बिश्व घटना

भारतमा एकै दिन ६७ हजार बढीमा कोरोना सङ्क्रमण

भारतमा एकै दिन ६७ हजार बढीमा कोरोना सङ्क्रमण


नयाँ दिल्ली । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार ६६ जना थप भएको छ । 
 
भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ६७ हजार नयाँ सङ्क्रमित भेटिएका हुन् । 
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९५० जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ४८८ पुगेको छ । 
 
त्यसैगरी भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २४ लाख २९ हजार ७३८ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये छ लाख ५९ हजार २५३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १७ लाख २२ हजार ९९३ जना सङ्क्रमणमुक्त भएका छन् ।
 
अधिकारीहरुका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । 
 
यसैबीच, कोरोना भाइरसका कारण विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोड ८ लाख ७५ हजार ७०३ पुगेको छ । 
 
कुल सङ्क्रमितमध्ये दुई लाख ८५ हजार ६२३ जना पछिल्लो २४ घन्टामा सङ्क्रमित भएका जनाइएको छ । त्यसैगरी ६ हजार ८१६ जनाको सोही अवधिमा मृत्यु भएको छ । 
 
योसँगै विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ४६ हजार ४०६ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । 
 
डब्लुएचओले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । एएनआई