व सूचना गर्न नसकेको समेत बिबिसीले जनाएको छ ।
समयमा सूचना भएको भए साना स्कुले विद्यार्थीहरुलाई क्याम्पबाट हटाएर सुरक्षित स्थानमा पुर्याउन सकिने थियो । मध्य टेक्ससको गुडालुप नदीको सतह ४५ मिनेटमा २६ फिट बढेको थियो ।
त्यसले नदीको नजिकै तर उचाईमा घर, पसल, पुल समेत बगाएको छ । सन् १९८७ पति यो नदीको सतह यसरी उम्लिएर माथि आएको यो पहिलो घटना हो ।
समर याममा टेक्ससमा बर्षाको मात्रा असाध्यै कम हुन्छ । तर यसपटक मध्य र उत्तरी टेक्ससमा निरन्तर वर्षा भैरहेको छ । आइतबार बिहानसम्म पनि उत्तरी टेक्ससको नेपालीहरु बसोबास गर्ने ट्यारेन्ट काउन्टी, ड्यालस, कोलिन काउन्टीमा भारी बर्षा भएको छ ।
यतिखेर टेक्ससको सारा स्रोत, साधन र प्रविधि उद्धार र पुनर्स्थापनामा केन्द्रित भएको छ ।












प्रतिक्रिया