चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लैजाने क्रममा दुर्व्यवहार भएको भनी सामाजिक सञ्जालहरुमा सम्प्रेषण भइरहेका भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको विज्ञप्तिमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएपश्चात् चितवनको हिरासत कक्षमा समेत नलगी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उपस्थित गराइएको दाबी गरिएको छ ।
‘बयान कार्य सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट गरी सकेपश्चात् त्यहीँबाटै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृतको कमाण्डमा कास्की लगिएको थियो’, प्रहरी नायब निरीक्षक एवं सूचना अधिकारी भेषराज रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नायब उपरीक्षकको कमाण्डमा रविलाई कास्की लगिएको भन्दै तथ्यहीन, भ्रामक एवं झुट्टा समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले ध्यानाकर्षण गराएको हो ।
‘प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्नेजस्ता भ्रामक, झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरीले भनेको छ ।
नेपालको संविधान एवं नेपालको प्रचलित ऐनकानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य, मान्यता अनुशरण र मानवअधिकारको उच्च सम्मान गर्दै तथ्य प्रमाणमुखी अनुसन्धान गर्न चितवन प्रहरी सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोही सकैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी सही सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देशमात्र सम्प्रेषण गर्नसमेत चितवन प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया