काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा तीन हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा तीन हजार ३६५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ रहेका छन् ।
यसैगरी कोरोना सङ्क्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८०७ पुगेको छ । प्रति १० लाखमा ३३०।५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की, रुपन्देही गरी ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या २४ रहेको छ ।
मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ६३६ र भेन्टिलेटरमा १६० बिरामी छन् । यसैगरी होमआइसोलेशनमा २७ हजार ३५५ र संस्थागत आइसोलेशनमा तीन हजार ३५ बिरामी रहेका छन् ।
कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो ।
यही साउन ८ गते सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा आज यो दर ९४.१ प्रतिशत पुगेको छ । यही साउन ८ गते एक हजार ६७८ जना सङ्क्रमणमुक्त भई घर फर्किएका थिए ।
यसैगरी यही साउन ९ गते ९४.५ प्रतिशत अर्थात दुई हजार १९७, साउन १० गते ९४.६ प्रतिशत अर्थात दुई हजार ५०, साउन ११ गते ९४.५ प्रतिशत अर्थात एक हजार ६८५, साउन १२ गते ९४.४ प्रतिशत अर्थात एक हजार ७७८, साउन १३ गते ९४.३ प्रतिशत अर्थात एक हजार ९९३ र साउन १४ गते एक हजार ३७३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।
जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले सङ्क्रमित बढिरहेकाले सङ्क्रमणमुक्त हुने दर घटेको बताए । उनले भने, “सङ्क्रमित हुनेको सङ्ख्याको अनुपातमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या कम देखिएकाले यो दर घटेको हो ।” रासस







प्रतिक्रिया