नुवाकोटको दुर्गम गाउँमा जन्मेको र पहाड, स-साना चट्टान, खोला बगरमा देखिने बग्रेल्ती साना ठूला ढुङ्गाका सामिप्यमा रहेर बाल्यकाल बिताएकाले ‘इनच्याण्टेड् रक’ घुम्न जाने कैयन प्रसंगहरुमा खासै ध्यान दिइएन। नजिकका धेरै साथी-भाइ, आफन्तहरुले रक चढेका तस्बिरहरुले फेसबुकका भित्ताहरु रङ्ग्याएको देखेपछि हामीले पनि यो पटक नयाँवर्षको छुट्टी इनच्याण्टेड् रकलाई समर्पित गऱ्यौं।
ह्युस्टनबाट करिब चार घण्टाको ड्राइभमा पुगिने भएपनि नयाँ वर्षको साँझ हामीले टेक्ससको अर्को ऐतिहासिक र पर्यटकीय शहर ‘स्यान एण्टनियो’मा बितायौं। दुई-तिन पटक गैसकेको ठाउँ भएपनि यो पटक नयाँ वर्षको साँझ प्रसिद्ध ‘रिभर वाक’मा सपरिवार हिंड्ने, र त्यहाँका रिभर साइड रेष्टुँराको मधुर प्रकाशमा मेक्सिकन खानाको मज्जा लिने मौका छोडेनौं। चिसो मौसम, रंगिन बत्तिका झिलिमिलीले करिब दुईघण्टा जतिको हिंडाई निकै रमाइलो भयो।
टेक्सस-मेक्सिको युद्ध बेलाका कैयन ऐतिहासिक घटनाहरुको साक्षी ऐतिहासिक र साहसिक किल्लाका रुपमा प्रसिद्ध ‘एलामो’ र ‘Believe It or Not’ म्यूजियमको दोश्रो पटकको भ्रमण पनि निकै रमाइलो भयो।
नयाँ वर्षको दोश्रो दिन बिहानै हल्का खाजा खाएर हामी इनच्याण्टेड् रकको यात्रामा निस्कियौं। स्यान एण्टनियोबाट करिब डेढ घण्टाको ड्राइभमा हामी पार्क प्रवेशद्वार पुग्यौं। ऐतिहासिक तर स्यानो जर्मन टाउन फ्रेडरिकवर्गबाट नजिकै रहेको इनच्याण्टेड् रक चढ्ने हाम्रो चाहना २०२५ को जनवरी महिनाको दोश्रो दिनमा जुऱ्यो।
बाबुले हामी पाँच जनाको लागि ४० डलर तिरेर प्रवेश टिकट लिएपछि केही पर गाडी पार्क गरेर हामी गुलाबी ढुङ्गा चढ्न केही बोतल पानी र सुन्तला बोकेर अगाडि बढ्यौं। केही भिरालो, चिप्लिइएला कि जस्तो चट्टानी मार्ग छिचोल्दै करिब ४५ मिनेटमा हामी फेदबाट करिब ४२५ फिट उकालो चढेर इनच्याण्टेड् रकको टुप्पोमा पुग्यौं।
इनच्याण्टेड् रक जानु पूर्व जाबो ढुङ्गा चढ्न के जानु भन्ठानेको, माथि पुगेपछि देखिने प्राकृतिक दृष्य र चुचुरोमा पुगेको सुखानुभूतिले त्यहाँ जान ढिला गरेजस्तो महशुस भयो। खासगरी छोरा छोरीहरु निकै रमाए। हामीले पहाड, कुना-कन्दारा, बगर र ठूला आकारको चट्टान नेपाल मै धेरै देखेको हुनाले अति धेरै अनौठो नलागेपनि अर्बौं वर्ष पुरानो, गुलाबी चट्टान त्यहाँ माथि करिब २८ मिलियन (दुई करोड ८३ लाख) वर्गफिट फैलिएको चट्टान पहिलो पटक देखिएको मात्र होइन त्यसको टाउकोमा पाइला राख्न पाएको अवस्था थियो।
सगरमाथाको देशको मान्छे, ४२५ फिट अग्लो चट्टान चढ्न पाउँदा पनि खुसी मान्नु पर्ने रहेछ। सगरमाथा जहाजबाट र तस्बिर वा भिडियोमा देखेको मात्र हो। बेसक्याम्पसम्म पनि पुग्न नपाएको हामीजस्तालाई केही अग्ला पहाड र उबड-खाबड धरातलीय बनौटले पनि नस्टाल्जिक हुन मन लागि हाल्ने!
