अमेरिका समाचार

प्याब्फोनद्वारा आयोजित ‘देउसी भैलो’ कार्यक्रम भव्यताका साथ सम्पन्न

प्याब्फोनद्वारा आयोजित ‘देउसी भैलो’ कार्यक्रम भव्यताका साथ सम्पन्न


अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन-PABFONE) द्वारा आयोजित ‘देउसी भैलो’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम गत नोभेम्बर १३ तारिख सोमवार साँझ 594 Washington Street, Braintree, MA-02184 स्थित आफ्नै भवनमा रहेको पशुपतिनाथ बुद्ध मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो। धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन तथा पहिचानको संरक्षण, संवर्धन, प्रवर्धन तथा पुस्ता हस्तान्तरण गर्ने र मन्दिर तथा सामुदायिक भवनलाई नियमितरुपमा प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक सहयोग जुटाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

न्यू इंग्ल्याण्ड क्षेत्रमा सामाजिक हितका लागि सामूहिक ‘देउसी भैलो’ खेल्ने रितिथिति बसाउन महत्वपूर्ण भूमिका खेल्दै सांगीतिक क्षेत्रमा लागिपरेका व्यक्तित्वहरु आबद्ध ‘बोस्टन सुसेली समूह’का चर्चित कलाकारहरुदेखि उदयमान स्थानीय कलाकारहरुकोसमेत बेजोड प्रस्तुति रहेको थियो। कलाकारहरुले सृजना गरेको नेपाली सांगीतिक माहोल, नेपालीपन तथा पहिचान दर्शाउने भेषभुषामा सजिएका सहभागीहरु, बोलेका नेपाली भाषा, गरिएका व्यवहार, मन्दिरको वातावरण आदिले कार्यक्रम स्थल नेपालमय बनेको थियो।

Advertisement

कार्यक्रमलाई अझ सुनमा सुगन्ध थपिदिने महत्वपूर्ण भूमिका, लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ का संस्थापक तथा सञ्चालक, लोक गायक तथा सामाजिक अभियान्ता कृष्ण कंडेलले खेलेका थिए। नेपाली लोक तथा दोहोरी गीतको खोजी, संरक्षण, संवर्धन, प्रवर्धन तथा सामाजिक कार्यका अभियान्ताका रुपमा चिरपरिचित कंडेललाई एकाएक देउसी भैलो कार्यक्रममा पाउदा, आयोजक तथा सहभागीहरुमा खुशीको सिमा थिएन। उनले आयोजक तथा सहभागीहरुको मनोभावना बुझेर तिहार, देउसी भैलो, भाइटिका, धर्म, संस्कृति, रितिरिवाज, परम्परा, सामाजिक अभियान, दान आदिलाई समेट्दै सांगीतिक माहोलमा देउसी भैलो भट्याएका थिए। विषय, समय, परिस्थिति, आवश्यकता र उद्देश्य अनुसार छिनको छिन उत्कृष्ट शैलीमा टुक्का जोडेर गीत गाउन सक्के र मन छुने अभिव्यक्ति दिन सक्ने व्यक्तित्वका धनी कंडेललाई साथ दिदै मनोरञ्जन लिन सहभागीहरु पनि चुकेनन्। कार्यक्रमकै दौरानमा उनले कार्यक्रम आयोजक संस्था, कलाकारहरु, दाता तथा सहयोगीहरु र सहभागीहरुको मुक्तकण्ठले प्रशंसा गर्न भ्याएका थिए। कार्यक्रममा बालबालिकादेखि किशोर किशोरीसम्म, युवा युवतीदेखि बृद्ध बृद्बासम्मको उल्लेखनीय सक्रिय सहभागिता रहेको थियो। उक्त ‘देउसी भैलो’ कार्यक्रमबाट हालसम्म ४० हजार दान संकलन भइसकेको र थप दाताहरुबाट पनि दान आउने क्रम जारी रहेको संस्थाले जनाएको छ।

संस्थाको बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशिल पौडेलले कार्यक्रम अत्यन्त राम्रो र भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रको उद्देश्य पुरा भएकोमा निकै खुशी व्यक्त गर्दै उनले भने, ‘सबै खुशी हुनुहुन्छ। उत्सवको मुडमा हुनुहुन्छ।र, आर्थिक संकलन पनि राम्रै भैरहेको छ।यो कार्यक्रम एकदमै सफल भएको मैले मानेको छु।’
प्याब्फोन(PABFONE)सञ्चालक समितिका अध्यक्ष बिष्णु कार्कीले पनि कार्यक्रम सोचेको भन्दा बढि राम्रो भएको प्रतिक्रिया दिए। उनले भने, ‘हामीले सोचे भन्दा राम्रो सहभागिता जुट्यो। मानिसहरुको उमङ्ग देखियो। खारिएका कलाकारहरु र नेपालदेखि कृष्ण कंडेल ज्यू पनि आएका कारण सहभागिता धेरै नै भयो। मैले सोचेको भन्दा धेरै नै राम्रो भाको छ।’ अध्यक्ष कार्कीले कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न साथ, सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

