मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कार्गो पानीजहाज दुर्घटनाग्रस्त, पाँच हजार ८०० गाई मरे

कार्गो पानीजहाज दुर्घटनाग्रस्त, पाँच हजार ८०० गाई मरे


टोकियो । न्युजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् । 

जापानी तटीय सुरक्षा दलका अधिकारीहरुले सामुद्रिक आँधी तुफानका कारण “गल्फ लाइभस्टक १” नामको पानीजहाज बुधबार बिहान डुबेको बताएका छन् । 

Advertisement

उद्धारकर्ताहरुले पूर्वी चीन सागरको अमामी ओसिमा द्वीपको उत्तरपश्चिम करिब १२० किलोमिटरको दूरीमा चालक दलका दोस्रो व्यक्ति अचेत अवस्थामा फेला पारेका थिए । तर उपचारका लागि अस्पताल भर्ना भए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । 

जापानी क्षेत्रीय तटीय सुरक्षा दका प्रवक्ता ताकाहिरो यामादाले समुद्रमा मरेका गाईहरु तैरिएको देखिएको जानकारी दिए । करिब ११ हजार ९४७ टन वजनको उक्त पानीजहाजमा ४३ जना चालक दलका सदस्य र पाँच हजार ८०० गाई रहेका थिए । उक्त जहाज मध्य अगष्टमा न्युजील्याण्डबाट चीनको पूर्वी सहर ताङ्शानतर्फ हिँडेको थियो । 

न्युजील्यान्डका अधिकारीहरुले उक्त दुर्घटनापछि जिउँदा गाई चीनतर्फ निकासी गर्न तत्कालका लागि बन्द गरिएको र घटनाको अनुसन्धान सुरु भएको बताएका छन् । 

उक्त पानीजहाजबाट एक जना चालक दलका सदस्य ४५ वर्षीय फिलिपिनो नागरिक एडभार्डो सारेनोलाई बुधबार उद्धार गरिएको थियो । एडभार्डोले जहाजको एउटा इन्जिन बन्द भएर जहाज रोकिएकै समयमा निकै शक्तिशाली आँधीले जहाज हल्लाएको र डुबेको बताएका छन् । 

एडभार्डोले आफू लाइफज्याकेट लगाएर समुद्रमा हाम फालेको तर अरु साथीहरुका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् । पानीजहाजमा ३९ जना फिलिपिनी, दुई जना न्युजील्यान्ड र दुई जना अस्ट्रेलियाका नागरिक चालक दलका सदस्य रहेको बताइएको छ । 

शेयर गर्नुहोस:

0
Shares