बोस्टन । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा आयोजना गरिएको ‘नेपाल डे–२०२४’ कार्यक्रम बीचैमा स्थगित भएको छ। म्यासाच्युसेट्स राज्यको एभरेट सिटीस्थित ग्लेन्डल पार्कमा अगस्ट ४ तारिख आइतबारका दिन आयोजना गरिएको कार्यक्रम भारी वर्षाका कारण बीचैमा स्थगित भएको हो ।
कार्यक्रमको उद्घाटन गरेर नेपाल र अमेरिकाको राष्ट्रिय गानसँगै कार्यक्रमको मुख्य आकर्षण बृहत् सांगीतिक कार्यक्रम अगाडि बढाउँदै गर्दा एक्कासि वर्षा भएपछि आयोजकले प्राकृतिक संकट झेल्न बाध्य भएको थियो ।
पर्दै गरेको पानीको पर्वाह नगरी कलाकारहरुले यो नेपाली शिर उचाली संसारमा लम्किन्छ… बोलको गीत गाउँदै गर्दा सहभागीहरुले साथ दिँदै एकता र वीरतालाई मनन् गर्न भ्याएका थिए । कार्यक्रम ग्रेटर बोस्टन क्षेत्रमा रहेका नेपाली समुदायको अग्रणी संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) र म्यासाच्युसेट्स राज्यको एभरेट सिटीको साझेदारीमा आयोजना गरिएको थियो ।
कार्यक्रम स्थलमा सहभागीहरुको संख्या बढ्दै जाँदा र नेपालमय बन्दै गएको बखत एक्कासि भारी वर्षा भएको र लामो समयसम्म वर्षा नरोकिने लक्षण देखेपछि कार्यक्रम स्थगित गर्न बाध्य हुनुपरेको आयोजकले जनाएको छ ।
कार्यक्रम आयोजक संस्था जिबिएनसीका महासचिव तथा ‘नेपाल डे-२०२४’ कार्यक्रमका संयोजक सोनाम शेर्पाले तत्कालिन परिस्थितिका बारेमा साझेदार संस्था एभरेट सिटीसँग भएको सल्लाहअनुसार वर्षाका कारण सुरक्षामा पर्न सक्ने खतरालाई ध्यानमा राखी कार्यक्रम स्थगित गर्न बाध्य हुनुपरेको बताए ।
अनपेक्षित भारी वर्षाका कारण कार्यक्रम बीचैमा स्थगित गर्न बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै शेर्पाले कार्यक्रमको स्थगनबाट पर्न गएको असुविधाप्रति गहिरो दुःख प्रकट गरे ।
उनले यसबाट सरोकारवालाहरुलाई पर्न गएको बाधा अड्चन, असुविधा र समस्याप्रति आयोजकका तर्फबाट क्षमासमेत मागेका छन् । कार्यक्रम संयोजक शेर्पाले भने, प्राकृतिक समस्या हाम्रो नियन्त्रणमा रहेन । कार्यक्रम तालिकाअनुसार सुचारु भैरहेको कार्यक्रको बीचैमा वर्षा भयो । रोकिने छाटकाट नदेखेपछि सुरक्षामा पर्न सक्ने खतरालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्न बाध्य भयौँ ।’
कार्यक्रम स्थगितका कारण कार्यक्रम स्थलमा स्टलहरु राख्नेहरुलाई बढी मार परेको बताउँदै शेर्पाले यस विषयमा संस्थामा प्राथमिकका साथ छलफल हुने बताए। प्रकृतिका कारण अचानक बीचैमा स्थगित गरिएको कार्यक्रममा बारेमा पनि छिट्टै बैठक बसी आगामी कदमका बारेमा निर्णय लिइने उनले बताए ।
कार्यक्रमको योजना गरेदेखि कार्यक्रम सञ्चालनको क्षणसम्म साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक शेर्पाले अचानक भैपरी आएको प्राकृतिक आपत्तिका कारण शृजित परिस्थितिलाई सबैले बुझिदिने आशासमेत व्यक्त गरेका छन् ।
नेपालीपन, नेपाली पहिचान, स्वाभिमान, नेपालीत्व, एकता, सभ्यता र मनोरञ्जनलाई केन्द्रमा राखेर कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम स्थलमा फरफराएका नेपालको झण्डाहरु, नेपाली भेषभूषामा सजिएका सहभागीहरु, उनीहरुले बोलेका नेपाली भाषा, बोलीचाली, व्यवहार, प्रस्तुत भएका नेपाली सांगीतिक कोसेलीहरु, मिष्ठान्न नेपाली परिकारहरु, नेपाल र नेपालीपन झल्काउने सरसामानका स्टलहरु, बढ्दै गएको सहभागीहरुको संख्या आदिले कार्यक्रम स्थल नेपालमय बन्दै गएको देखिन्थ्यो ।
नेपाली भाषा, धर्म, भेषभूषा, संस्कृति, परम्परा, चालचलन, पहिचान आदिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजित कार्यक्रममार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको देश र विश्वशान्तिका अग्रदूत गौतम बुद्धको देश नेपाल भएको मूल सन्देश विश्वभर छर्ने पनि कार्यक्रमको लक्ष्य राखिएको थियो ।
नेपाल डेअन्तर्गत आयोजित बृहत् सांगीतिक कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायकहरु हरि कर्माचार्य (गुल्मी गाइज व्याण्ड), दिपेश के भट्टराई र जेम्स प्रधानले आफ्ना प्रस्तुतिहरु दिने योजना रहेको थियो।
त्यसैगरी, कलाकारहरु महादेव त्रिपाठी, अमित सुनार, मल्लिका कार्कीलगायत स्थानीय कलाकारहरु पनि उक्त सांगीतिक मञ्चलाई साझा गर्ने तयारीमा थिए । तर, यी सबै योजनाहरु कार्यक्रमको स्थगनसँगै चकनाचुर हुन पुगे ।
कार्यक्रमको अर्को आकर्षणको पाटो थियो स्वादिष्ट नेपाली परिकारहरु र नेपाल र नेपालीको पहिचान तथा नेपालीपन झल्काउने स्टलहरु। नेपाली परिकारहरुका ९ वटा, नेपाली पहिचान बोकेका सरसामानहरुका ६ वटा, संस्थागत ९ वटा र घरजगगा कारोबारका ४ वटा गरी कुल २८ वटा स्टलहरु राखिएको थियो। तर, कार्यक्रम स्थगित भएकाले सबैन्दा ठूलो मार आफूहरुलाई परेको भन्दै स्टल राख्नेहरुले दुखेसो पोखेका छन् ।
अमेरिकाको बोस्टन सहरका लागि नेपाल सरकारका प्रतिनिधि पर्यटन प्रवर्द्धक मिलन गुरूङले पानी परेर कार्यक्रम बिथोले पनि आयोजकको अथक प्रयास, समुदायको सहयोग र उपस्थिति अमूल्य रहेको प्रतिक्रिया दिए ।
उनले नेपाल डे कार्यक्रम नेपाल र नेपालीका लागि अत्यन्त महत्त्वपूर्ण र सुवर्ण अवसर रहेको तर पानीका कारण स्थगित गर्नु परेकाले कार्यक्रमले राखेको सम्पूर्ण लक्ष्य र उद्देश्यहरु प्राप्त गर्न नसकिएकोमा भने दुःख व्यक्त गरे ।
प्रतिक्रिया