चितवन । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा ‘नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र गिरिजाप्रसाद कोइराला’ विषयक विचार गोष्ठी एवम् दीप प्रज्ज्वलन कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन चितवनको समन्वयमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र नं–१ ‘ख’को आयोजनामा सम्पन्न विचार गोष्ठीमा प्रमुखअतिथि कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले नेपालमा सशस्त्र द्वन्द्वको अन्त्यगरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा २०६५ जेठ १५ गते २४० वर्षे शाहवंशको अन्त्य भई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।
नेता गुरूङले गिरिजाप्रसाद कोइरालासँग राजनीतिक यात्रामा सानिध्यता रहेको स्मरण गर्दै ‘म जे बोल्छु त्यो गर्छु’ भनेर बोलेको कुरा पुर्याउने राजनेता रहेको बताए । कोइरालाको विसं २०६६ चैत ७ गते निधनपश्चात् नेपाली राजनीतिमा बोलेको कुरा पूरा गर्ने राजनेताको खडेरी परेको उनको भनाइ थियो ।
कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र नं–१ ‘ख’का सभापति गोविन्द गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सभापति राजेश्वर देवकोटा, गिरिजाप्रसाद कोइराला फाउन्डेसन चितवनका अध्यक्ष कमल आचार्य, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, नेतृ गीता देवकोटा, भरत खनाल, कुमार कार्की, नेविसंघ शहीद स्मृति क्याम्पसका इकाइ सभापति प्रमिला बुढाथोकीलगायतले नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गरे । सहभागी वक्ताहरुले कांग्रेसको एकता, उत्साह, रुपान्तरण, सहमति र सहकार्यको व्याख्यात्मक प्रस्तुति राखेका थिए ।
कार्यक्रममा जिल्लाका पदाधिकारीलगायत कांग्रेस नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिपी फाउन्डेसनका जिल्ला सहसचिव गोपाल गोपाल दराईले गरेका थिए ।
यसैगरी, स्व. कोइरालाको स्मृतिमा रत्ननगर–१, सौराहा चोकमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ । सो कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण खैरहनी–२ का युवा नेता भरत खनालले गरेका थिए ।
प्रतिक्रिया