हामी केही बेर रक समिटमा रमायौं, केही यादगार तस्बिरहरु कैद गरिए, चिसो सिरेटोले धेरै बेर बस्न दिने छाँट नदेखाएपछि हामी आएकै बाटो ओरालो झर्ने तिर लाग्यौं। चुचुरोमा पुगेपछि धेरै बेर अडिनै गाह्रो। सगरमाथा कै शिखर चुमेपनि तल त झर्नै पर्छ, त्यहीं बसिराख्छु भनेपनि परिस्थितिले त्यहाँ धेरै बेर टिक्न दिंदैन। जबर्जस्ति बस्न खोजे दुर्घटना हुने पक्का छ। दुर्घटना संधै ज्यान बच्ने खालको हुन्छ भन्ने पनि हुँदैन। मौसम र परिस्थिति बिचार गरेर सहज ओरालो लाग्नु जीवन बँचाउने सहज तरिका हो। हरेकको जीवन दर्शनमा लागु हुने जीवन कला शिखरमा पुगेका र पुग्ने तरखर गरिरहेकाहरु सबैले बुझ्न जरुरी रहेछ भन्ने ज्ञानको पूनर्ताजगी ४२५ फिटको चट्टान चढ्दै भएकोमा अझै खुसी लाग्यो।
उकालो चढ्न भन्दा ओरालो झर्न अलि कठिन हुने। उकालोमा स्याँ-स्याँ भएर गाह्रो हुने ओरालोमा चिप्लिएला कि भनेर डराउनु पर्ने! साथीले छोरा-छोरी र मलाई पनि बेला बेला सम्झाई रहेकी थिइन—ओरालोमा खल्तिमा हात राखेर र मोबाइल चलाउँदै हिंड्ने होइन।
‘इनच्याण्टेड् रक’ संक्षिप्त विवरण
टेक्सास हिल कन्ट्रीको घुमाउरो बाटाहरु छिचोलेर पुगिने मध्यम आकारको पहाडहरूमा टाँसिएको एक रहस्यमय गन्तव्य हो ‘इन्च्यान्टेड रक’, जसले शताब्दीयौंदेखि आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। इन्च्यान्टेड रक एक विशाल गुलाबी ग्रेनाइटको सम्मिश्रण हो जुन गुम्बज आकारमा फैलिएको छ। फेदबाट करिब ४२५ फिट माथि रहेको यो पौराणिक र प्राकृतिक सौन्दर्यले भरिएको गुलाबी चट्टानको रमणीयता त्यहीं पुगेपछि र रक समिट गरेपछि मात्र बुझ्न सकिन्छ।
करिब करिब गुलाबी रंगको देखिने ग्रेनाइटको सतहमा करोडौं वर्षको मौसमी गतिविधिले ल्याएको परिवर्तन सहजै देखिन्छ। केही ठूला साना आकारका ढुङ्गाहरु चटक्क टिपेर राखेजस्ता पनि देखिन्छन्। संसार र अमेरिकाको ठूलो मध्येमै पर्ने फराकिलो चट्टानको वर्षेनी करिब दुई लाख ५० हजार पर्यटकहरुले भ्रमण गर्ने गरेको तथ्याङ्क छ।
स्थानीय पौराणिक कथाका अनुसार, इन्च्यान्टेड रकमा आध्यात्मिक र जादुयी शक्तिहरू छन्, र धेरै आगन्तुकहरूले साइट भ्रमण गर्दा अनौठो र अचम्मका घटनाहरू अनुभव गरेको दाबी गरेको कथाहरु सुनिएतापनि हामीले त्यस्तो कुनै असाधारण गतिविधिको अनुभव गरेनौं। अर्ब भन्दा बढी बर्षदेखि प्रकृतिको अनेकौं प्रकोप झेलेर ठडिएको जादुयी र गुलाबी चट्टान चढ्ने तपाईंहरुको पनि चाहना छ भने त्यो चाहना मर्न नदिनुस्। यदि तपाईं टेक्सस मै बस्नु हुन्छ भने त पक्कै जानुहोला। तपाईं सपरिवार जानु भयो भने परिवारसंग पहाड चढ्ने र नेपाल सम्झने एउटा अद्भुत संयोग पनि जुर्ने छ।
