काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिअनुसार शुक्रबार हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गरेका हुन् ।
दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबुँदे सहमति भएको थियो ।
ओली र चन्दबीच बालुवाटारमा भेटवार्ता
तीनबुँदे सहमतिमा हस्ताक्षर सार्वजनिक हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘चन्द’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
राष्ट्रिय सभागृहमा समारोह हुनुपूर्व महासचिव विप्लव काठमाडौँ उपत्यका बाहिरबाट काठमाडौँ आइ बालुवाटार पुगेका थिए । भेटका अवसरमा सरकार तथा नेकपाका वार्ता टोलीका संयोजक र सदस्य पनि सहभागी थिए ।








प्रतिक्रिया