चितवन । चितवनको रत्ननगरका एक युवाले डेढ घन्टा पानीमा तैरिएर विश्व कीर्तिमान कायम गरेका छन् । रत्ननगर नगरपालिका–१, बकुलहरका विकर्णकुमार श्रेष्ठले योगासनमा बसेर डेढ घन्टा पानीमा तैरिएर विश्व कीर्तिमान कायम गरेका हुन् ।
रत्ननगरका अटो व्यवसायीसमेत रहेका श्रेष्ठले डेढ घन्टा पानीमा तैरिएर वल्र्ड बुक अफ रेकर्ड लन्डनमा नाम लेखाउन सफल भएका हुन् ।
काठमाडौँको धुलिखेलमा रहेको हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा तैरिएर श्रेष्ठले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र त्यसको समाधानसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए । श्रेष्ठले पानीमै तैरिएर डाक्टर, प्राध्यापक, शिक्षक, लेखकहरुसँग अन्तरक्रिया गरिसकेका छन् ।
स्कोलोस्ट्रिक फाउन्डेसन नेपाल, लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरले यसै साता कार्यक्रमको आयोजना गरेका थिए । वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता भइसकेको र पाँच हप्ताभित्र प्रमाणपत्र आइपुग्ने श्रेष्ठले बताए ।
४३ वर्षीय श्रेष्ठ लायन्स क्लब अफ रत्ननगरका पूर्वअध्यक्ष र रत्ननगर जेसीजका पूर्वमहासचिव, आमा घरका आजीवन सदस्य, अर्पण बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमितिका सदस्य, चितवन अटोमोबाइल्स एसोसिएसनका क्षेत्रगत उपसमिति सदस्य हुन् ।
नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यसमेत रहेका श्रेष्ठले ८० पटक रक्तदान गरी जीवनदान गरिसकेका छन् ।







प्रतिक्रिया