कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रको पत्रकारिता क्षेत्रका धरोहर तथा वरिष्ठ पत्रकार रामबहादुर चन्दको आज ९५ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौँस्थित छोरीको घरमा उनको निधन भएको हो । प्रगतिशील विचारका चन्द सुदूरपश्चिम क्षेत्रमा पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा रहेका थिए । उनी पञ्चायतकालमा महेन्द्रनगरबाट विसं २०२६ मा महाकाली सन्देश पाक्षिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा लागेका थिए ।
विसं २०३३ मा उनले वार्ता साप्ताहिक पत्रिका सञ्चालन गरेका थिए । वार्ता साप्ताहिक एमाले प्रचार विभागले सञ्चालन गरेपछि उनले विसं २०४९ मा जनवार्ता अर्धसाप्ताहिक पत्रिका सञ्चालन गरेका थिए । बहुआयामिक व्यक्तित्वका धनी चन्द पत्रकार महासंघ कञ्चनपुरका संस्थापक सभापतिसमेत रहेका थिए ।
पत्रकारिता पेशालाई मुख्य पेशा बनाएका चन्दले विसं २०४६ को आन्दोलनपछि पनि महेन्द्रनगरबाट चुरे टाइम्स दैनिक सञ्चालन गरेका थिए । उनले विसं २०५६ देखि करिब आठ वर्ष चुरे दैनिक पत्रिका प्रकाशित गरेका थिए ।
विसं २०६२/०६३ को जनआन्दोलनपछि उनी काठमाडौँस्थित छोरीको घरमा बस्दै आएका थिए । चन्दका श्रीमती र दुई छोरी छन् । बैतडी जिल्लाको सिगास गाउँपालिकामा जन्मिएका चन्द लामो समयदेखि बिरामी रहँदै आएका थिए । चन्द जनपक्षीय पत्रकारका रूपमा सुदूरपश्चिम क्षेत्रमा परिचित रहेका थिए । रासस







प्रतिक्रिया