संस्थाको बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राम थापाले कार्यक्रम सकारात्क सन्देश दिदै भव्यताका साथ सम्पन्न भएको प्रतिक्रिया दिए। सबैको साथ, सहयोग र समर्थनले कार्यक्रम सफल भएकोप्रति खुशी व्यक्त गर्दै भने, ‘यसमा सबैको सहगोग, सहभागिता, समर्थन, योगदान रहेको छ। कार्यक्रम अत्यन्तै सकारात्मक, सफल रुपले प्रस्तुत भइरहेको छ। प्रत्यक वर्ष यो कार्यक्रमले भव्यता लिदै पनि गएको छ।’ विदेशमा रहेर पनि नेपालीहरुले नेपाली कला, संस्कृति, रितिरिवाजको जगेर्ना, संरक्षण र संवर्धन गर्न सक्दो जुटिरहेको जिकिर गर्दै उनले भने, ‘हामी विदेशमा रहे पनि, आफ्नो कला, संस्कृति, रितिरिवाजलाई जगेर्ना गर्ने, संरक्षण गर्ने, संवर्धन गर्ने क्रममा सबैको समान सहयोग, सहभागिता पाइरहेका छौं। विभिन्न वर्ग, समुदाय, क्षेत्र, लिङ्गको उत्साहका साथ सहभागिता भएको छ। कार्यक्रम भव्य रुपमा सम्पन्न हुनु हामी सबैको लागि सुखद पक्ष पनि हो।’

कार्यक्रम संयोजक थापाले देउसी भैलो कार्यक्रम एक आपसमा आत्मीय भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, रमाइलो गर्ने र पुस्तान्तरण पनि गर्दै जाने सुवर्ण अवसर पनि भएको बताए। उनले कार्यक्रम भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने संस्था परिवार, कलाकारहरु, सहभागीहरु, कृष्ण कंडेललगायत इन्द्रेणी परिवार, दाता, सहयोगी तथा शुभचिन्तक संघ संस्था तथा व्यक्तिहरुलगायतलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्तसमेत गरेका छन्।

कार्यक्रमका मुख्य आकर्षक नेपाली लोक दोहोरी गीत गायक, नेपाली लोक गीतको संरक्षण, संवर्धन र प्रवर्धन अभियानका अभियान्ता, सामाजिक व्यक्तित्व तथा इन्द्रेणी कार्यक्रममा संस्थापक तथा सञ्चालक कृष्ण कंडेलले, कार्यक्रमबाट आफू निकै नै प्रभावित भएको प्रतिक्रिया दिए। उनले भने,’ पशुपतिनाथ बुद्ध मन्दिरमा मैले जे देखे। साच्चै नेपालीले प्रवासमा बसेर पनि आफ्नो धर्म, संस्कृति, संस्कार र सभ्यता बचाउदै भावी पुस्तामा पुस्तान्तरण गर्नका लागि जुन एउटा खालको माहोल सृजना गर्नु भएको रहेछ। योगदान गर्नु भएको रहेछ। यसले म अति प्रभावित भए। आजको यो देउसी भैलो साच्चै उत्कृष्ट रह्यो।’

मन्दिरको पवित्र ठाँउमा आयोजना गरिएको अत्यन्त उल्लासमय कार्यक्रममा सहभागी हुन पाउदा आफूलाई धेरै भाग्यमानी ठानेको र कार्यक्रमको माहोलले आफूमा झन उर्जा थपेको बताए।

‘बोस्टन लोक सुसेली समूह’का संस्थाक सदस्य तथा नेपाली लोक गायक मिन केसीले कार्यक्रम एकदमै रमाइलो भएको र सात समुन्द्र पारी भएर पनि धेरै नेपालीहरु जम्मा भएर आफ्नो चाड पर्व मनाउन पाउनु खुशीको कुरा भएको बताए। उनले थपे, ‘विभिन्न कलाकारहरु जुटाएर देउसी सम्बन्धी गीत गाएर मन्दिरको प्राङ्गणमा कार्यक्रम गर्न पाउनु एकदमै ठूलो कुरा हो। त्यसका लागि एकदमै आभारी छु।’ सहभागीहरुले पनि कार्यक्रम अत्यन्त उत्साहजक, मनोरञ्जनात्क र धार्मिक, सांस्कृतिक, नेपालीपन तथा पहिचानका दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्। नेपालबाट आफ्नो सन्तान भेट्न अमेरिका आइपुगेकी ७५ वर्षीया आमाले कार्यक्रम धेरै राम्रो लागेको प्रतिक्रिया दिइन्। ’यो कार्यक्रम धेरै राम्रो लाग्यो। यस्तै सधै भैरहोस्। राम्रो राम्रो गर्नु ।’ आशिर्वाद दिदै उनले भनिन्, ‘सबैको आयु राम्रो होस्। कहिल्यै दु:ख नहोस् ।कहिल्यै रोगले नछोओस्।’

लामो समयदेखि नेपाली समुदायको विभिन्न संस्थाहरुमा आबद्ध भएर सामाजिक कार्यमा क्रियाशिल रहदै आएकी रिना कार्की थापाले पनि धर्म संस्कृतिको जगेर्ना गर्नका लागि आयोजना गरिएको देउसी भैलो कार्यक्रम एकदमै रमाइलो र हर्षोल्लासका साथ सम्पन्न भएको प्रतिक्रिया दिइन्।

सन् २०१२ मा गठित प्याब्फोन(PABFONE)को, स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ बुद्ध मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य पुरा भइसकेको छ। गत मे २७ देखि ३० तारिखसम्म आयोजना गरिएको ४ दिने बृहत धार्मिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएसँगै श्रद्धालु भक्तजनहरुलाई दर्शनका लागि मन्दिर नियमितरुपमा खोलिदै आइरहेको छ। र, नेपाली पात्रोअनुसार विभिन्न चाड पर्वहरुमा र हिन्दू तथा बुद्ध धर्मका विशेष तिथि तथा साइतहरुमा विविध धार्मिक क्रियाकलापहरु गरिदै आइरहेको छ।

शेयर गर्नुहोस:

4.8k
Shares