हिमालयखवर सम्बाददाता
ड्यालस (टेक्सस) – उत्तरी टेक्ससको लुइजभील तालमा डुबेर आइतबार दिउँसो एक नेपाली युवतीको निधन भएको छ ।
डुबेर निधन हुनेमा काठमाडौं ठमेलकी २३ वर्षिय अस्मिता खनाल रहेको जनाइएको छ । साथीहरुका साथ तालमा बोटिङ गरिरहेको अवस्थामा उनी एक्कासी चिप्लिएर बोटबाट खसेकी थिइन् । लाइफ ज्याकेट फुकालेको बेला परेकाे र पौडी खेल्न पनि नजानेका कारण उनी तालमा डुबेको सँगै गएका साथीहरू मध्यका एकले बताए ।
'हामीले पनि पनि पाैडिएर उनलाइ बचाउन खोज्याै । तर सकिएन' उनले भने ।
खनाल डेन्टनमा रहेको युनिभर्सिटी अफ नर्थ टेक्ससमा कम्प्युटर साइन्स लिएर अध्ययनरत थिइन् । काठमाडाैमा रहेका उनका परिवारलाइ खबर गरिसकिएको पनि उनका साथीहरूले जानकारी दिए ।
अपरान्ह ३ बजे घटना भएपछि डेन्टन काउन्टीबाट परिचालित गोताखोरहरुले उनको शव खोजतलास थालेका थिए ।
उनीसँगै बस्ने, सँगै पढ्ने साथीहरु जम्मा भएर भाडामा डुंगा लिएर चलाएका थिए । हाल उनको शव ट्यारेन्ट काउन्टी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।
हरेक समर (गर्मी) याममा नेपाली विद्यार्थीहरु टेक्ससका बिभिन्न तालमा डुब्ने र निधनका घटना हुँदै अाएका छन् ।
आइतबारको घटनामा निधन भएकी अस्मिताले गर्मी भयो भनेर लाइफ ज्याकेट फुकालेको र सँगै रहेका अन्य सातजना पनि पौडिन नजान्ने कारणले गर्दा तालमा खसेपछि उनको तत्काल उद्धार हुन नसकेको बताइएको छ ।
सद्गत लगायत प्रकृयाका लागि उनका साथीहरुले गोफण्ड खोलेर सहयोग संकलन थालेका छन् ।
प्रतिक्रिया