सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीबार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् ।
उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए ।
प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जीत हुने बताए । अझै पनि कम्युनिस्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिस्ट एकताका पक्षमा उभिनुपर्ने बताए ।
केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताए ।
उनले भने, “सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो, तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।” रासस
प्रतिक्रिया