मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विकास–निर्माणमा कसैले राजनीति गर्नु हुँदैन : मेयर दाहाल

विकास–निर्माणमा कसैले राजनीति गर्नु हुँदैन : मेयर दाहाल


भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने भन्दै सबैको सामूहिक साथ र सहयोगबाटमात्र उपलब्धि हासिल गर्न सकिने बताएकी छिन् । शनिबार कबिलास स्वास्थ्यचौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् ।

भरतपुरको वडा नं २९ स्थित कविलास स्वास्थ्यचौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्रको भवन लामो प्रयासपछि शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरीय निर्माणसम्पन्न गरी स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरिन् । प्रमुख दाहालले भरतपुरको हिल स्टेसनको रूपमा परिचय बनाउँदै गएको रमणीय पहाडी भूगोल समेटिएको वडा नं २९ को विकासमा आफू सधैँ केन्द्रित रहेको उल्लेख गरिन् ।

उनले यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिँचाइका साथै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासका क्षेत्रमा उल्लेख्य कामहरु भइरहेको बताइन् । सोही अवसरमा प्रमुख दाहालले ‘एक वडा : एक स्वास्थ केन्द्र’ निर्माण तथा सञ्चालन गर्दै आएको बताउँदै आवश्यकताका आधारमा यसको संख्या थपिँदै जाने बताइन् । वडा नं २९ को भूभाग संवेदनशील तथा जोखिम प्रकृतिको रहेको भन्दै उनले सोहीबमोजिम यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले निर्माणाधीन स्वास्थ्यचौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गरिन् ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्यकेन्द्र सक्षम हुने विश्वास व्यक्त गरे

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा इन्चार्ज गोपाल कुँवर, भरतपुर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कुल ६९ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको स्वास्थ्य केन्द्रमा चार कोठाको हुनेछ भने पुस मसान्तभित्र निर्माणसम्पन्न गरी सेवा सञ्चालनमा आउनेछ । शिलान्यास कार्यक्रम वडाध्यक्ष मनबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।