अमेरिका हुँदा तपाईं सबै कार्यक्रम छोडेर तत्काल नेपाल फर्कनु पर्थ्यो भन्ने थियो। ताई-न-तुईको अवैतनिक दूतको नीजि घरको व्याकयार्डमा झण्डोत्तोलन गर्न जानै हुन्थेन। त्यो प्रधानमन्त्रीका हैसियतमा तपाईंको भूल थियो। तपाईंलाई जसले लगे तिनीहरुलाई देश डुबेको बेला त्यस्तो काम गर्न हुन्थेन भन्ने ज्ञान रहेनछ।
देश फर्कन दुईदिन ढिला गर्नु भो, तैपनि विमानस्थलमा तपाईं नम्र सुनिनु भएन। फर्कन ढिला भएकोमा र राहत/उद्धारमा तत्काल संलग्न हुन नपाएकोमा जनतासंग माफी माग्नु पर्नेमा तपाईंको भावभङ्गी र तर्क बेतुकका सुनिए। देश शोकमा भएका बेला राजकीय शैलीमा तपाईंका स्वागतका लागि पुरै राज्य संयन्त्र एअरपोर्ट उपस्थित थियो। स्वागतमा होइन उद्धार/राहतमा खट्न भन्नु भएको भए कति राम्रो देखिन्थ्यो? तर, त्यसो हुन सकेन। देश असामान्य अवस्थामा भएको बेला तपाईंको स्वागतका लागि देखिएको तामझामले धेरैको आँखा बिझायो होला।
उद्धार कार्यमा भएका कमजोरी स्वीकार्नु र गल्ति नदोहऱ्याउने प्रतिबद्धता गर्नु सरकार प्रमुखको मुख्य दायित्व हो। जनतासंग माफी मागेर तपाईं सानो हुनुहुन्न, बरु जनता तपाईंप्रति क्षमाशील हुनेछन्। तपाईंकै सम्मान बढ्नेछ। देश डुब्या छ, जताततै जनताका दुख-पीडा छरपस्ट छ। त्यस्तो बेला शासकलाई पनि दुखेको, पीडा भएको अनुभूति जनताले गर्नु पर्छ। अनि पो तपाईं जनताका प्रधानमन्त्री हुन सक्नु होला। आज पत्रकार सम्मेलनमा पनि तपाईं थप विनयशील देखिने/सुनिने लाग्न सक्नुहुन्थ्यो! तर यो पटक तपाईं चुक्नु भो प्रधानमन्त्रीज्यू!
प्रतिक्रिया