अस्टिन र स्यान एण्टनियोबाट करिब ८५ माइल्स टाढा रहेको इन्च्यान्टेड रक पुग्न ह्युस्टन र ड्यालसबाट करिब २७० माइल्स यात्रा तय गर्नु पर्दछ। सेप्टेम्वरदेखि मे महिना भित्र भ्रमण गर्नु उपयुक्त हुने सूचना भएपनि खराब मौसम भएको बेला बाहेक वर्षैभरी स्टेट नेचुरल पार्कका रुपमा संरक्षित इन्च्यान्टेड रकको भ्रमण गर्न सकिन्छ। १२ वर्षसम्मका बालबालिकाहरु निःशुल्क प्रवेश गर्न सक्ने पार्क प्रवेशका लागि सबै बयस्कहरुले आठ डलर शुल्क तिर्नु पर्दछ। बिहान ६.३० बजेदेखि राती १० बजेसम्म पार्क ट्रेलहरु खुल्ला नै रहने हुन्छ भने पार्क कार्यालय बिहान ६.३० बजेदेखि साँझ ८ बजेसम्म खुल्दछ।
‘फ्रेडरिकबर्ग’ एक सुन्दर जर्मन टाउन
पार्क नजिकै टेक्ससको डियर क्यापिटल भनेर चिनिने ठाउँ ‘यानोह्’ पनि रहेकोले त्यहाँसम्म जाने समय मिलाए झनै बेस। सन् १८४६ मा स्थापित फ्रेडरिकबर्ग आज एक लोकप्रिय पर्यटकीय गन्तव्य भएको छ। आकर्षक जर्मन वास्तुकला, सुन्दर भाइनयार्ड र जीवन्त सांस्कृतिक दृश्यले पर्यटकहरुलाई आकर्षित गरिरहेछ । जर्मन र टेक्सन प्रभावहरूको अद्वितीय मिश्रणले एक विशिष्ट सांस्कृतिक पहिचान कायम राखेको फ्रेडरिकबर्ग टेक्ससका अन्य शहरहरू भन्दा अलि भिन्न देखिन्छ।
१८२१ मा तत्कालीन मेक्सिकन सरकारले जर्मनबाट आएका एउटा समुहलाई बस्न र कृषि उत्पादनका लागि जग्गा प्रदान गर्यो। त्यही जमीनमा जर्मनहरुले १८४६ मा फ्रेडरिक्सबर्ग शहर स्थापना गरेका हुन्। यो शहरको नाम प्रशियाका राजकुमार फ्रेडरिकको नाममा राखियो र गाउँलाई परम्परागत जर्मन गाउँ जस्तै डिजाइन गरिएको थियो। १८७१ मा जर्मन साम्राज्यको अधीनमा आउनु अघिसम्म ऐतिहासिक राज्य प्रसियाको युरोपमा निकै महत्वपूर्ण अस्तित्व थियो। प्रसिया दोश्रो विश्वयुद्ध पछि केही हिस्सा सोभियत संघ र केही पोल्याण्डमा मिसिएको भनाई छ।
छोटो भ्रमणमा जान सकिने भएकाले तपाईंको पारिवारिक भ्रमणको सूचीमा इन्च्यान्टेड रक र फ्रेडरिकबर्ग पनि छुटाउन नहुने गन्तव्य मध्ये मै पर्दछ। सयौं वर्ष पहिले नै आएका जर्मनहरुले आवाद गरेको स्यानो र चिटिक्क परेको नगर फ्रेडरिकबर्ग भिडभाडको शहरी जीवन भन्दा अलि भिन्न छ। वाइनका पारखीहरुका लागि टेक्ससमा पनि वाइन टेष्टको अवसर मिल्दो रहेछ भने यूरोपियन शैलीका सफा, चिटिक्क परेका साना क्याफेहरुमा कफीको चुस्की लिने मौका पनि छुट्दैन।
केही बोतल पानी र हिंड्न सहज हुने लुगा र जुत्ता लगाएर जानु राम्रो हुन्छ।साना केटाकेटीलाई बोकेर जान नसक्ने र उकालो हिंड्न कठिन हुनेहरुले चाहिं चट्टानको फेदबाट गुलाबी पहाडको दृश्यावलोकन गर्नु बुद्धिमानी हुन्छ।
थप जानकारीका लागि
https://tpwd.texas.gov/state-parks/enchanted-rock
पार्क स्थलः 16710 Ranch Rd 965, Fredericksburg, TX 78624
प्रतिक्रिया